चीनमा स्नातकोत्तर र विद्यावारिधिका दर्जनौं छात्रवृत्ति अवसर

चीनमा स्नातकोत्तर र विद्यावारिधिका दर्जनौं छात्रवृत्ति अवसर

आगामी वर्ष चीनले झण्डै छ दर्जन नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनको अवसर दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीन सरकारद्वारा सन् २०२५–२६ का लागि स्नातकोत्तर र विद्यावारिधि तह (पीएचडी) छात्रवृत्तिमा अध्ययनका निम्ति ६७ सिट प्राप्त भएको जानकारी गराएको छ । 

मन्त्रालयले चीनमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीलाई दरखास्त दिन समेत आह्वान गरेको छ । जसअनुसार स्नातकोत्तर तहका लागि २७ र विद्यावारिधि तहको ४० सिट प्राप्त भएको छ । 

सूचनामा कृषि, वन, भेटेरीनरी, सूचना प्रविधि, इन्जिनियरिङ्ग, सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन, संस्कृति र संरक्षण विषयका विद्यार्थीले आवेदन दिनसक्ने छन् । स्नातकोत्तर तहका लागि त्रिभुवन विश्वविद्यालयले पछिल्लो पटक सञ्चालन गरेको स्नातकोत्तर तहको सम्बन्धित विषयको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको र ३५ वर्ष पूरा नभएको हुनुपर्ने छ । 

त्यस्तै, पीएचडीका लागि कुनै पनि विश्वविद्यालयबाट आफूले अध्ययन गर्न चाहेको विषय क्षेत्रमा स्नातक तह उतीर्ण भएको र ४० वर्ष पूरा नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ । योग्यता पुगेका इच्छुक विद्यार्थीले पुस २८ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ ।
 

टिप्पणीहरू