अनि यहाँ सग्लो चित्रलक्ष्मी बौलाउँछ
चीनको यात्रापछि पश्चिम नेपाल घुम्दै छु । मेरो कर्मभूमि नेपालगञ्ज शहर अतिवादी छ । गर्मीमा तातो हावा लु चल्छ भने जाडोमा कठ्यांग्रिने शीतलहर । जब शीतलहर चल्छ, तब फूलहरू फुल्न सक्दैनन् र तरकारीमा पाला लाग्छ । चोकमा आगो बालेर शरीर तताउने गरिन्छ । जाडोमा घुर ताप्नु चलन हो । धरतीलाई कुहिरो र टुइटोले छोप्छ, र महिनौँसम्म घाम देख्न पाइँदैन ।
यस दशकमा धर्मलाई राजनीतिले ओझेलमा पार्यो । दक्षिणी हावाले आस्थालाई उत्तेजनामा बदल्दैछ । यहाँ आस्था पनि अतिवादी रूपमा चल्छ । गम्छा, टुप्पी, र दाह्रीको आधारमा मान्छेको मानवतामा साँध लाग्ने गर्छ । मेरो शहर घण्टी र मुस्लिमका अजानसँगै बिउँझिन्छ । धार्मिक नभएकाले मैले कसैलाई पनि राक्षस, म्लेच्छ, वा शैतान भन्नुपरेको छैन । मेरो शहरले धार्मिक झण्डा उठाएर मानिसलाई विभाजन गर्न खोज्छ ।
रक्सीले मात्तिएको मान्छेको नशा उत्रिएको देखे पनि धर्मले मात्तिएका र घृणा व्यापार गर्ने मान्छेको नशा उत्रिएको थाहा छैन । म मन्दिर गएर फूल चढाउँदिन । जान्न पनि । बुकी कसैलाई दिन्न । आजसम्म कसैलाई गुलाफ दिएको छैन । शीतलहर चल्दा फूल फक्रन पाउँदैन । मलाई रातो गुलाफको फूल, पुरानो रक्सी, नयाँ विचार, उम्दा कविता र विद्रोही चेत खुब मन पर्छ । तर धर्मले मात्तिएको मान्छे, फूलमा बस्ने भमरा, मौरी र माला लगाएर मख्ख पर्ने मान्छेसँग किन हो किन रिस उठ्छ । मन्दिरमा चढाइएका फूल र बुकीहरू कुल्चिदै हिँडेको देखेर मन कटक्क दुख्छ ।
काठमाण्डुमै भएको भए रसियन हाउसमा प्रोफेसर अलेक्जेण्डर दुगिनको नेपाल र सार्कबारे पर्दामा प्रवचन सुनिरहेको हुन्थें । भ्लादिभोष्तक युनिभर्सिटीका सोध छात्र मोहन ज्ञवालीले जुम सहभागीता मिलाइदिएका थिए । प्रो. दुगिनलाई पुटिनको दिमाग भनिन्छ । कफी गफमा रुस र युक्रेन युद्धबारे रुसमा दीक्षित डा. कनौडियासँग चर्चा भए ।
डा. कनौडिया रुसमा पढेका, राजनीतिक रूपमा सचेत । सरकारी जागिरमा सीमित रहेनन् । मेडिकल कलेज खोले । विश्वास नै उनको पुँजी थियो । राजनीतिमा होमिए, तर सोचेजस्तो भएन । प्रो. दुगिनको नेपाल संबोधनको ५–७ मीनेटमै साइबर हमला भयो । उनीसँग पश्चिमी सत्ता कति डराएको रहेछ भने उनकी दार्शनिक छोरी डारिया दुगिनालाई आत्मघाती हत्याराले मस्कोमै मारिदिए ।
एउटा भूपरिवेष्टित देशको नागरिकमा कसरी सामुद्रिक जहाजी बन्ने लहड चल्यो होला १ महिनौं दिन महासागरमा रहँदा कस्ता सोच आउलान् ! सायद पहिलो नेपाली जहाजी हुन सक्छन्—झापाली युवा प्रमोद सापकोटा । मित्र मिलनका क्रममा भर्खरै नेपालगञ्ज आइपुगे । सामुद्रिक जहाजका असिस्टेन्ट क्याप्टेन उनीसँग सोधेँ— ‘क्याप्टेन, के तपाईंले समुद्रको गहिराइ नाप्नु भएको छ रु’ ‘के समुद्रको गहिराई, आइसबर्ग, चट्टान, मौसमको पूर्वानुमान नगरी जहाज चलाउन सकिन्छ र ?’
