प्रभु साहमाथि विद्यालयको जग्गा कब्जा गरेर विद्यार्थीलाई बिचल्ली पारेको आरोप

प्रभु साहमाथि विद्यालयको जग्गा कब्जा गरेर विद्यार्थीलाई बिचल्ली पारेको आरोप
सुन्नुहोस्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहमाथि विद्यालयको जग्गा कब्जा गरेको गम्भीर आरोप लागेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ स्थित दलित प्राविको जग्गा प्रभु साहले आफू अध्यक्ष रहेको संस्थाको नाममा कायम गरेको बताइन्छ । 

नगरपालिकाले केही वर्षअगाडि भवनविहीन विद्यालयको निम्ति भवन बनाउन भन्दै केही बजेट छुट्याएर जग्गा किन्ने निर्णय गरेको थियो । त्योबेला माओवादीबाट निर्वाचित तर साह निकट वडाध्यक्ष सञ्जय साहले नगरपालिकाको बजेटबाट प्रभु अध्यक्ष रहेको तराई मधेस शहिद स्मृति प्रतिष्ठानको नाममा चारकठ्ठा जग्गा खरिद गरेका हुन् । 

सोही प्रतिष्ठानको नाममा जग्गा किनेपछि साह शहरी विकासमन्त्री हुँदा विद्यालयको लागि भवन बनाउन २५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । उक्त बजेटबाट अपुरो भवन बनाइएको छ । यता विद्यालय भवनको अभावमा बालबालिकाहरू चिसो भुइँमा पराल, बोरा ओछ्याएर पढ्न बाध्य छन् ।

१७ वर्ष अगाडि स्थापना स्थापित विद्यालयमा हाल एक सय ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको नाममा १० धुर जग्गा मात्र देखिन्छ । उक्त जग्गा पनि बकैयाको बाँधपट्टी भएकाले भौतिक संरचना बनाउन मिल्ने देखिँदैन । डेस्क र बेञ्च नहुँदा विद्यार्थीहरु घरबाटै बोरा बोकेर विद्यालय पुग्ने गरेका छन् । दिनभर चिसो भुईंमा बसेर पढेपछि बोरा बोकेर घर फर्किने उनीहरुको दिनचर्या भएको छ । विद्यालय भवनको अभावमा साना बालबालिकाहरू गर्मीमा चर्को घाम सहँदै, बर्खामा रुझ्दै र जाडोमा काँप्दै पढ्न बाध्य छन् ।

विद्यालयका अधिकांश विद्यार्थी दलित तथा विपन्न परिवारका छन् । साह आफैँले राजनीतिक भाषणमा दलित र विपन्नको विकास गर्ने बताउन छाडेका छैनन् । तर उनैले जग्गा नामसारी नगरिदिँदा विद्यालय भवन निर्माण गर्न तम्सिएका सरकारी तथा गैरसरकारी दाताहरू क्रमशः पन्छिन थालेका छन् ।

उनले आफ्नो प्रतिष्ठानको नाममा रहेको जग्गा विद्यालयको नाममा नामसारी गरेर सुविधा सम्पन्न भवन निर्माण गर्न सहयोग नगरेपछि स्थानीय चर्को आक्रोश पोखेका हुन् । विद्यालयको नाममा जग्गा नहुँदा दातृ संस्थाहरुले भवन बनाइदिन नसकेको प्रधानाध्यापक हिरालाल यादवले बताए । सरोकारवाला सबै एकजुट भएर प्रतिष्ठानको नाममा रहेको जग्गा विद्यालयको नाममा नामसारी गर्दै अधुरो भवनलाई पूरा गर्नुपर्ने उनको भनाई छ । त्यस्तो अवस्थामा मात्रै विद्यार्थीहरूले पक्की भवनमा बसेर आरामदायी ढंगले अध्ययन गर्न पाउने छन् ।

टिप्पणीहरू