कैलालीकी प्रमिलालाई आइएमईको एक करोड

कैलालीकी प्रमिलालाई आइएमईको एक करोड

विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) मार्फत् नेपाल पठाएकामध्येबाट कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी प्रमिला रोकायाले एक करोड पुरस्कार पाएकी छन् । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत हिजो एक करोडको चेक हस्तान्तरण गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनको घरमा पुगेर चेक हस्तान्तरण गरेका हुन् । गत असोजमा सार्वजनिक गरिएको ‘लक्की ड्र’ प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को विजेता बनेकी हुन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको जनाएको छ । 

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् ।

यो योजनामा आइएमई गरेर ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउनेहरु सहभागी हुन सक्छन् । कम्पनीले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याएको हो ।

टिप्पणीहरू