फोहोर फाल्ने ठाउँ खोज्दै शहरीमन्त्री
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बन्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गर्नुभएको छ । मन्त्रालयका कर्मचारीसहित उहाँ दिउँसो धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडा पुग्नुभएको हो ।
अवलोकनको क्रममा मन्त्री सिंंहले काठमाडौँको फोहोर व्यवस्थापनमा बन्चरेडाँडा अतिउपयोगी बनेको बताउँदै ल्यान्डफिल साइटको आयुबारे चासो राख्नुभएको थियो । ल्यान्डफिल साइटमा अव्यवस्थित फोहोर थुपारिएको देखेपछि उहाँले जिज्ञासा राख्नुभयो, ‘यसरी नै फोहोर फाल्दै जाने हो भने कति वर्ष धान्छ ल्यान्डफिल साइटले ? लामो समय उपयोगमा ल्याउन केही वैज्ञानिक विधि अपनाउन सकिन्छ कि ?’
जवाफमा त्यहाँ उपस्थित केही वातावरणविद्ले वर्गीकरण नगरी फोहोर फाल्दै गएमा ल्यान्डफिल साइट २० वर्षमै भरिने र फोहोर वर्गीकरण गरेर मात्रै फालेमा ४० वर्षसम्म धान्ने बताएका थिए ।
पछिल्लो समय फोहोर व्यवस्थापन नै काठमाडौँको मुख्य समस्या बन्दै गएको र त्यसको लागि सरकार गम्भीर रहेको मन्त्री सिंहको भनाई थियो । बन्चरेडाँडा अवलोकनको क्रममा उहाँले स्थानीयहरुसँग पनि भेटेर उनीहरुको समस्या सुन्नुभएको बताइन्छ ।
टिप्पणीहरू