नेतृत्वको अभाव ! देशमा, पार्टीहरूमा !
‘देखा तो सब के सर पे गुनाहों का बोझ था, खुश थे तमाम नेकियाँ दरिया में डाल कर,’ मोहम्मद अल्वी गम्भीर विषयको हल्का बहसमा नेपालगञ्जको राजनीतिक चर्चा टुुंगियो । प्रमुख दलका दोस्रो पुस्ताका आशालाग्दा नेताहरू विमर्शमा सहभागी भए पनि नयाँ सोच भने आउन सकेन । व्यवस्था त फेरिए पनि राजनीतिक संस्कृति भने नफेरिँदा नयाँ चुनौती पुरानै तरिकाले व्याख्या भए । चाल, चरित्र र अभ्यास नियाल्ने हो भने सबै पार्टीको जाउलो एउटै ताप्केमा छक्छक छड्किँदै छ कि ! झैँ लाग्यो ।
दलहरूमा नेतृत्वको संकट दशकौंदेखि चर्चाको विषय हो । संकट विभिन्न कारणले भए । यसले राजनीतिक स्थायित्व, समृद्धि र जनविश्वासलाई नराम्रो गरी प्रभावित पार्यो । अराजकता, अति नकारात्मक, अति असभ्यता र अश्लीलता बढे । हरेक विमर्शको केन्द्रमा राजनीति हुन्छ । राजनीतिमा पार्टीभित्रकै लोकतान्त्रिक अभ्यासले मात्रै देशमा लोकतन्त्र दरिलो हुन सक्छ । त्यसले संगठनलाई पाटी नभै पार्टीको हैसियत दिन्छ । रैती बन्न अस्वीकार गर्नेहरू नागरिक बन्न पाउँछन् । देश, नेतृत्व र नागरिक सामने उभिएको प्रश्न भनेको हामीले नातिपुस्तालाई कस्तो देश सुम्पिएर जाँदै छौँ भन्ने हो । आजका हाम्रा राजनीतिक अभ्यास भोलिको राष्ट्र हो । तब बहसका शीर्षक बने–
१) देशमा नेतृत्वको समस्या हो ?
२) नयाँ सशक्त नेतृत्वको विकास किन हुन सकेन ?
३) दलहरूमा नेतृत्व विकासको अवस्था कस्तो छ ?
४) वैकल्पिक नेतृत्वको सम्भावना कत्तिको छ ?
प्रश्नहरूको उत्तर सहज छैन । पार्टी र नेतृत्वप्रति देशमा निराशा बढेको छ । सम्पन्न उपचुनावले पनि संकेत ग¥यो । हुन त इण्ड अफ पार्टी अथवा बहुदलमा २ दलको अभ्यासको शंकर पोखरेल डक्ट्रिन रुकुम चुनावले खारेज गरिदियो ।
हरेक पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव छ । ओलीगार्चीको जगजगी छ । ओलीगार्चीमा केही व्यक्ति वा एउटा सानु समूह टुप्पोमा बसेर शक्ति र सम्पत्ति नियन्त्रण गर्छ । आममानिसको कुरा अनदेखा गरिन्छ । निर्णय सुपरम्यानले मात्रै गर्छ । यो अवस्था आउनुमा सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएर पार्टीका नाम ट्रेडमार्क बनेपछि मात्रै हुन्छ । राजनीतिका ब्याड भनेका विद्यार्थी संगठन, युवा संगठन, महिला र किसान संगठन जुझारु, युगीन विषयमा रोज्ने परिद्रष्टा र राजनीतिलाई आदर्श सोच्ने नर्सरी बन्थे ।
तर, संगठनको चरित्र नै नयाँ नेतृत्व उत्पादनको अक्षमता, युवा पुस्ताको हतोत्साह गर्ने भएपछि सत्ताको आशक्ति नै भक्तिमार्ग बन्न पुग्यो । यसको परिणाममा क्षमतामा जोड नदिँदा ज्ञान, सीप, क्षमता प्राथमिकतामा परेनन् । बफादारी मात्रै पहिलो सर्त बन्न पुग्यो । जसले आवाज उठाउँछ, ती भीम रावल, विद्या पाण्डे बन्ने नियति बन्न भए । सुविधाको राजनीतिले गर्दा हरेक पार्टीमा स्पष्ट नीति निर्माण गर्ने संकल्पित नेतृत्वको अभाव खड्कियो । कुनै समयको योग्य र दक्ष नेतृत्व फेरिएको सन्दर्भमा पनि आफ्नो चातुर्य देखाउन सक्छ भन्ने हुँदैन ।
