सुनसरीको शहिद स्मृति आवासीय विद्यालय बन्यो ‘बेस्ट प्लाटुन’
सुनसरीको तरहरास्थित शहिद स्मृति आवासीय विद्यालय यो वर्षको ‘बेस्ट प्लाटुन’ बनेको छ । सशस्त्र द्वन्द्वमा शहिद भएकाको सन्तानलाई शिक्षा दिन स्थापित उक्त विद्यालय यो वर्षको ‘बेस्ट प्लाटुन’ बन्न सफल भएको छ ।
नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले हरेक वर्ष वार्षिक सामूहिक क्याम्पको अवधिमा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय ‘बेस्ट प्लाटुन’ बनेको हो । जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्प (पहिलो चरण) दीक्षान्त समारोहका अवसरमा गत शुक्रबार प्रमुख अतिथि तथा सेनाको पूर्वी पृतना हेडक्वार्टरका पृतनापति पवनराज घिमिरेले विद्यार्थीहरुलाई शिल्ड प्रदान गरेका छन् ।
विद्यालयकी क्याडेट सुस्मिता दाहाल मोडल ब्रिफ्रिङ प्रतियोगितामा बेष्ट स्पीकर भएकी प्रधानाध्यापक रिता फुँयालले बताइन् । प्रतियोगितामा कोशी प्रदेशको सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, मधेश प्रदेशको धनुुषा, सर्लाही, बारा, बागमती प्रदेशको सिन्धुली गरी ११ जिल्लाका १५ वटा विद्यालयबाट ५२७ जना क्याडेट (छात्र–छात्रा) सहभागी थिए ।
उनीहरुलाई सगरमाथा गणको क, ख, ग, घ र ङ गुल्मको संरचनामा दीक्षान्त कवाज प्रदर्शन गराइएको थियो । शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थी छनौट गरी एक सय दिनको तालिम भएकोमा पहिलो चरणमा ७९ दिनको संस्थागत तालिम र दोस्रो चरणमा २१ दिनको वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिएको सेनाले जनाएको छ ।
तालिममा खाली हात ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, साधारण सैनिक ज्ञान प्रदान गरिएको थियो । २१ दिनको वार्षिक सामूहिक तालिममा विशेषज्ञहरुबाट कक्षा सञ्चालन, हाइकिङ, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगात्मक गतिविधिहरु सञ्चालन गरिएको जानकारी दिइएको छ । २०७४ वैशाख २९ गते स्थापना भएको शिक्षालयमा हालसम्म सिनियर र जुनियर डिभिजनतर्फ गरी ७४ हजार ४७६ क्याडेटलाई तालिम प्रदान गरिएको छ ।
टिप्पणीहरू