दुर्गा प्रसाईंमाथिको मुध्दा अब कसरी जान्छ ?

दुर्गा प्रसाईंमाथिको मुध्दा अब कसरी जान्छ ?

चैत १५ गते काठमाडौँको तीनकुनेमा वितण्डा मच्चाएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं काठमाडौँ प्रहरीको जिम्मामा पुगेका छन् । आज बिहान झापाको भद्रपुरबाट समातिएका उनलाई जहाज चढाएर काठमाडौँ ल्याएको विशेष ब्यूरोको टोलीले काठमाडौँ प्रहरी परिसरको जिम्मा लगाएको छ ।  

केही बेरअघि भद्रकालीस्थित परिसर पुर्याइएका प्रसाईंलाई आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भैरहेको छ । त्यसपछि अनुसन्धान शुरु हुने प्रहरीले जनाएको छ । 

जिल्ला परिसरको कानुन हेर्ने एक प्रहरी अधिकृतका अनुसार अहिले आपराधिक उपद्रव कसूरमा समातिएका उनीविरुद्ध ज्यानमार्ने उद्योग,संगठित अपराध र राज्यविरुद्धको कसूरमा पनि अनुसन्धान हुनेछ । 

प्रसाईंलाई भद्रकाली पुर्याएलगत्तै अबको प्रक्रियाबारे जनआस्थासँगले सोधेको प्रश्नमा उनले भने, 'पहिले अदालतबाट म्याद थप गर्छौँ, त्यसपछि अनुसन्धान अघि बढ्छ । अहिले एउटा कसुरमा पक्राउ परेका हुन्,अरु मुद्दा पनि जोडिंदै जान्छ ।' 

'पहिले अदालतबाट म्याद थप गर्छौँ, त्यसपछि अनुसन्धान अघि बढ्छ । अहिले एउटा कसुरमा पक्राउ परेका हुन्,अरु मुद्दा पनि जोडिंदै जान्छ ।'

प्रसाईंले त्यसदिन गोलीको बेगमा अन्धाधुन्द गाडी हाँकेर सुरक्षाका लागि सडकमा तैनाथ प्रहरीलाई आतंकित बनाएका थिए । तीनकुनेबाट संसद भवनतर्फको निषेधित क्षेत्र तोड्दै उनले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए । गाडीको झ्यालबाट मुन्टो निकालेर उनले 'आऊ आऊ' भन्दै आन्दोलनकारीलाई उकासेका थिए । 

प्रहरीलाई पेल्दै गाडी हाँकेको यो घटनामा प्रहरीबाटै जाहेरी लिएर प्रसाईंलाई ज्यान केशमा मुद्दा चलाउने प्रहरीले बताएको छ । यसरी विध्वंस मच्चाएर फिल्डबाटै फरार भएका र आज १५ दिनपछि प्रहरी नियन्त्रणमा आएका प्रसाईं कति दिन हिरासतमा रहन्छन् ? भन्ने प्रश्नमा उनै प्रहरी अधिकृतले म्याद थपपछि थाहा हुने बताएका छन् । 

तीनकुने वितण्डामा मतियार बनेको आरोपमा समातिएका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र धवलसमशेर राणा अझै हिरासतमा छन् । उनीहरुविरुद्ध दुई दिनअघि प्रहरीले १५ दिन म्याद थप गरेको थियो ।

टिप्पणीहरू