पूर्व राष्ट्रपतिले दुःख पोखेको पल
‘१५ वर्षसम्म त बुद्धि आएन, अब झन् के आशा गर्नु ! अब नयाँ नेतृत्वबाट मात्रै एमाले अगाडि बढ्न सक्छ’, यो अभिव्यक्ति हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको । उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसमेत राजनीतिमा फर्किसकेको पृष्ठभूमिमा निकटस्थहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट कार्यकर्ताहरु आजित बनेको र एमालेलाई जोगाउनको लागि नयाँ ढंगले सोच्नै पर्ने अवस्था निर्माण भइसकेको जनाउँदै यस्तो टिप्पणी गरेकी हुन् । निकट स्रोत भन्छ– ‘अब केपी ओलीको नेतृत्वमा पार लाग्दैन, भन्ने कुरामा भण्डारी प्रष्ट छिन् ।’
अब केपी ओलीले कुनै प्रकारका आग्रह, पूर्वाग्रह र शर्त नराखिकन पार्टीको कमाण्ड अरुलाई सुम्पनुपर्छ । यदि उनी त्यसो गर्न चाहँदैनन् वा सक्दैनन् भने महाधिवेशनमा प्रतिस्पर्धाको विकल्प रहन्न । एमाले नेताहरूका अनुसार हेटौंडाका कृष्ण दाहाल अहिले विद्या भण्डारीलाई अगाडि बढ्न हौस्याउनेहरूको सूचीमा एक नम्बरमा छन् । बागमती प्रदेशमा निकै राम्रो पकड जमाएका कृष्णबाहेक उनकै गुटका प्रदेश सचिव नवराज सिलवाल र उपसचिव भक्तकुमारी लामालेसमेत विद्या भण्डारीलाई निसंकोच आफ्नो तयारीमा लाग्न उत्साह थप्ने गरेका छन् । उनीहरूले त ०८३ मा ओलीले या त स्वेच्छाले छोड्नुपर्ने या हार्न तयार रहनुपर्ने बताउँदै आएका छन् ।
एमाले काठमाडौँ क्षेत्र नं. ४ र ७ का इञ्चार्ज अध्यक्ष कृष्ण राईसमेत ०८४ को चुनावअघिनै ०८३ को महाधिवेशनबाट एमाले अध्यक्षमा विद्या भण्डारीलाई ल्याउन अहिलेदेखि नै सक्रिय रहेको बताइन्छ । सुदूरपश्चिममा ओली पक्षधरलाई हायल कायल पार्ने कर्ण थापा पनि खुला रूपमै ओली हराऊ अभियानमा लागेको उच्चतहका नेताहरू बताउँछन् । कर्ण नजिकका मानिसलाई ओलीको मिसन ०८४ नभएर ८३ मात्रै रहेको बताउने गर्छन् ।
पश्चिममा पोलिटब्युरो सदस्य बनिसकेका गुलाबजंग शाहलाई केपी ओलीले मनोनीत केन्द्रीय सदस्यको हैसियतमा पुर्याएका छन् । यसरी आफूअनुकूल नचल्नेहरूलाई सेक्ने चालका कारणसमेत पार्टीभित्र उनीविरोधी शक्ति तीव्र गतिमा बढिरहेको नेताहरू बताउँछन् ।
त्यसो त विद्या भण्डारीले असोज २३ गते अन्तर्वार्तामार्फत् एमाले मुख्यालय मदननगर बल्खूमा नै राख्ने इच्छा जाहेर गरिरहेका बेला अध्यक्ष ओलीले २ दिनपछि २५ गते भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका निम्ति जग्गा दान लिने गरी शिलान्यासमार्फत् जवाफी हमला बोलेसँगै ओली र भण्डारी बीचको दूरी अझ फराकिलो भएको चर्चा छ ।
एमाले नेताहरू भन्छन्– विद्या भण्डारीले सो प्रकरणलाई आफूमाथि ओलीले हानेको झटारोको रूपमा लिएकी छन् । स्मरण रहोस्, कृपासुर शेर्पा समेत जोडिएको धुम्बाराहीस्थित पासाङल्हामु भवनमा एमालेको पार्टी कार्यालय सारेदेखि नै उपाध्यक्ष विद्या भण्डारीले असन्तुष्टि प्रकट गर्दै त्यहाँ जान इन्कार गरेकी थिइन् । यसरी केपी ओली र विद्या भण्डारीबीच दूरी बढ्दै जाँदा बीचबाट आफू छिर्न सकिन्छ कि भन्ने दाउमा शंकर पोखरेल रहेको नेताहरूको बुझाइ छ ।
टिप्पणीहरू