तीनकुने प्रकरणमा ९४ जना छुटे, रविन्द्र र धवलहरु भित्रै

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा समातिएका ९४ जना छुटेका छन् ।
राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा १६१ जना पक्राऊ परेका थिए । जसमध्ये ९४ जनलाई हाजिरी जमानीमा छोडेको प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।
आज संसदीय समितिमा बोल्दै उनले पक्राऊ परेका अन्यमाथि राजद्रोह र आपराधिक उप्रदोको कसुरमा अनुसन्धान भइरहेकोको बताए । त्यसक्रममा राजावादी आन्दोलनकारीले ३९ वटा सवारी साधन तोडफोड गरेको जानकारी पनि गराइयो ।
अन्तिम राजा ज्ञानेन्द्र शाहको आह्वान र दुर्गा प्रसाईंको कमाण्डमा सडकमा उत्रिएका राजावादीहरुले उक्त दिन वितण्डा मच्याएका थिए । आफैँले गाडी हाँकेका प्रसाईंले निषेधित क्षेत्र तोड्दै सडकमा उभिएका प्रहरीलाई किच्न खोजेका थिए । त्यसपछि भड्किएको भीड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै तोडफोड र आगजनीमा उत्रिएको थियो ।
जि घर, पार्टीकार्यालय , सरकारी भवन, सवारी साधनमा तोडफोड र आगजनी गरेका राजावादीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्याएका थिए । आन्दोलनका 'जनकमाण्डर' भनिएका प्रसाईंकै कारण प्रदर्शन हिंसात्मक बनेको आइजी थापाले सुनाए ।
प्रदर्शनकारीलाई उक्साएको आरोपमा राप्रपाका नेताद्वय धवल शमशेर राणा र रविन्द्र मिश्रलहरु सोही दिन पक्राउ परेका थिए । तर, यस प्रकरणको मुख्य नाइके प्रसाईं भने अहिलेसम्म बेपत्ता छन् ।
टिप्पणीहरू