‘मूलधार’ गाइज भुत्ते भएरै ‘टंक’हरूले ठुङ्ने हो

‘मूलधार’ गाइज भुत्ते भएरै ‘टंक’हरूले ठुङ्ने हो

कैलाश सिरोहियालाई खलनायक बनाउँछन् । रामेश्वर थापा आदिलाई खलनायक बनाउँछन् । रेडियो, टेलिभिजन, अनलाइन र अखबारका पत्रकारहरूलाई खलनायक बनाउँछन् । अर्थात् उनीहरू यस्तो चित्र देखाउँछन् कि मूलधारको मिडिया सबै माफियागिरी हो । मूलधारका पत्रकार सबै खराब हुन् । ब्ल्याक एण्ड ह्वाइटमा सबै कुरा छुट्याउँछन् । यो हो समाचारीय सामग्रीहरू लिएर आउने युट्युबरहरूका साझा आचरण ।

मूलधारको मिडियाका कमजोरीबारे ठुल्ठूला कुरा गर्ने उनीहरू आफ्ना कमजोरीलाई भने स्वीकार्न चाहँदैनन् । टंक दाहाल, इन डेप्थ स्टोरीलगायत समाचारीय सामग्रीहरू ल्याउने केहीको नाडी छाम्ने प्रयास गरेँ । यी दुवैले नाम त लिएनन् । च्यानलको नाम पनि भनेनन् । सायद देखाइदिएमा भ्यूज झन् धेरै होला भन्ने व्यापारिक र विज्ञापनिक चेत लगाएर होला देखाएनन् । उनीहरूले भनेका कुरामा मूलतः तीन कुरा समान आए– एक, दलको झोले । दुई, माफियाको पक्षधर । तीन, भ्रष्टाचार पक्षधर । अझ रोचक कुराचाहिँ उनीहरूको दलको झोले कुरा चैँ सहज छ । आफूलाई चित्त नबुझ्ने सबै दलको झोले । दलको आलोचना गर्दा सामान्य । तिनको आलोचना गर्दा झोले । यो सर्ट कट सूत्र छ तिनको । अर्को शब्दमा मूलधारका मिडियालाई गाली गर्दा पाक्ने खेतीको तिनले भरपुर प्रयोग गरेका छन् । आएका सबै सूचना हुरुरु दिनमा उनीहरू अगाडि छन् । न सम्पादक हुन्छ । न कुनै गेटकिपर । माहोल हेर्‍यो । भीड हेर्‍यो । के बिक्छ त्यसैलाई गुटुटु भन्यो । भ्यूज कमायो । डलर झार्‍यो । 

रामेश्वर थापाले देश चलाउँदै भन्ने हेडलाइन तिनकै हुन् । जिबी राई नजिकको मान्छे भन्दै तथ्य भन्दा कथ्यका कुरा गरेर दर्शकलाई पंगु बनाउने तिनै हुन् । कम्बोडियामा एमालेका मात्रै होइन, कांग्रेस, माओवादीलगायत जनमतका नेता सिके राउतहरू एकै कार्यक्रममा पुगेका थिए । सामाजिक सञ्जाल र आम सञ्चारमा यो समाचार आइसकेको छ । तर, टंक दाहालहरू यसलाई एमालेका सांसद तथा नेताहरूको मात्रै यात्रा भनेर मासलाई मिसलिड गरिरहेका छन् । एमालेलाई लान्छना लाएको सवाल एमालेले हेर्ला । यो लेखमा कुरा गरिएको चैं टंक दाहालहरूले मूलधारका मिडियालाई लाउने लाञ्छना, भड्काउने पाठक, श्रोता र दर्शक र त्यसको काउण्टर बारेमा हो ।

आएका सबै सूचना हुरुरु दिनमा उनीहरू अगाडि छन् । न सम्पादक हुन्छ । न कुनै गेटकिपर । माहोल हेर्‍यो । भीड हेर्‍यो । के बिक्छ त्यसैलाई गुटुटु भन्यो । भ्यूज कमायो । डलर झार्‍यो ।  

युट्यबरले आफ्नै कन्टेन्ट कम मात्रै बनाउँछन् । कि सार्ने हुन् कि संकलन गर्ने हुन् । सार्नेलाई त उकेरा डटकमका सम्पादक तथा ओपन सेक्रेट्सका लेखक केपी ढुंगानाले ठेगान लाइदिए । इन डेप्थ स्टोरी भन्नेमा उनको किताबको हुबहु सामग्री आएको भनी उजुर गरे । युट्युबले चोरी भन्दै हटाइदिएको थियो । यो एक उदाहरण हो । युट्युबरहरूले मूलधारका मिडियालाई खलनायक बनाउँदै गर्दा मूलधारका मिडिया एसर्टिब बन्न आवश्यक छ । एसर्टिब दुई कारण हुन आवश्यक छ । एक, आफूलाई लागेका नाजायज लाञ्छनाको काउन्टर गर्न र तथ्य दिन । पछिल्लो समयमा सीएमआर नामक संस्थाले तथ्य जाँचको तालिम दिएको छ । त्यस्ता तालिम अरु माध्यमबाट पनि लिएर मिथ्या सूचनाको काउण्टर गर्न आवश्यक छ । दुई, प्रविधिमा जोडिएर प्रविधिमा जोडिएको पुस्तासँग सम्पर्क गर्न मूलधार एसर्टिब हुन आवश्यक छ । 

