साढे पाँच महिनापछि पुरानो विश्वविद्यालयको एक दर्जन नीति पारित

साढे पाँच महिनापछि पुरानो विश्वविद्यालयको एक दर्जन नीति पारित

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले गत साउनमा रोकिदिएपछि अनिश्चित बनेको त्रिभुवन विश्वविद्यालयको चालु आर्थिक वर्ष २०८१–०८२ को नीति पारित भएको छ । आज बसेको त्रिवि सभाले १२ बुँदे नीति पारित गरेको छ । 

त्रिविमा नीति तथा कार्यक्रमका आधारमा बजेट स्वीकृत गर्ने अभ्यास रहेकोमा साउन दोस्रो साता प्रधानमन्त्री तथा कुलपति ओलीले प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्न रोक लगाउनुभएको आरोप लागेको थियो ।  उहाँले ‘नीति अधिवेशन’ गर्ने भनेपछि सभाले बजेट मात्र पारित गरेको थियो । 

त्यसको झण्डै साढे पाँच महिनापछि आज त्रिविले नीति पारित गरेको छ । पारित नीतिमा त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता, प्रशिक्षण, परीक्षा व्यवस्थालगायत १२ वटा विषय समेटिएका छन् । 

पहिलो बुँदामा विश्वविद्यालय प्राध्यापन सेवाका लागि न्यूनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गरिने उल्लेख छ । 

उक्त परीक्षा उत्तीर्ण हुनेहरुले मात्र आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र विभागमा प्राध्यापन सेवामा प्रवेश गर्न पाउने छन् । तर, विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षणको व्यवस्था गरेपछि भने सो व्यवस्था स्वतः निष्क्रिय हुनेछ । 

दोस्रो बुँदामा विश्वविद्यालयको केन्द्रीय निकाय, केन्द्रीय विभाग, विभाग र क्याम्पसहरुमा जनशक्तिको आवश्यकता पुरा गर्न र आर्थिक रुपले विपन्न वर्ग र क्षेत्रबाट आएका विद्यार्थीहरुलाई सपोर्ट गर्नका लागि विद्यार्थी सहायतासम्बन्धी नियमावली तयार गरी काममा लगाइने उल्लेख छ । 

तेस्रो बुँदामा विभिन्न निकायहरुको जनशक्ति आवश्यकताको अध्ययन (ओ एण्ड एम) गराई आवश्यक जनशक्तिको दरबन्दीको विश्लेषण गर्ने र कार्यालय सहयोगीहरुलाई आउड सोर्सिङबाट लिने व्यवस्थालाई निरन्तरता दिने जनाइएको छ । 

यस्तै, आयुर्वेद औषधि विज्ञान, लिबरल आर्टस् र होटल एसोसिएसनसँगको सहकार्यमा मिश्रित पद्धतिअनुसार होटल व्यवस्थापन स्नातक तहको पाठ्यक्रम विकासे र नेपाल विशेष शैक्षिकहरुको पाठ्यक्रम निर्माण गरिने त्रिविको नीति छ । 

छैठौं बुँदामा श्रम बजारको मागअनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्ने, सातौंमा विश्वविद्यालय पुर्नसंरचना गर्न ऐन र नियमको संशोधन प्रक्रिया थाल्ने र यसका साथसाथै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव लिने तथा केन्द्रीय कार्यालयको ओएनएम गरी पुनर्संरचना गरिनेछ । 

नवौं बुँदामा निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसबीच गाभिने नीति लिइएको छ ।

जसमा उपत्यका बाहिरका क्याम्पस उपत्यकाभित्रका क्याम्पससँग गाभिने छैनन् । तर, उपत्यकाभित्रका क्याम्पस उपत्यकाबाहिरको क्याम्पससँग गाभिन सक्ने छन् । यसरी गाभिएर बनेको नयाँ क्याम्पस उपत्यकाभित्र भने सञ्चालन गर्न पाइने छैन । 

यसैगरी, दशौं बुँदामा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने शिक्षकहरु कम्तीमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने व्यवस्था लागू गरिने उल्लेख छ ।   

अनुगमन निर्देशनालय, पाठ्यक्रम विकास केन्द्र र अनुशासन निर्देशनालयसँग सम्बन्धित नियममा आवश्यक संशोधन गर्दै उपरोक्त निकायहरुलाई समय सापेक्ष गराइने तथा नियममा संशोधन गर्दै अन्य आवश्यक निर्णय लिइने एघारौं बुँदामा भनिएको छ । 

अन्तिम बुँदामा सामाजिक सञ्जाल, लैङ्गिक हिंसासम्बन्धी नीति निर्माण गर्ने उल्लेख छ ।

टिप्पणीहरू