बजारले कृत्रिम संवेदनामाथि हमला गरिरहेको छ । वाक्कदिक्क भएपछि गाउँको बाटो समात्छु । अझै पनि पढेलेखेका मानिसहरू खेती–किसानीमा संलग्न छन् । परसपुरको उदयराज यादव परिवार यसको एक नमुना हो ।
यादव गहुँको खेतमा सिञ्चाइ गर्दैछन् । एक छोरा भेरी अस्पतालमा डाक्टर छन् भने अर्को छोरा कम्प्युटर इञ्जिनियर छन् । तेस्रो छोरा अपांग छस बोल्न र सुन्न सक्दैन । उसलाई १२ कक्षासम्म पढाएका छन् । छोरो पढ्न चाहन्छ र बाउ पनि पढाउन चाहन्छन् । तर, उच्च शिक्षा प्राप्त गर्न यो भेगमा उच्चस्तरको अपांग विद्यालय भने छैन । कम्प्युटर इञ्जिनियर यादव एमडी गर्न युरोप वा अष्ट्रेलिया जाने तयारी गर्दैछन् । डाक्टर र इञ्जिनियर दुबै छोराले बाउलाई खेती–किसानीमा सहयोग गर्छन् । गाउँलाई नगर भनियो, तर विकृति लिएर गाउँमा शहरको प्रभाव पुग्यो । सडकसँग जोडिएका खेतहरूको एकीकृत मूल्यांकन गर्दा उपजले किसानहरूलाई कर तिर्न पुग्दैन । जमिन सुरक्षित राख्न उदयराजजस्ता अनेकौँ किसानलाई धौधौ छ । परस्पुर गाउँकै पार्वती कुम्हार तरकारी खेती गर्छिन् । सन्तानमा छोराको चाहना नमेटिएकाले कुरिरहिन् । छोरा कुर्दाकुर्दै ८ छोरी जन्मिए ।
छोरीहरू सरकारी स्कूलमा सामान्य पढे, तर छोरालाई बोर्डिङ स्कूलमा पढाउँदै छिन् । ४ छोरीको बिहा भए पनि केहीको गौना र थौना बाँकी छ । ग्रामिण अवधी समाजमा सानैमा विवाह हुन्छ । धेरै पढाए, उमेर पुगेपछि बिहा गर्न केटाकेटी पाँइदैनन् कि भनेर सानैमा बिहे गर्ने चलन भयो । यो केटाकेटीको पक्कापक्की गर्ने रस्म हो । विवाहपछि दुल्हन माइतीमै फर्कन्छिन् । एकाध वर्षपछि फर्काउने चलन गौना हो । उमेर पुगेपछि पूर्णरूपमा माइतीले घर पठाउनुलाई थौना भनिन्छ । पहिलेपहिले विवाह र थौनाबीच धेरै वर्षको अन्तराल हुन्थ्यो । अब समयसँगै रस्म पनि फेरिँदै गए । कानुनले बालविवाह निषेध गरे पनि अझै गाउँमा लुकेर बालविवाह हुने गर्छ । तर, सहरिया अवधी समाजमा भने अब रस्म मात्रै पूरा हुन्छ ।
पहिलो विवाह हुँदा उमेर पुग्न थाल्दा, अवस्था फेरिँदा, र केटाकेटीको हैसियतमा फरक आउँदा यी विवाहहरू टुट्न थालेका छन् । पार्वतीका छोरीहरूले आमाको तरकारी खेतीमा सघाउँछन् । कुम्हारहरू पुख्र्यौली पेशा माटाका भाँडा बनाउँदैनन्, नगदेबाली हरियो तरकारी उत्पादन गर्छन् । धेरैजसो ग्राहक खेतबाटै तरकारी किन्छन् । उनी आफ्नो खेत मात्र नभई अरूको जग्गा पनि ठेक्कामा लिन्छिन् । भैंसीको मल पर्याप्त हुन्छ, त्यसैले रासायनिक मल र विषादी प्रयोग गर्नु पर्दैन । अहिले पनि गाउँमा गुइँठाले खाना बनाइन्छ । महिलाहरू गोबर पाथेर इन्धनको जोहो गर्छन् । बाँकेको चिसापानी व्यारेकले कहिल्यै बिर्सिन नसकिने पीडा बोकेको छ । त्यो स्थानका विभत्स कथाहरू जर्मनीको होलोकास्टभन्दा कम भयावह छैनन् ।
