त्रिविमा डीन र निर्देशक नियुक्ति बदर गर्न बहुमतको माग

त्रिविमा डीन र निर्देशक नियुक्ति बदर गर्न बहुमतको माग

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) सम्वद्ध अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा भएको डीन र निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ । 

राजनीतिक भागबण्डाको आधारमा आठ जना डीन र तीन जना निर्देशक नियुक्ति गरिएको उल्लेख गर्दै क्रान्तिकारीले तत्काल बदर गर्न माग गरेको छ । अध्यक्ष विरेन्द्र शाहले आज विज्ञप्ति जारी गर्दै त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप निम्त्याइएको दावी गरे । 

'प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको कुरा घामजत्तिकै छर्लङ्ग भएको छ', विज्ञप्तिमा लेखिएको छ । 

उपकुलपति केशरजंग बरालले राजनीतिक भागबण्डाको अन्त्य गर्नुको साटो भ्रष्ट र संसदीय पार्टीहरुसँग सम्झौता गरेर डीन र निर्देशक नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ । यसलाई दु:खद कदम भन्दै विज्ञप्तिमा भनिएको छ, 'उपकुलपति केशरजंग बरालले भ्रष्ट संसदीय पार्टीहरुसँग सम्झौता गरी राजनीतिक हस्तक्षेपलाई स्वीकार्दै नियुक्ति प्रक्रिया अगाडि बढाउनु दुःखद्, गैरजिम्मेवार र पदिय मर्यादाविपरीत भएको ठहर्छ ।' 

उक्त नियुक्ति बदर गरेर मेरिटको आधारमा नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै क्रान्तिकारीले अन्यथा सशक्त संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ । 

‘आठ जना डीन र तीन जना निर्देशकहरुको नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डाका आधारमा संसदीय पार्टीहरु काँग्रेस, एमाले र माओवादी (केन्द्र) ले भाग लगाएर बाँडीचुँडी लिएका छन् । संसदीय पार्टीहरुको उक्त प्रक्रियाप्रति हाम्रो संगठन घोर भर्त्सना र निन्दा व्यक्त गर्दछ', विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू