कम्पनीलाई बेइमानी, विद्यार्थीमाथि ठगी

कम्पनीलाई बेइमानी, विद्यार्थीमाथि ठगी

हेल्पलाईन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको नाममा ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय तथा चितवनको भरतपुर–३ मा शाखा कार्यालय रहेको ईशा हेल्पलाईन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि.को नाममा ठगी गर्दै आएका प्रदीप सुवेदीलाई नियन्त्रणमा लिएर ठगी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ । 

बागलुङ जिल्ला गलकोट–१ घर भएका २८ वर्षीय प्रदीप सुवेदीले मुख्य कार्यालयबाट भरतपुरमा शाखा सञ्चालनको जिम्मा पाएका थिए । शाखाले विद्यार्थीहरुलाई तालिम पनि दिइरहेको थियो । यसैक्रममा उनले मुख्य कार्यालयलाई कुनै जानकारी नगराई आफुखुशी ईशा हेल्पलाईन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको बोर्ड हटाई जि.डि. मल्टि टेक्निकल कलेज प्रा.लि.को बोर्ड राखेर ठगी धन्दा चलाएको बताइन्छ । तालिमका लागि आउने विद्यार्थीहरुलाई ईशा हेल्पलाईन केयरगिभर ट्रेनिङ र जि.डि. टेक्निकल कलेज प्रा.लि. एउटै हो भनी भ्रममा पारेर उनले विद्यार्थीहरुबाट रकम ठगेको आरोप छ । 

ईशा कम्पनीको लेटर प्याड र छाप लगाई प्रा.लि.लाई समेत बेइमानीको नियत राखी नोक्सान पु¥याई ठगी गरेको भन्ने जाहेरी दरखास्त पर्न आएकाले सुवेदीलाई हिजो दिउँसो भरतपुर–३ बाटै नियन्त्रणमा लिइएको हो । चितवन जिल्ला अदालतबाट छ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी गराए । 

टिप्पणीहरू