त्रिविको दीक्षान्त समारोह दशरथ रंगशालामा
त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह पुस १३ गतेका लागि तोकिएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समारोह आयोजना हुने जानकारी गराएको हो ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीले गाउन, स्कार्फ र टोपी लगाएर सो दिन बिहान १० बजेभित्र समारोहस्थलमा प्रवेश गरी तोकिएको स्थानमा बसिसक्नुपर्ने कार्यालयले जनाएको छ । विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक, पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरु सबभन्दा अगाडिको रोमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्ने छ । समारोहमा भाग लिन शुरुमा अनलाइन फाराम भर्दा प्राप्त गरेको गाउन कलेक्शन फाराम पनि ल्याउनुपर्छ ।
त्यस्तै, समारोहका दिन गाउन, स्कार्फ र टोपी वितरण नगरिने भएकाले तोकिएको समयभित्रै अनिवार्य रुपमा लिन कार्यालयले अनुरोध गरेको छ । यसका लागि पुस ५ गतेदेखि ११ गतेसम्मको समय पनि दिइएको छ ।
छात्रहरुले आफूखुशी पोशाक कोट, पाइन्ट, टाई, भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन, स्कार्फ र टोपी लगाउन सक्नेछन् भने छात्राहरुले औपचारिक पोशाक वा साडी, व्लाउजमा गाउन, स्कार्फ र टोपी लगाउनुपर्ने छ ।
विद्यार्थीहरुले प्रमाणपत्र लिनका लागि अनलाइन फाराम भर्दा प्राप्त गरेको सेरेमोनी स्लिप ल्याउनुपर्ने कार्यालयले जानकारी गराएको छ । प्रमाणपत्र वितरण दशरथ रङ्गशालाको उत्तरपट्टी नेपाली सैनिक प्रधान कार्यालयस्थित प्रमाणपत्र वितरण काउण्टरबाट हुनेछ ।
यस्तै, समारोहमा उपस्थित भएका तर सो दिन प्रमाणपत्र लिन नभ्याएका र भाग लिन आवेदन दिई भाग लिन नसकेका विद्यार्थीहरुले पछि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, रेकर्डस् तथा प्रमाणपत्र महाशाखाबाट प्राप्त गर्न सक्नेछन् ।
टिप्पणीहरू