उद्योग वाणिज्य महासंघ प्रत्यक्ष निर्वाचनको पक्षमा
नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधन गरेको छ । महासंघको हालै सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संशोधन गरेको जनाइएको छ ।
महासंघका अनुसार विधान, २०४९ मा गरिएको सातौँ संशोधनले संस्थागत विकासतर्फ महत्वपूर्ण निर्णय गरिएको छ । जसमा महासंघको अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था छ ।
त्यस्तै, अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालयता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संसोधनअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ ।
यस्तै, महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । जसमा एक जना वरिष्ठ उपाध्यक्ष रहने छ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ भने एक थप गरी दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
यसैगरी, महिला उपाध्यक्ष रहने पनि व्यवस्था छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर, यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य हुनैपर्छ ।
महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् पनि महासंघमा गठन हुने प्रावधान गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको हो ।
यस्तै, महासंघअन्तर्गत नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा नपर्ने एवं सदस्यका रुपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।
टिप्पणीहरू