मूलधारलाई खलनायक बनाउने युट्युबरसँग मुकाबिला गर्न केपी ढुंगाना पहिलो सूत्र हुनसक्छ । अर्थात् जुन जुन सामग्री मूलधारका पत्रकार, फोटोपत्रकारले खिचेका छन् । त्यो सामग्री अनुमति नलिई प्रयोग गरेमा एक्सनमा जाने । अनुमति र स्रोत बिना प्रयोग गरेमा उजुर गर्ने । यसो गरेमा उनीहरूले स्रोत भन्न बाध्य हुनेछन् । स्रोतभन्दा मूलधारकै नाम आउनेछ । मूलधारका स्रोतलाई प्रयोग गरेर मूलधारकै बद्नाम गर्दा उनीहरूको नैतिक बल कमजोर हुन्छ । 

दोस्रो सूत्रचाहिँ मूलधार आफैं सच्चिने । फेसबुक, इन्स्टा तथा एक्समा कस्ता तस्बिर, भिडियो कुन साइजमा राख्ने भनेर बुझ्ने । टिकटक, रिल र युट्युबका भिडियो तथा अडियो हाल्ने भन्ने न्यूनतम चेतना राख्ने । टेलिभिजनले मात्रै होइन अखबार, अनलाइन र रेडियोका पत्रकारहरूले पनि सामाजिक सञ्जालबाट आफ्ना समाचार सामग्रीहरू बढीभन्दा बढी प्रस्तुत गर्ने । यसो गरेमा धेरैमाझ सामग्री पुग्छ । पाँच हजार प्रति छापिने अखबारका पाठक पाँच हजार प्लस होलान् तर त्यो सामग्रीलाई अडियो वा भिडियोमा राखेर सामाजिक सञ्जालमा हाल्ने हो भने विभिन्न सञ्जाल गरेर लाख हाराहारीमाझ पुग्छ । यसका लागि पत्रकार र मिडिया हाउस दुवैले दक्षता बढाउनुपर्छ । पत्रकारको प्रविधि, प्राविधिक सीप, सूचना प्रविधि खासगरी मल्टिमिडियाका क्षेत्रमा दक्षता बढाउनुपर्छ । मोजो अर्थात् मोबाइल पत्रकारितामा खारिनुपर्छ । 

टंकहरूको उदय आफैँमा खराब भने होइन । लोकतन्त्रमा बहुलवाद आवश्यक छ । बहुलवादमा बहुल विचार आउँछन् । जनताले छानेर धारणा बनाउँछन् । तर, समस्या टंकहरूको उदयको होइन । समस्या टंकहरूले सिधासिधी मूलधारलाई खलनायक बनाउँदै गर्दा, कतिपय मिथ्या सूचनाले मासमा भ्रम छर्दै गर्दा मूलधारले कुशल काउण्टर गर्न नसक्नु हो । टंकहरूले केही राम्रा काम गरेका पक्कै छन् । तर, उनीहरू आफ्ना राम्रा कामको आयतन बढाउन मूलधारका मिडिया र पत्रकारलाई गाली गरिरहन्छन् । यसको काउण्टर आवश्यक छ । यसको लागि पत्रकार र मिडिया हाउसले मात्रै होइन नियामक निकायले पनि ध्यान दिन आवश्यक छ ।

आज एक अखबार सञ्चालन गर्न राज्यका विभिन्न घेरा पार गर्नुपर्ने हुन्छ । एक टेलिभिजन सञ्चालनका आर्थिक दुःख उत्तिकै छन् । समाचारका आचारसंहिता उत्तिकै छन् । आचार संहिता, दर्ता र अरु कुरामा नियामक निकायले केही कदम चलाउन सक्छ । विज्ञापनदेखि समाचार सामग्री हुँदै दर्तासम्म युट्युबका कुरालाई मूलधारका जस्तै नियमन आवश्यक छ । यसले पनि केही सहजता हुन्छ । मूलधारका मिडियालाई विभिन्न आचार संहिताका नियमले भुत्ते बनाउनु र युट्युबरलाई खुला छाड्नु पक्कै राम्रो होइन । यसको अर्थ युट्युबलाई बन्दै हुने खालको कडाई भन्ने चैं होइन । युट्युब तथा अरु सबै सामाजिक सञ्जाल खुला हुनुपर्छ । तर, नियमन पनि हुनुपर्छ । कुरा यत्ति हो ।
 

टिप्पणीहरू