ओलीको लोकप्रियता यस्तरी ओरालो

ओलीको लोकप्रियता यस्तरी ओरालो
सुन्नुहोस्

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले चीनसँग बिआरआई कार्यान्वयन सम्झौतामार्फत् देशलाई फाइदा पुर्‍याउने काममा सफलता  पाए पनि पार्टीभित्र भने निकै ठूलो संकट देखा परिरहेको छ । शुभचिन्तकहरू भन्छन्– ‘खासमा समस्या निकै गहिरो भइसकेको छ । कार्यशैलीको कारण पुराना पुस्ता उनीसँग छैन ।

नयाँ पुस्ता त झन् उनीसँग पूर्ण असन्तुष्ट र आक्रोशित छ ।’ अब प्रश्न उठ्छ, त्यसोभए छन् चाहिँ को त ? समाचार स्रोत भन्छ, ‘ व्यक्तिगत लाभ लिइरहेका, विभिन्न नियुक्ति र अन्य विधिमार्फत मौका पाइरहेकाहरु त गुणगान गाएर बसेकाछन् । आइ लभ यु बा भन्ने युवायुवतीचाहिँ निकै पर पुगिसके । 

नेताहरू भन्छन्– ओलीले गरेका धेरै निर्णय र गतिविधिहरू समग्र एमालेका लागि लगातार प्रत्युत्पादक बन्दै गइरहेका छन् । विदेशी नागरिकता हुँदाहुँदै नेपाल टिभीका तत्कालिन जीएम लक्ष्मण हुमागाइँलाई थर्काएर सरकारी जागिर दिने, उनै रवि लामिछानेलाई दुई दुई पटक गृहमन्त्री बनाउने काम ओलीस्वयंंले गरेका हुन् । पछि उनै रवि लामिछाने ओलीका लागि सर्वाधिक घाँडो पात्र बने र उनीविरुद्ध निर्मम बनेर पेश हुनुपर्ने बाध्यतामा पुगेका छन् । त्यसैगरी विगतमा सबैको मन दुख्ने गरी केन्द्रीय सदस्य बनाइएका दुर्गा प्रसाईं अहिले ओलीका सबैभन्दा ठूला शत्रु हुन् । 

होली वाइनवाला नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सूर्यचिन्हसहित एमालेको सांसद बनाइएको धेरैलाई मन परेको छैन । हुन पनि कस्तो जात्रा भने एउटा पार्टीको अध्यक्ष, अर्को पार्टीको सांसद । त्यस्ता सुन्दै उदेकलाग्दा निर्णयहरू गर्ने केपी ओलीको शैलीका कारण विधि, विधान, नीति र नैतिकताभित्र बसेर राजनीति गर्नुपर्छ भन्ने पुराना नेताहरू आक्रोशित बनेका हुन् । उता पोखरामा सूर्यबहादुर केसीका मान्छे प्रकाशबहादुर केसी सांसद र भौतिक योजनामन्त्री बनाइएका छन् । प्रदेशसभामा एमालेको टिकट पाउन १० करोड खर्च गरेको गफ तिनले आफ्ना साथीसङ्गीसँग लाउने गरेका छन् । एमालेका इमान्दार कार्यकर्ता शिव अधिकारीलाई हटाएर सूर्यबहादुर केसीका मान्छेलाई समानुपातिक सांसद बनाएको भनी गण्डकी क्षेत्रका नेताहरू रिसाएका हुन् । एक असन्तुष्ट एमाले नेता भन्छन्, ‘राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक र व्यावसायिक रूपमा माछापुछ्रे बैंक सञ्चालक केसी कसरी एमालेभित्र त्यति प्रभावशाली बने भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा उनले गरेको आर्थिक लगानीबाहेक अन्य कुरा भेटिँदैन ।’ त्यसैगरी राजपा नेताका रूपमा चिनिएकी अमृता अग्रहरीलाई लुम्बिनीको सांसद बनाएको भन्दै ओलीसँग नेत्रीहरूसमेत निकै नै आक्रोशित बनेको बताइन्छ । 

