राष्ट्र बैंकमा ज्वाइँको बढुवा, कामु गभर्नरको पहिलो एजेण्डा

राष्ट्र बैंकमा ज्वाइँको बढुवा, कामु गभर्नरको पहिलो एजेण्डा

राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम तिम्सिनाको अध्यक्षतामा बस्ने सञ्चालक समितिको पहिलो बैठकले निर्देशकहरुलाई कार्यकारी निर्देशकमा बढुवाको निम्ति तयारी थालिएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा विगतमा अर्थमन्त्री, गभर्नर, योजना आयोग उपाध्यक्ष र अमेरिकाका लागि राजदूत युवराज खतिवडाका छोरीज्वाइँ रामशरण खरेलको बढुवा त्यसमा पनि पहिलो नम्बरमा गर्नसक्ने आशंका व्याप्त छ ।

तीन जना कार्यकारी निर्देशकहरुले अवकाश पाएकाले रिक्त स्थानमा तीन जना निर्देशक बढुवाको मुखमा छन् । वरिष्ठताको आधारमा अहिले चेतप्रसाद उप्रेती, रोशन सिग्देल र खरेल क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । कार्यकारी निर्देशकहरु सुमन अधिकारी, मुकुन्दकुमार क्षेत्री र पिताम्बर भण्डारीले अवकाश पाएपछि ती पद रिक्त भएको हो ।

डेपुटी बमबहादुर मिश्रको अध्यक्षतामा बस्ने पदपूर्ति समितिको बैठकले रिक्त तीन पदका लागि कम्तीमा तीन जनादेखि बढीमा नौ जना निर्देशकको नाम कार्यकारीमा बढुवाका लागि सिफारिस गर्नुपर्छ । बैंकमा गत वर्ष ‘नगरकोट काण्ड’ले चर्चित घटनापछि कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी तिम्सिना र मिश्रबीच लगभग बोलचालको अवस्था नभएकाले प्रशासनिक काम गर्न निकै गाह्रो भएको केही कार्यकारी र निर्देशकहरुको गुनासो छ ।

स्रोतका अनुसार सम्भवतः भोलि बेलुकी वा पर्सि बिहान बस्ने पदपूर्ति समितिको बैठकले बढुवामा निर्देशकहरुको नाम सिफारिस गर्दै छ । पदपूर्तिले सिफारिस गरेको नाम बैंकको सूचना पाटी र होमपेजमा प्रकाशित गरेपछि सञ्चालक समिति बैठकले बढुवा गर्नुपर्ने कर्मचारी सेवा निमयावलीको प्रावधान छ । 

स्रोत भन्छ, ‘पदपूर्तिको बैठकले नाम सिफारिस गरेपछि कामु गभर्नरले बोर्ड बैठक बोलाउँछिन् । सम्भवतः शुक्रबार साँझ वा आइतबार डाकिने बैठकले तीन जना निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गर्छ । अहिलेसम्म वरिष्ठताको आधारमा हुँदै आएको बढुवाको प्रचलनलाई यस पटक ३ नम्बरका ज्वाइँ खरेलको हकमा निरन्तरतामा क्रम भंगता गरिने आशंका छ ।’

अर्कोतर्फ कर्मचारीहरुको सरुवा, बढुवाको तयारी गर्ने मानव संशाधन विभागका विभागीय प्रमुख तुलसी घिमिरे भने टर्कि घुमघाममा छन् । उनी बैशाख २ गते कार्यालयमा हाजिर हुँदैछन् । आगामी जेठ १७ गतेदेखि ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनको यो अन्तिम विदेश काज भएको बताइन्छ । 

नयाँ वर्षको वैशाख २ गते र १४ गते बैंकको वार्षिकोत्सवमा कार्यालय हाजिर हुने त्यसअघि पछि उनले १० दिनको अनिवार्य बिदा, केही दिनको भैपरीे आउने बिदा स्वीकृत गराइसकेका छन् । यसअघि कर्मचारी नियमावली संशोधन गरेर अवकाश उमेर ६० वर्ष पुर्याउने खेलमा जोडतोडले लागेका उनी अन्ततः ५८ वर्षमै घर जान बाध्य भएका हुन् । गभर्नर खतिवडाको पालादेखि ३० वर्षे सेवा अवधि हटाउने र उमेर हदको ५८ लाई ६० वर्षमा धकेल्न उनी र ज्वाइँ खरेलले गरेको प्रयास लगभग असफल भएको छ । पछिल्लो समय बैंकमा त्यस्तो मान्यता राख्ने कर्मचारीको संख्या ५ प्रतिशतभन्दा कम भएकाले व्यवस्थापनले चाहेर पनि अब ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन नसक्ने परिस्थिति बन्दै गएको हो ।

गत कात्तिकमा धुम्बाराहीस्थित घरमा लक्ष्मीपूजा गरेर भाइटीका मनाउन सपरिवार झापा जाँदै गरेका घिमिरेको गाडी उदयपुरमा दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको थियो । मोटरसाइकलमा सवार अर्का एक जनाको लामो समयसम्म उपचार गरिएको छ । अवकाशपछि घर लैजान पाइने नियमानुसार बैंकको ५० लाख मूल्यको उक्त गाडी मर्मतमा १७ लाख रुपैयाँ अतिरिक्त खर्च भएको सम्पत्ति व्यवस्थापन विभागका हाकिमले बताए । घिमिरेको नाममा बैंकले दिएको उक्त गाडी चाहेर पनि अर्कोसँग साट्न नसकिने अवस्था छ । त्यसैले जेठ १७ पछि बैंकले उनको नाममा सोही गाडी नामसारी गरिदिने सम्पत्ति व्यवस्थापनको तयारी छ ।

टिप्पणीहरू