पूर्व राजाका ज्वाईं गएकै हुन् दुर्गाको घरमा पैसा बोकेर ?
अन्तिम राजा ज्ञानेन्द्र शाहको ‘बक्सिस’मा राजा फर्काउने आन्दोलनको कमाण्डर तोकिएका मेडिकल माफिया दुर्गा प्रसाईले चैत १५ गते तीनकुनेमा बवण्डर मच्चाए । करोडौंको धनमाल खरानी बनाउनुका साथै दुई निहत्था नागरिकको ज्यान जानेगरी हिँसा भड्काएर भागेका उनी त्यही दिनदेखि बेपत्ता छन् ।
सडकमा तैनाथ प्रहरीलाई किच्नेगरी प्रसाईंले निषेधित क्षेत्रमा गाडी हुइँक्याएपछि हौसिएका प्रदर्शनकारी एकाएक तोडफोड र आगजनीमा उत्रिएका थिए । झ्यालबाट मुन्टो निकालेर 'आऊ आऊ' भन्दै उनले गाडी कुदाएपछि हिँसा भड्किएकाले यस प्रकरणको मुख्य दोषी प्रसाईं नै हुन् ।
माओवादी केन्द्र,एमाले हुँदै डेढ-दुई वर्षअघि राजावादी बनेका प्रसाईं किन यतिसम्म संवेदनाहीन,विवेकहीन र अराजक बने ? फिल्डबाटै फरार उनलाई दुई हप्तासम्म समात्न नसकेको सुरक्षा निकायले यसबारे गम्भीर अध्ययन र विश्लेषण गरिरहेको जनाएको छ ।
तीनकुने प्रकरणपछि प्रायः दैनिकजसो बस्दै आएको सुरक्षा प्रमुखहरुको बैठकमा त्यसदिन प्रसाईं के कारण फुत्किए र अब कसरी समात्ने भन्नेबारे छलफल हुने गरेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा भगाइएको हुनसक्ने आशंका भैरहँदा उच्च प्रहरी स्रोतले पनि पूर्णत: अस्वीकार गरेन ।
माओवादी केन्द्र,एमाले हुँदै डेढ-दुई वर्षअघि राजावादी बनेका प्रसाईं किन यतिसम्म संवेदनाहीन,विवेकहीन र अराजक बने ?
उक्त स्रोतको भनाईअनुसार प्रसाईंले तीनकुने पुलको ब्यारिकेड तोड्ने प्रयास गरिरहँदा फिल्डमा खटिएका प्रहरी अधिकृतले उपत्यका कमाण्डसँग गोली चलाउन आदेश मागेका थिए । तर,आदेश भएन ।
सूचना सर्कुलेट हुन डेढ मीनेट लागेको र त्यतिञ्जेल धेरै बितण्डा मच्चाइसकेको बताउने ती अधिकृत भन्छन्, ‘एकछिनपछि निर्देशन त आयो,तर, फायर नगर्ने !, त्यसपछि हामीले लठ्ठी बजार्यौं तर,त्यसले नियन्त्रण गर्नसक्ने अवस्था नै थिएन । उनी टाप कसिहाले ।’
प्रसाईंको गाडी नियन्त्रणमा लिँदा प्रहरीले निगरानीमा राखेको थियो । तर,पनि उनी क्षणभरमै भीडबाटै गायब । यो सुरक्षा निकायको कमजोरी हो कि होइन ? ‘हामीले अहिले अनुसन्धान गरिरहेको त्यही मुभमेन्टको विषयमा हो, संयन्त्रकै सहयोगमा उनी भागेको देखिन्छ,अहिले नै भन्न मिलेन तर सबै कुरा चाँडै खुल्छ', उनै अधिकृत भन्छन् ।
प्रसाईंले चलाएको गाडीको टायरमा गोली किन हानिएन ? यो प्रश्नले पनि भाग्न बल पुग्यो भन्ने आशंका र अनुमानलाई बल पुर्याइरहेको छ । र, सरोकारवाला कतिपयले त शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि प्रहरीको भूमिकाप्रति खुशी नरहेको बुझिन्छ ।
१५ गतेको घटनापछि बसेको क्याबिनेट बैठकमा त्यसबारे चर्चा हुँदा प्रहरी प्रमुखको नामै लिएर प्रधानमन्त्रीले आक्रोश पोखेका थिए । गृहमन्त्रीसहितको एउटा छलफलमा नेपाल प्रहरीका आइजी दीपक थापाले 'जहाँ भए पनि खोजेर ल्याउँछु हजुर !' भन्दा
'पब्लिकको तहबाट समेत कृटीसाइज हुनेगरी तपाईंको तर्फबाट कमजोरी भैसकेको छ,अब कुरा भन्दा पनि काम गरेर देखाउनुस्' भन्ने कठोर जवाफ दिइएको थियो ।
भाटभटेनी लुटपाटमा संलग्नलाई १२ घण्टाभित्र खोजी-खोजी थुन्न सक्ने प्रहरीले काठमाडौँदेखि गाडी लिएर झापा पुगेका प्रसाईंलाई किन समात्न सकेन ? भन्ने प्रश्न आम तहबाट पनि उठेकै छ । भाटभटेनीबाट दुई दाना सुन्तला र खाली रक्सीको बोत्तल निकाल्नेलाई समेत अभियोग लगाइएको छ । लुटपाटमा प्रत्यक्ष सामेल नभएका केही व्यक्तिसमेत सिसिटिभी फुटेजका आधारमा समातिएका छन् ।
भनिंदैछ कि,यो प्रकरणलाई जसरी सामान्यीकरण गरिँदैछ,वास्तविकता भने भिन्न छ । स्रोतको दावी मान्ने हो भने प्रसाईंमार्फत निर्मल निवासले ठूलो रकम खर्च गरेको छ ।
बाहिर आएकै कुरा हो १४ गते बिहान ११ बजे निर्मल निवास छिरेका प्रसाईं ज्ञानेन्द्र शाहसँग डेढ घण्टा कुरा गरेर साढे १२ बजे बाहिरिएका थिए । त्यसलगत्तै उनलाई कमाण्डर तोकिएको थियो । प्रसाईं बाहिरिएलगत्तै राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायत पनि 'दर्शन भेट' गर्न निर्मल निवास गएका थिए ।
१४ गते दिनभर निर्मल निवासमा भएका भेटघाटले मिडियामा चर्चा पाइरहँदा भोलिपल्टको एउटा भेटवार्ता भने रहस्यमै छ । १५ गते बिहान अन्तिम राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंह गाडीमा पैसा राखेर दुर्गा प्रसाई भेट्न पुगेको प्रहरी स्रोतको दावी छ ।
टिप्पणीहरू