‘आरजू नजदिक चौधरीजी बहुत अच्छे आद्मी है’
पछिल्लो समय भारतमा बजार विस्तार गर्दै आएको वाईवाई चाउचाउको जयपुर कारखानामा गत वर्ष भारतीय राजश्व निर्देशनालयले छापा हानेको थियो । राजश्व छलेको आरोपमा उक्त छापा हानिएको भनिए पनि भित्री कुरोचाहिँ भारतीय राजनीतिमा चौधरीले गरेको खेलोफड्को नै रहेको बताइन्छ । केन्द्र सरकारमा एक दशकदेखि भाजपाको सरकार निरन्तर छ । चौधरीले दिल्लीमा एउटा सूत्र र अन्यत्र अर्कै सूत्र प्रयोग गरेको थाहा पाएपछि उनको कारखानामा राजश्व छलीको आरोपमा छापा मारिएको थियो ।
उनले व्यापारिक स्वार्थका लागि राजस्थानका पूर्वमुख्यमन्त्रीसँग घाँटी जोडेको विवरण प्राप्त भएपछि बिजेपी आक्रामक बनेको हो । कांग्रेसबाट पूर्व मुख्यमन्त्री अशोक गहलोत र मध्यप्रदेशका दिग्विजय सिंहसँगको उठबसले सीमा नाघेपछि उनी निशानामा परेका थिए । भनिन्छ, भारतमा विनोद चौधरीजस्ता ठाउँँपिच्छे बोली फेर्नेलाई ठेगान लगाउन फरक फरक स्थानमा राडार (सूत्र) जडान गरिएको छ । सोही कारण गत जुन महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहका निम्ति पत्याइएन । नेपालमा धेरैलाई औपचारिक निम्तो आइसक्दा पनि साइँसुइँ नभएपछि उनले दर्जनौंलाई भेटेर कुनै हालतमा त्यहाँ पाइला टेक्ने व्यवस्था मिलाइदिन चरणकमलमा बिन्ती गरेको उनी निकटस्थ स्रोतको दाबी छ ।
यता सिक्किमको रङ्पोमा उनले पहिलो चाउचाउ कारखाना सन् २००६ मा स्थापना गरेका थिए । तलब भत्ता बढाउनुपर्ने माग राख्दै भएको कर्मचारी र कामदारहरूको लामो आन्दोलनका कारण उनले उक्त कम्पनी र उत्पादन बन्द गरिदिएका छन् । भारतीय कांग्रेसका स्थानीय नेतालाई दान दक्षिणा गरेपनि उक्त कारखाना खुल्न सकेको छैन ।
जुनसुकै ठाउँको नेतृत्वमा पहुँच पुर्याउने चौधरीले काम बिग्रेपछि भने मुन्तिरका कर्मचारीलाई अघि सार्दै समस्या समाधानका लागि दबाब दिने गरेको रङ्पोका कर्मचारीहरूले युट्युबमार्फत् बताएका थिए । सिक्किममा भएको उक्त आन्दोलनको भिडियो सामाजिक सञ्जालमा अहिले पनि हेर्न सकिन्छ । भारतमा तयारी चाउचाउको बजार बिस्तार हुँदै जाँदा चौधरीले एक वर्षमा सातदेखि आठ सय करोड भारुको सम्म बिक्री गर्ने गरेका छन् । होटललगायत विभिन्न क्षेत्रमा लगानी गरेका उनले यताको पैसा उता पुर्याउने माध्यममा धेरैलाई प्रयोग गरेको पाइन्छ ।
भारतपछि बंगलादेशमा पनि वाईवाई कम्पनीको कारखाना खोलिएको छ । मध्यपूर्वमा खोल्न खोजे पनि त्यहाँको बजारमा पिठोको भाउ महँगो हुन गएकाले नखोलिएको चौधरी ग्रुप स्रोतले बतायो । स्रोत भन्छ, ‘अहिले मध्यपूर्वमा बंगलादेशको उत्पादन र युरोपमा भारतीय उत्पादन पठाउने गरिएको छ ।’ चौधरीले युएईको दुबईमा सबैभन्दा धेरै रियल इस्टेटमा लगानी गरेको देखिन्छ । अर्को रोचक पक्षचाहिँ उनले लगानी गरेको भनिएका होटलको संख्याभन्दा दोब्बर अदृश्य लगानी रहेको धेरै कोणबाट पुष्टि भइसकेको छ । सोही स्रोतले सिजीले १०० वटा होटल तथा रिसोर्टमा लगानी देखाए पनि नदेखाएका अरु २०० वटा भएको दाबी गरेको छ । श्रीलंकाको ताजमा गरिएको सामान्य लगानीलाई ताजको पार्टनर भन्दै विश्व बजारमा ब्राण्ड बेच्ने गरिएको छ ।
इण्डोनेसियामा रहेको द फर्न, द क्यासललगायत चौधरी ग्रुपको पोर्टफोलियोमा एक दर्जन बढी होटल ब्राण्ड उल्लेख गरिएको छ । ती सबै होटलमा गरिएको लगानीको मुख्य स्रोत नेपाली बैंक नबिलबाट ढाका हुँदै विदेश लगिएको डलर लाभांश भएकोमा कुनै शंका नै छैन । उनले पोहोर र यसपटक पनि पूरै नगद लाभांश लैजाने प्रपञ्च मिलाइसकेका छन् । राष्ट्र बैंकको गम्भीर आपत्ति हुँदाहुँदै पनि चौधरीको दबाबमा नगद लाभांशको प्रस्ताव पारित भएको केन्द्रीय बैंक स्रोत बताउँछ ।
दुबईमा छोरा राहुल, काठमाडौंमा निर्वाण र नयाँ दिल्लीमा वरुण बसेर उनको पोर्टफोलियो म्यानेज्मेन्ट हेर्ने गरेका छन् । समग्रमा खातापाताको जिम्मेवारी अहिलेसम्म बाउ चौधरीकै रहेको छ । उनको दाहिने हात मानिने जिपी शाहलाई चाउचाउ व्यवसायमा केन्द्रित गराइएको छ । ‘बूढी र छोराहरूले भनेको भन्दा जिपीले भनेको कुरो सुन्छन् । विश्वभर चाउचाउ हेर्ने जिम्मा उनैको हो,’ चौधरीसँग लामो संगत गरेका प्रहरीका एक जना अवकाशप्राप्त अधिकृतले बताए ।
नेता र कर्मचारीतन्त्रलाई मुठ्ठीमा राख्दै आएका उनको सिजी मोटर्स इभी गाडी नेटाको आधिकारिक बिक्रेता हो । सिजी मोटर्सले नेटालाई मिलाएर तोकेको सिसीको आधारमा सरकारले राजश्व दर मिलाएको छ । नेटासरह सिसी तोकिएको गाडीमा सामान्य भन्सार दर मिलाएपछि एउटै गाडीमा १० लाखसम्म असुलेको चर्चा चलेको थियो । नेटाको तोकिएकोभन्दा माथिको सिसीका गाडीमा दोब्बर भन्सार तोकिदिएका कारण उनले ब्रह्मलुट मच्चाउन पाएको व्यापारीहरू नै बताउँछन् ।
टिप्पणीहरू