गुरुङ्गहरुको नयाँ बर्ष,स्याङ्जाका चन्द्रलाई झन हर्ष

गुरुङ्गहरुको नयाँ बर्ष,स्याङ्जाका चन्द्रलाई झन हर्ष

गुरुङ समुदायको राष्ट्रिय पोशाक फोटो प्रतियोगिता 'गुरुङ ड्रेस फोटो कन्टेस्ट-२०८१' को टाइटल स्याङ्जाका चन्द्र गुरुङले जितेका छन् । 

देश विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई लाइक,कमेन्ट,सेयर र पहिरनको आधारमा पछि पार्दै चन्द्र गुरुङको फोटोले टाइटल जितेको हो । 

प्रतियोगितामा चितवनकी अंकिता गुरुङ फर्स्ट रनरअप,लमजुङका अनिल गुरुङ सेकेन्ड रनरअप र धादिङकी प्रतिभा गुरुङको फोटोले थर्ड रनरअपको उपाधि पाएको छ । 

सामाजिक सन्जाल फेसबुकमा आएका लाइक, कमेन्ट,सेयर र बान्की पुरा गरेर लगाएको आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमू 'गुरुङ' विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिए ।

'गुरुङ समुदायको कला, संस्कृति र भेषभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश विदेशमा गुरुङ भेषभुषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महशुस गरेका छौं', संयोजक गुरुङले भने-' यसले बालबालिका र युवाहरूलाई आफ्नो भेषभुषा सिक्न प्रेरित गरेको छ ।' 

डिजिटल प्लेटफर्मको प्रयोग गरी सामाजिक संजाल मार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिहरुसंग भावनात्मक, सांस्कृतिक, तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले बताए । 

तमु ल्होसारको अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरुलाई पनि गुरुङ पोषाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । 

सिमित स्रोत साधान प्रयोग गरि गुरुङ पोषाकको संरक्षण सम्वर्द्वन र प्रर्वद्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङले बताए । सामाजिक संजालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक संजालको सहि सदुपयोग गरि सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरुको भनाई थियो ।

टिप्पणीहरू