पुराना एमाले नेताहरूले उठाउने गरेको प्रश्न के हो भने के ओली शैलीले कम्युनिष्ट पार्टी चल्छ ? सामुहिक नेतृत्व भनेको के हो? यति धेरै मनोमानी र निरंकुशता आफ्नै पार्टीभित्र चलाउन मिल्छ? ओलीले गरेका गल्तीको जिम्मेवारी र जवाफदेहिता आफूहरूले बोक्नुपरेको भन्दै उनीहरूले आपसी छलफलमा पीडा पोख्ने गरेका छन् । 

नसोचेका व्यक्तिहरू नै केपी ओली विरोधी देखिएपछि कतिपय नेता आफै अचम्ममा परेका छन् । यस्ता व्यक्तिमा पाल्पाका पूर्वजिविस सभापति झपेन्द्र जिसी, ९/१० वर्षसम्म जिल्ला अध्यक्ष रहेका कपिलवस्तुका झविलाल पोख्रेल, दाङका रेवतीरमण शर्मा (घिमिरे) जो अहिले लेखा आयोगका सदस्य छन्, जिल्ला पार्टी सचिवसमेत बनिसकेका व्यक्ति हुन् । एमालेका एक नेता भन्छन् ‘पहिले पहिले केपी ओली बोल्न थाल्दा मानिसहरू हुर्रिएर आउँथे । अहिले त गफतिर र बदामतिर ध्यान जान थालेको देखियो ।’ त्यसो त मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने कार्यक्रममा एक लाख मान्छे उतार्ने भन्दा ५ हजार जति मात्रै भेला भएकोमासमेत नेताहरु छक्क परेका छन् । त्यो सबै हुनुमा अरु केही नभएर केपी ओलीको घट्दो लोकप्रियता  नै जिम्मेवार रहेको उनीहरूको ठहर छ । 

भारतको पश्चिम बंगालमा त्यहाँका कम्युनिष्टले ममता बेनर्जीको पार्टीबाट चुनाव लड्नुपर्ने बाध्यता सुनाएको घटना सम्झिँदै एक नेता भन्छन्, ‘यता हामीचाहिँ पुराना पञ्चजस्ता भयौँ । कम्युनिष्ट हौँ भन्नलाई नै रक्षात्मक अवस्थामा पुग्यौँ । हामीलाई भ्रष्टाचारी देख्न थाले ।’ 

नवलपरासीबाट संघीय र प्रदेश सांसदसमेत बनिसकेका एमालेको इञ्जिनियरिङ फाँट इञ्चार्ज बैजनाथ चौधरी अहिलेको स्थितिबारे गुनासो गर्दै भन्छन्– ‘लुम्बिनी प्रदेशका जम्मा १२ वटा जिल्लामा सधैं पहिलो वा दोस्रो हुने पार्टी तेस्रो नम्बरमा पुगेको छ, यस्तै हो भने आगामी चुनावमा चौथो दल बन्छ ।’ उनैले बताए– मंसिर ७ गते दरबारमार्गको कार्यक्रममा हामीलाई ३०० जना इञ्जिनियर सामेल गर्ने उर्दी थियो । त्यसका लागि १८ वटा बैठक बसियो । आखिर त्यस दिन एक घण्टा कुर्दासमेत जम्मा १५ जना मात्रै भेला भए । कसरी लाज छोप्ने भन्ने परिरहेको थियो । विद्युत् प्राधिकरण अगाडि उभिइरहेका बेला धन्न एउटा झुण्ड आयो र त्यसकै पछि लागेर इज्जत जोगाइयो ।’ यसरी शीर्ष नेतृत्वको कार्यशैलीकै कारण एमाले तेल सिद्धिएको दियोजस्तो न त प्रकाश दिने, न फ्याट्टै निभ्ने बरु शिखाभन्दा धुवाँको मुस्लो ठूलो फाल्ने अवस्थामा पुगेको  टिप्पणी एमाले नेताहरूले नै गर्न थालेका छन् ।

​​​​

टिप्पणीहरू