आगामी बजेटमा कनिका छरिँदैन : एमाले सचिव

आगामी बजेटमा कनिका छरिँदैन : एमाले सचिव

कमल भट्टराई

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट उत्पादनमुखीलक्षित हुने बताउनुभएको छ । प्रेस चौतारी, ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघामा बोल्दै उहाँले आगामी वर्षको बजेट विगतका वर्षझैं कनिका छरेजस्तो नहुने दाबी गर्नुभएको छ । आगामी आर्थिक वर्षदेखि मुलुकमै रोजगारीका अवसर खुल्ने भटट्राइको भनाइ छ ।

उहाँले राजावादीहरुको आन्दोलनलाई संकेत गर्दै व्यवस्था जोगाउनका लागि सबै दल एक ठाउँमा उभिएको प्रतिक्रिया दिनुभयो । अगाडि भन्नुभयो,‘यो व्यवस्था हिंसाबाट नभई सम्झौताबाट आएको हो । यसको रक्षाका लागि सबै दल एक साथ उभिएका छौं । त्रुटिहरु जहाँ छन्, त्यहाँ सुधार्नुपर्छ, नेतृत्वहरु सुध्रिनुपर्छ । यो व्यवस्थाको विकल्प छैन ।’

कार्यक्रममा भट्टराईले शिक्षकहरुको आन्दोलनको सन्दर्भ पनि उठाउनुभयो । वि.सं. २०७२ देखि शिक्षकहरुसँग पाँचपटक सम्झौता भएको र ती सबैलाई समेटेर बजेट अधिवेशनको शुरुमै शिक्षा ऐन ल्याउने काम भइरहेको जानकारी दिनुभयो । अगाडि थप्नुभयो,‘धेरै खालको शिक्षक भएकाले समस्या देखिएको छ । बालविकास, कास व्यवस्थापन र पारिश्रमिक, शिक्षक ग्रेड मिलान, मर्यादाक्रमलगायत सम्झौतामा उल्लेख भएका मागहरु समेटेर समस्या समाधान गर्छौं ।’

प्राकृतिक पर्यटनको थप प्रचारप्रसारसँगै धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा कोशी प्रदेशलाई सहयोग गर्ने उल्लेख गर्दै उहाँले पर्यटक वर्ष २०८२ लाई सफल बनाउन तीन तहको सरकार, पत्रकार, समाजसेवीलगायतलाई एकजुट हुन आह्वान गर्नुभएको छ । साथै, उहाँले प्रदेश सरकारले पयर्टन वर्ष घोषणा गर्दा ताप्लेजुङलाई कम महत्व दिएकोमा दुःख व्यक्त गर्नुभयो ।
 

टिप्पणीहरू