संगठनको चरित्र नै ओलीगार्ची भएपछि सत्ता र सुविधाका लागि भक्तिमार्ग उत्तम चरित्र बन्न पुग्छ । सोचेरभन्दा घोचेर बोल्ने बानीले हाम्रो राजनीतिक संस्कृतिलाई ध्वस्त गर्दै गयो । यो सरुवा रोगझैँ समाजमा फैलिँदा सहकार्य, प्रतिस्पर्धा र संघर्ष निषेध हुँदै जाँदा समग्र शक्तिमा टिक्न जे–जस्तो अनैतिक सम्झौता गर्ने तम्तयार भएपछि कार्यकर्ता नभै अन्धसमर्थक जन्माउने पार्टी मिसिनरी बन्न पुग्यो ।
इतिहासको चर्चा गर्दा क्रान्ति र आन्दोलनबाट आदर्श नेतृत्व त तयार हुन्छ जब तिनै त्यागीहरूले त्याग्नै त्यागिदिँदा हरेक आन्दोलनको स्वामित्व लिने नैतिक पुँजी क्षय हुँदै जान्छन् । रूपमा रहे पनि वास्तवमा बजारको दबाब थेग्न सक्दैनन् । सन्दर्भलाई सधैँ सान्दर्भिक बनाइरहन पनि आफूसँग सामयिक सामथ्र्य र स्पष्ट दृष्टिकोण भइरहनुपर्छ । सन्दर्भहरू सधँै सापेक्षित हुन्छन् । कुनै बेलाका सान्दर्भिक सन्दर्भहरू पनि समय बितेपछि असान्दर्भिक लाग्ने गर्छन् । भक्तिमार्गीहरू भन्ने गर्छन्ः हमी भक्त हौँ, सोच्दैनाँै । अरूले गल्ती गरे, हाम्राले त्यही दोहो¥याउन किन नहुने !
राजनीतिक संस्कृति अभाव हुनुमा प्रतिक्रियामा हाँकिने नागरिक, भीड र कुण्ठाग्रस्त समाज फेरिँदा भीडको भुइँफुट्टे नोटकीबाज राजनीतिक पटलमा देखिनु हो । विचार निर्माता कारिन्दा बुद्धिजीवीहरू आसे प्रवृत्तिले कनेर बोल्ने र कुथेर लेख्दा बुद्धिबहादुर बाँच्ने सर्टिफिकेटधारी समूह देखा पर्दै जान्छ । सामाजिक चरित्र नै हुने, गर्ने, देखिने र भन्नेमा एकरूप नहुँदा विश्वासमा संकट आउने गर्छ । तब आलोचनात्मक चेत या त निषेध गरिन्छ या धकेलिन्छ । जब राज्यसत्ता च्युत हुन्छन् शासकहरू अन्तिम मुगल बादशाह बहादुर शाह ‘जफर’ले भनेजस्तै – सम्झने वेला आप के गुनहगार हो गए, बहकाने वेला आपके सब यार हो गए’ हुन्छन् ।
समस्या त छ तर यसबाट उम्कन सक्ने के उपाय छ ? –छ, र हुन्छ । हरेक समस्याले समाधानसँगै लिएर आएको हुन्छ, रोगले उपचार ल्याएजस्तो । नयाँ पुस्तासामु नयाँ सोचको जोखिम उठाउन नसक्नुमा पुरानै पुस्ता हावी र परिवारवादको हैकम रहनु हो । पार्टीहरूका दोस्रो पुस्ता निर्मम समीक्षा गरेर नयाँ कदम उठाउने जोखिम झेल्न सक्नुपर्छ । मन नपरेको खण्डमा इतिहासको आलोचना त गर्न सकिन्छ तर फेर्न भने सकिँदैन । इतिहास निर्माता पुस्ता अझै ज्यूँदो छ । जे भयो, सो भयो । इतिहासबाट शिक्षा लिन आवश्यक हुन्छ । दागिस्थानी अबुताबिले भनेजस्तैः जसले इतिहासलाई पेस्तोलले हान्छ, त्यसको भविष्य बमले उडाइदिन्छ ।’