टिकापुरका शिक्षक चित्रबहादुर चौधरी साहित्यिक क्षेत्रमा चित्रलक्ष्मी नामले परिचित छन् । एक दिन अचानक भेट भयो । उनले भने, ‘म त बौलाएँ नि कमरेड !’ त्यो संवादले गहिरो अर्थ बोकेको छ । – क्रुर अवस्थालाई देखेर पनि नबोल्नेहरू मानिस त हुन सक्छन्, तर मानव पक्कै हैनन् । यो समयको चुनौती हो, चेतावनी हो, आह्वान हो । हे, धरतीका सन्तान ! एक पटक ‘बौलाऊ’ । ताकि भविष्यले तिम्रा चित्कार सुन्न सकोस् । सभ्यताको इतिहास पढेर भविष्यले प्रश्न उठाउन सकोस् । चित्रलक्ष्मी किन ‘बौलाए’ रु यो प्रश्न इतिहासले र भविष्यले सोध्नेछ ।
चित्र– ‘अरुको सोच मस्तिष्कले गर्छ तर थारूको सोच पेटले । किन मान्छे कमैया बन्छ रु जमिन दान दिएर धरतिपुत्र कसरी कमैया बन्न सक्छ रु’ कत्रो दार्शनिक कुरा गर्यो मेरो गोचालीले, तीतो यथार्थ । उसले राम्रै देखेको छ, बाटो देखाउनेहरूले नै अलि अगाडि खाल्डो खनिदिएर मान्छे, उसका सपना र भविष्यलाई धराप पारेको । अर्कैको चिहानमा ठडिएर अग्लो देखिएको । तब मेरो गोचाली कवि चित्र भन्छ– ‘जरुरी छैन, तिम्रो हाँसोमा हाँसो मिलाउन । जरुरी छैन, तिम्रो चोचोमा मोचो मिलाउन । तर सक्छौ भने ए दुनियाँ, पठाई दे ‘प्यारप्यार’मेरा शब्दहरूको थुतुनो सिलाउन !’ बौलाएपछि मात्र तिमी बुझ्ने छौ– यो धरती, यो मानव सभ्यता, र अहिलेको अवस्था । बौलाऊ, प्यारा गोचाली ।
कमरेड बैकुण्ठेसँगको गलफत्ति
घुम्दैफिर्दै एकदिन बर्दियाको मैनापोखरमा पीतवस्त्रधारी बैकुण्ठेसँग आकस्मिक भेट भयो । बाटाहरू जति अलग भए पनि दोबाटामा भेटिनु संयोगले हुन्छ । मानिस शारीरिक रूपमा जीवित भए पनि अन्धभक्तिले उसभित्रको मानवता मर्छ । अनि आफ्नै लाश बोकेर हिँड्नुपर्छ । कमरेड बैकुण्ठे भने यो कुरा बुझ्दैबुझ्दैन । ऊ अब ‘ठूले’ भै सक्यो । उसका मान्यता, विश्वास, चरित्र फेरिए पनि हामी भेट्दा पुरानै देखिन चाहन्छ । बैकुण्ठे, जब्बरे, र छोटेराजा– हामी तीनै जना प्रतिकूलताका सहयात्री थियौं । विज्ञानको दृष्टिले जीवन र जगतलाई नियाल्ने मान्यतामा समान थियौं । बैकुण्ठेले भन्यो : ‘सुख पाउन मोक्ष खोज्नुपर्छ ।’ त्यसपछि राजनीति, इतिहास, र विज्ञानका प्राध्यापकहरूको चर्चा गर्दै थप्योःसमयसँगै विचार मात्र होइन, भूमिका पनि बदल्नुपर्छ । समय बदलियो, तर तिमी अझै सामाजिक बन्न सकेनौ । तिम्रो दुःखको कारण यही हो । तिमी असामाजिक छौ । आफ्ना सबै साथीहरू नियाल । महाकवि लक्ष्मीप्रसाद देवकोटाले कसरी लेखे, ‘आखिरमा रहेछ श्रीकृष्ण एक, न भक्ति भयो, न भयो विवेक ।’
