प्रधानमन्त्रीहरु भेटिएपछि नेपाली र हिन्दीमा आलोपालो

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान-टु-वान वार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि थाईल्याण्डको राजधानी बैंकक पुगेका ओली र मोदीले आज अपराह्न एक्लाएक्लै भेटवार्ता गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका छन्, 'दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा (वान-अन-वान) भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुशी व्यक्त गर्नुभएको छ ।' ओली प्रधानमन्त्री भएयता दुई देशको सम्बन्धलाई लिएर विभिन्न आशंका पैदा भैरहँदा रिमालले आजको भेटलाई सार्थक र सकारात्मक भनी अर्थ्याएका छन् ।
नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएलगत्तै भ्रमणको निम्तो दिने गरेको भारतले यसपटक ८ महिनासम्म ओलीलाई दिल्ली बोलाएको छैन । यसलाई भारतीय संस्थापनसँग नाकाबन्दीपछि बिग्रिएको ओलीको सम्बन्ध सुधार हुन नसकेको अर्थमा हेरिएको छ ।
त्यसो त नेपालको तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमणका लागि हरतरहका प्रयास नभएको पनि होइन । तर,ओलीको स्वागतका लागि हतारोमा नदेखिएको साउथ ब्लकले यसअघि अनौपचारिक भेट र साइडलाइन वार्ताका लागि पनि आनाकानी गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका बेला नेपालले निकै पापड बेलेपछि बल्ल ओली-मोदी भेटवार्ता सम्भव भएको थियो । यद्यपि सम्बन्ध सुधारको संकेत भने देखिएन ।
यसपटक पनि भेटवार्ताका लागि नेपाली पक्षले निकै मेहनत गर्नुपरेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । आज बिहान बिमस्टेक सम्मेलनको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओली र समकक्षी मोदीले एउटै मञ्च शेयर गरेका थिए,जहाँ औपचारिक सम्बोधनबाहेक दुई जनाबीच कुरा भएन ।
कार्यक्रम सकिनै लाग्दासमेत दुई प्रधानमन्त्रीको भेटवार्ता नभएपछि भ्रमण टोलीमा गएका अधिकारी तनावमा थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीसँग ‘साइडलाइन’ भेटवार्ताको प्रयास भइरहेको बताए पनि पछिल्लो सात-आठ महिनाको पृष्ठभूमिले आशंका कायमै थियो । तर, अन्तत: मोदी बसेको बैंककस्थित ओरियन्टल होटलमा भेटवार्ता सम्भव भयो ।
प्रधानमन्त्रीको भ्रमण गराउन सक्रिय परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवा दोश्रो पटक दिल्लीबाट खाली हात फर्किनुपरेको पृष्ठभूमिमा आज जुरेको ओली-मोदी भेटवार्ताले दुई देशको सम्बन्धमा 'आइसब्रेक' गर्ने अनुमान छ । रिमालले भनेका छन्, 'उहाँहरुबीचको आत्मीय र सौहार्द्रपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो ।'
भेटवार्तालगत्तै दुबै देशका प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सौहार्द्रपूर्ण र सकारात्मक संवाद भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले हिन्दी र मोदीले नेपाली भाषामा अत्यन्त सार्थक कुराकानी भएको बताए ।
‘मेरे प्रिय मित्र,प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसे आत्मीय भेंट हुई । हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही', ओलीले एक्समा लेखेका छन्, 'इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।
त्यसको दुई मिनेटपछि मोदीले एक्समै नेपाली भाषामा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
आफूहरूबीच भारत–नेपाल मित्रताका विभिन्न पक्षसँगै ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि उनले एक्समा उल्लेख गरेका छन् ।
सम्भवत: यही एकल वार्ताक्रममा तलका सबै परियोजना हात पारेको भारतीय कम्पनीलाई माथिल्लो अरुण दिनेवारे पनि प्रसङ्ग छेडिएको हुनसक्ने कतिपयको अनुमान छ ।
टिप्पणीहरू