क्लेप्टोक्रेसीको (भ्रष्टतन्त्र) जगजगी बढ्यो । भ्रष्टतन्त्र सत्ताको हिस्सा बन्छ भने अधिकांश मानिस स्वतन्त्रता चाहँदैनन् भन्ने हुन्छ । स्वतन्त्रताले त जिम्मेवारी ल्याउँछ र अधिकांश मानिस प्रतिक्रियाले मनसुख त गराउँछन् तर जिम्मेवारीबाट भने डराउँछन् । अंकको अगाडि लाग्ने शून्यको कुनै मूल्य हुँँदैन भने लँगौटी फाटेपछि रुमालले भए पनि लाज छोप्नुपर्छ । सत्ताले त कार्यकर्तालाई भ्रष्ट बनाउँछ, दिमाग र भूमिकालाई प्रदूषित गराउँछ । अब घुस पनि जिन्सीमा चल्न थाले । मीनभवन प्रकरण त हाकाहाकी नै भयो । न्यायको एउटै विषयमा दोहोरो मानक तयार भए । ओलीगार्चीको भयमुक्त भएर मात्रै नेता र पार्टी भ्रष्ट र क्लेप्टोक्रेसीसँग स्वतन्त्र हुन सक्छ । पैसा त्यस्तो साबुन हो जसले सबै कुकृत्यका दाग पनि धोइदिन्छ भन्ने बनाइएको न्यारेटिभ ध्वस्त गर्न सक्छ ।
पार्टीहरू विधि र पद्धतिअनुसार चले डर, प्रलोभन र प्रतिक्रियाले चल्ने अभ्यासलाई उल्ट्याउन सकिन्छ । जम्बो कमिटीले भने सक्दैन । साक्षी किनारामा ल्याप्चे ठोक्नेहरूले पार्टी निर्णयको स्वामित्व लिँदैनन्, इतिहास निर्माता पनि बन्न सक्दैनन् । आवेगी भीडले समाजलाई लतार्यो भने घोर दक्षिणपन्थी फासिष्ट जन्माउँछ या अराजकताले देश ध्वस्त हुन्छ । सचेत नेतृत्वले मात्रै निराशा चिर्न सक्छ । आन्दोलनले (पार्टीभित्रै प्रतिरोधी भूमिका बनाउँछ भने सडकको पनि नेतृत्व गर्न सक्छ) नयाँ नेतृत्व जन्माउँछ । अहिले सडक खाली छन् । कमिटी प्यारलाइसिस भए । कमिटीको सार्वभौमसत्ता खोसिए, कार्यकर्ता सार्वभौम रहेनन् ।
हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । भूराजनीति जटिलता छन् । अमेरिकी चीन नीतिले हामी पनि प्रभावित हुन्छाँै । ट्रम्स सरकारले पदभार गर्नुको ३९ दिन पहिला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आए । उनलाई इमरान खाँनको पाकिस्तानी सत्ता उल्टाइदिने र बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाको सत्ता अपदस्थ गर्ने आरोप छ । तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने गृहजिल्ला पुगेर एक अर्ब ४५ करोडमा निर्मित १८ तले भ्यूटावरको उद्घाटन गर्दै भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुनुहोस् ।’ भर्खरै चीन भ्रमणबाट फर्केका आलीको यो कूटनीतिक सन्देश थियो ।
के आएका जटिलता, बढ्दै गएको अविश्वास, क्षय भएका आन्तरिक लोकतन्त्र एउटै विषयमा न्यायको दोहोरो मापदण्ड उल्ट्याउने नैतिक पुँजी र इच्छाशक्ति भएको दोस्रो पुस्ताको नेतृत्व आजको आवश्यकता हो । त्यसैले मात्र निराशालाई चिर्दै आशा र विश्वास भर्न सक्छ । आशालाई ज्यूँदो राख्ने भनेको पाल्सी कुरा नभै द्वैध चरित्र ध्वस्त पार्नु हो । जागृत समाजले सचेत र आलोचनात्मक चेतका राजनीतिक कार्यकर्ता भरिएको पार्टी जन्माएर नैतिक पुँजी भएको नेतृत्व पैदा गर्न सक्छ । पार्टी र नेतृत्वसामु विश्वासको पुनःस्थापना गर्नु अहिलेको सबभन्दा ठूलो चुनौती हो ।
टिप्पणीहरू