भनें– ‘समयका गति पछ्याएर फेरिनु त पर्छ तर दिशा कता रु जेको तिमी विपक्षमा थियौ, उसकै सहोदर भयो, जो आफन्त थिए, ती किन टाढिए ! भौतिकवादी शिक्षा दिन्थ्यो, यो पित वस्त्रसँगै तिम्रा मान्यता र भूमिका पनि फेरिए । बच्चा त जन्मिन्छ तर मानिस कसरी धार्मिक हुन्छ रु’ थप केही भन्न नपाउँदै, कमरेड बैकुण्ठे रिसायो, फन्कियो, र केही गाली गर्दै बाटो ततायो । म कमरेड बैकुण्ठेहरूलाई राम्ररी चिन्छु । हिजो चाप्लुसीका कारण धेरै सफल भएको थियो, आज पनि त्यही छ । उसले जनयुद्धताका नै माक्र्सवादभन्दा भक्तिविद्यामा बढी चासो राख्न थालेको थियो । भर्याङ्ग नचढेरै लिफ्टबाट एकाएक छतमा पुगेको सफल कमरेड । मैले पनि फेरिएको कमरेड नियाल्दै आफ्नो बाटो समातेँ ।
बर्दिया, बाँसगढी बजारको चोकमा हलो बोकेको थारू किसानको सालिक छ । यो सालिक मुक्त कमैयाले अनावरण गरेका रहेछन् । जनयुद्धको चरमकालमा कहिलेकाहीँ मलाई आश्रय दिने ९४ वर्षीया आमा गंगा रेग्मीसँग १८ वर्षपछि फेरि भेट भयो । आमाकोमा म मीठोमसिनो खान मन लाग्दा पुग्ने गर्थें । विदेशी पत्रकार र सरोकारवालासँग छलफल गर्न पनि त्यही घरलाई प्रयोग गर्थें । पाल्पाली रेग्मी आमाले आफ्नो जीवनकालमा धेरै आन्दोलन र संघर्षका अध्याय देखिन् ।
०७ सालका मुक्तिसेना, ०८ सालमा के।आई। सिंहका सेना, १७ सालपछि विद्रोही काँग्रेसलाई खाना खुवाइन् । श्रीमानले हलो जोतेका कारण बाहुनहरूले ‘जात हटक’ गरे । जिम्वाल परिवारकी ती महिलाले पश्चिम नेपालको प्रमुख ठूला घटनाहरू नजिकबाट देखिन्– राणाहरूको शासन, पञ्चायतकालको रजगज, बहुदलीय व्यवस्था र गणतन्त्र । छोरा सुरेश एमाले बने पनि माओवादीलाई समेत माया गर्थे । रेग्मी आमाले एमालेका नेता, कार्यकर्तालाई मात्र होइन, अहिलेका प्रधानमन्त्री केपी ओलीलाई पनि भान्सामा राखेर खाना खुवाएकी छिन् ।
सोधिन्– ‘बाबु, तिमीहरूले लडेको जनयुद्ध अहिले कहाँ पुग्यो रु’ यो व्यंग्य नभएर, निस्पकपट जिज्ञाशा मात्रै थियो । थारू दिदीबहिनीहरूले अहिले तरकारी उत्पादन मात्र गर्दैनन्, बेच्न बजार पनि आफैँ आउँछन् । बाटोमा जम्काभेट भयो । बोलाएर भने– ‘दुःखका बेला पो सम्झिन्छौ, अहिले त चिन्नै छोड्यौ !’
यो मेरो र हाम्रो तीतो यथार्थ हो । उनीहरूको कटु व्यंग्यमा गहिरो सत्य थियो । कतिपय कुरा किताबी ज्ञानभन्दा सामान्य जीवनको अनुभव र सहज बौद्धिकताले झन् महत्वपूर्ण हुन्छ । गाउँका साँचा मान्छेहरूले सत्य कुरा निर्धक्कसँग बोल्न सक्छन्, सायद त्यसैले उनीहरूको आवाज सजीव र वास्तविक लाग्छ । बर्दिया नेपालकै एउटा यस्तो थलो हो, जहाँ सबैभन्दा धेरै मानिस बेपत्ता पारिएका छन् ।
टिप्पणीहरू