दोहोर्याएर नियुक्ति पाएका मनमोहनका भिसी 'मिसन ०८५' को तयारीमा

दोहोर्याएर नियुक्ति पाएका मनमोहनका भिसी 'मिसन ०८५' को तयारीमा

मोरङको बुढीगंगा नगरपालिका–४ हात्तिबुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति (भिसी)मा डा.सुवासश्री पोखरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले गत बिहीबार उनलाई शपथ ग्रहण गराएका हुन् । सोही दिन पोखरेलले विश्वविद्यालय पुगेर पदभार ग्रहण गरेका छन् । 

दोस्रोपटक चार वर्षका लागि उपकुलपति नियुक्त भएका उनले पदभार ग्रहणका क्रममा ‘मिसन २०८५’ सफल बनाएर छाड्ने प्रतिबद्धता जनाए । त्यसका लागि आफूलाई साथ दिन उनले विश्वविद्यालयका पदाधिकारी र कर्मचारीलाई आग्रह गरे । 

‘मिसन २०८५’ मा उल्लेख भएको १८ बुँदे कार्य सम्पादनका लागि २० अर्ब खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले विश्वविद्यालयलाई वार्षिक २० करोड रुपैयाँ बजेट दिँदै आएको छ, जुन चालु खर्चका लागि ठिक्क हुने गरेको छ । 

‘मिसन २०८५’ अन्तर्गत ल्याब निर्माणदेखि अन्य थुप्रै भौतिक संरचनाको निर्माण, थप १८ वटा पाठ्यक्रम निर्माण गरेर पाँच वटा विषयमा पिएचडी, १० वटा विषयमा माष्टर्स, १२ वटा विषयमा ब्याचलर तहको कक्षा सञ्चालन गर्ने रणनीति विश्वविद्यालयले लिएको छ । त्यस्तै, विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना पनि अघि सारिएको छ । 

त्यसैगरी, विभिन्न देशबाट प्रत्येक विषयका लागि एक जना विदेशी शिक्षक ल्याउने, आफ्नै तारामण्डलसहितको विज्ञानपार्क र पाँच हजार क्षमताको स्टेडियम बनाउने, परिसरभित्रै स्वीमिङ पुल, जडीबुटी गार्डेन निर्माण, फिजिकल फिटनेस सेन्टर, एक हजार जना अट्ने अडोटोरियम हल, पाँच हजार क्षमताको स्टेडियम, अलग्गै टिचिङ ब्लक, आफ्नै ग्रोसरी कम्प्लेक्स निर्माणको योजना पनि 'मिसन ०८५' मा समेटिएको छ । 

विश्वविद्यालय क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, कानुन संकायका लागि छुट्टै ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, ईलेक्ट्रिक टेस्टिङ सेन्टर स्थापना गर्ने मनमोहनले जनाएको छ । मनमोहनले इन्जिनियरिङ, मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज, स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल गरी तीन वटा स्कुल सञ्चालन गरेको छ । जसमा औषधी विज्ञान, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स स्नातक, अस्पताल म्यानेजमेण्टलगायतका कक्षा सञ्चालन भइरहेको छ । 

एकैचोटि पाँच वर्षभित्र २० अर्बको प्रोजेक्ट थपिनुलाई धेरैले भिसी पोखरेलको महत्वाकांक्षा योजना भनेका छन् । विगतमा मुख्यमन्त्रीहरुले अन्धाधुन्ध योजना लागू गर्दा बोझमात्र बनेकाले पछिल्ला वर्ष बहुवर्षे योजनामा बजेट हाल्न छाडिएको छ । 

सूचना प्रविधिमा कोरियाबाट पिएचडी उपाधि लिएर रिसर्चमा काम गरिसकेका भिसी पोखरेलले ‘मिसन २०८५’ आफ्नो महत्वाकांक्षा योजना नभएको बताए । चारवर्षे कार्यकालमा मिसन जसरी पनि पूरा गर्ने उनको भनाइ छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान, प्रदेश सरकारले दिने बजेट र विदेशी दातृ निकायहरुबाट सहयोग लिएर कार्यक्रम अगाडि बढाउँदै लैजाने उनको योजना छ । 

स्वर्गीय कम्युनिष्ट नेता मनमोहन अधिकारीको नाममा भारतले निर्माण गरिदिएको मनमोहन पोलिटेक्निकलाई संघीयतापछि वि.सं.२०७४ सालमा मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय बनाइएको हो । तत्कालीन प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर सञ्चालनमा ल्याएको मनमोहन २१ बिगाहा जमिनमा फैलिएको छ भने परिसरमा रहेको भवनसहित ३० अर्बको सम्पत्ति रहेको छ ।

टिप्पणीहरू