रविको थुनछेक बहस भोलिदेखि
रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा दायर मुद्दाको क्रममा लिइएको बयान आज सकिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत अपचलन गरेकोमा उनीसहित ४२ जनाविरुद्ध परेको मुद्दा गोला प्रथाबाट न्यायाधीश प्रल्हादकुमार योगीको ५ नम्बर इजलासमा परेको थियो ।
उनको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस हुने छ । लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, अध्यक्ष जीबी राईसहित पूरक अभियोगका १४ र गत वैशाख ३ गते दर्ता भएको मुद्दामा विभिन्न व्यक्ति अभियुक्त उल्लेख छ । लामिछाने बयानका लागि चार जना कानुन व्यवसायीसहित पत्नी निकितासँगै काठमाडौंबाट भैरहवा गएका थिए । उनी गोर्खा मिडिया नेटवर्कमा त्यतिबेला प्रबन्ध सञ्चाालक थिए
सहकारीका एक हजार ८३१ सदस्यले बचत हिनामिनाको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । गत वर्ष प्रहरी अनुसन्धानको क्रममा गृहमन्त्री रहेका कारण उनलाई अनुसन्धानको दायरामा ल्याइएको थिएन ।
लामिछानेले सुप्रिमको दुई करोड रुपैयाँ अपलचन गरेको देखिएको छ । उनीविरुद्ध सवा चार करोडको बिगो दाबी छ । गोर्खा मिडियामा १४ करोडभन्दा बढी रुपैयाँ सुप्रिम सहकारीबाट अवैधानिक तरिकाले पठाइएको प्रहरी अनुसन्धानमा फेला परेको छ ।
टिप्पणीहरू