उपेन्द्रले एकातिर दबाउन खोजे अर्कोतिर प्लेटफर्म पनि दिएनन् : सांसद रञ्जु झा
दोस्रो संविधान सभामा नेकपा एमालेले रञ्जु झा ठाकुरलाई मधेशी क्लस्टरबाट समानुपातिकतर्फ सभासद् बनाएको थियो । त्यतिबेला उनी संसदको महिला, बालबालिका तथा खेलकुद समितिको सभापतिसम्म बनिन् । तर, २०७९ को चुनावमा उनी एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरिन् ।
उपेन्द्रको जसपा विभाजनपछि अहिले अशोक राई नेतृत्वको जसपातिर लागेकी उनी फेरि एमालेतिरै फर्किन लागेको चर्चा छ । एमालेमा छँदा पूर्वराष्ट्रपति विद्या भण्डारी निकट झा संसदीय गतिविधिमा सक्रिय थोरै मधेशी महिला सांसदमध्ये एक मानिन्छिन् । मधेशको मुद्दामा अनुदार रहने गरेको उनीमाथि आरोप छ । अहिले उनीसहित अशोक राई समूहका सात सांसद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले इसारा गर्नेबितिक्कै एमालेमा मिसिने आन्तरिक तयारीमा रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ ।
यसै विषयमा केन्द्रित रहेर सांसद झासँग जनआस्था अनलाइनका लागि राजकुमार रायले गरेको कुराकानी :
तपाईंहरुले हुँदाखाँदाको पार्टी फुटाएर अर्को पार्टी बनाउनुभयो । त्यसलगत्तै सरकारमा पनि जानुभयो । राजनीतिक स्थिरताको कुरा गर्ने तर पार्टी फुटाउने कुरा आफैँमा विरोधाभाष भएन ?
हेर्नुस्, हामीकहाँ पुरुष राजनीतिकर्मीले वर्षमा चार वटा पार्टी फेरेपनि केही फरक पर्दैन । तर, हामीजस्ता निष्ठावान महिला एक–दुई पटक यताउता गरेकै आधारमा अनेक आरोप लगाइन्छ, मिडियाले पनि अतिरिक्त चासो राख्छ । तर, यसमा मलाई केही भन्नु छैन ।
तपाईंको राजनीति एमालेबाट शुरु भएको हो । तर, चुनावको मुखमा जसपामा प्रवेश गर्नुभयो, अस्थिरता त देखियो नि ?
हो, एमालेले मलाई समानुपातिक सांसद बनायो । संसदीय समितिको सभापति पनि बन्ने मौका पाएँ । एमालेले मेरो सन्दर्भमा उचित मूल्यांकन गर्यो भन्ने मेरो बुझाई रह्यो । तर, पार्टीको दशौं महाधिवेशनसम्म आइपुग्दा मप्रति अपमानजनक व्यवहार भएको मैले अनुभव गरेँ । त्यसकारण म निष्क्रिय भए पनि एमाले छाडेको चाँही थिइनँ ।
त्यसोभए बीचैमा जसपामा कसरी जोडिन पुग्नुभयो ?
पार्टीमा जिम्मेवारी नभएकाले म गृहजिल्ला सप्तरीमा त्यतिकै थिएँ । एकदिन जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट भयो । मेरो घरमै आउनुभएका उहाँले तपाईँजस्तो नेता निस्क्रिय बस्न हुँदैन, सहकार्य गरौँ भन्ने प्रस्ताव गर्नुभयो । जसपाका अन्य नेताले पनि पटक–पटक त्यस्तो प्रस्ताव राख्ने गर्नुभएको थियो । एमालेमा छँदा स्वाभिमानमा ठेस लागेको महशुस गरेकी थिएँ । त्यसकारण उहाँहरुको प्रस्ताव ठीक लाग्यो । अझ खासगरी मलाई जसपामा लैजान पहाडे समुदायका अग्रज पत्रकार शिवहरि भट्टराईले महत्वपूर्ण भूमिका खेल्नुभएको हो । तर उहाँ अहिले बितिसक्नुभएको छ ।
जसपा प्रवेश गरेलगत्तै स्थानीय निर्वाचन भयो । चुनावमा सक्रिय भूमिका निभाएँ । जुन–जुन वडामा म खटिएँ त्यहाँ जसपाका उम्मेदवार अत्यधिक बहुमतले विजयी भए । समग्र जिल्लामा राम्रो नतिजा ल्याउन सफल भयौँ । संसदीय निर्वाचनमा पनि मैले त्यस्तै सक्रिय भूमिका खेलेको थिएँ ।
आखिर तपाईँलाई उपेन्द्र यादवले मौका दिनुभएकै रहेछ नि त ?
२०७९ को चुनावमा हामी सबैको प्रयासले जसपा राष्ट्रिय पार्टी बन्यो । जबकि माधव नेपालको एकीकृत समाजवादी र महन्थ ठाकुरको लोसपाको समानुपातिक भोट काम लागेन । पार्टीलाई राष्ट्रिय दल बनाउन योगदान गरेको एउटा पात्रको हिसाबले म समानुपातिक सांसदका लागि स्वतः एक दाबेदार थिएँ । कसले मौका दियो दिएन भन्दा पनि त्यसैको मूल्याङ्कन भएको अर्थमा मैले यसलाई बुझेको छु । त्यसअघि मलाई प्रत्यक्ष उम्मेदवार बनाउन पनि साथीहरुको चासो थियो । तर, समानुपातिक उम्मेदवार बन्नुपर्ने धेरैको आग्रह र सल्लाहबमोजिम मेरो नाम बन्दसूचीमा परेको हो । पार्टीले मेरो योगदान र भूमिकालाई न्याय गरेको अर्थमा यसलाई बुझ्न म आग्रह गर्न चाहन्छु ।
उपेन्द्र यादवको जसपा नै मधेशको मूल शक्तिका रुपमा स्थापित छ । तर, तपाईंहरुले त्यहि शक्तिलाई कमजोर बनाउने खेल खेल्नुभयो होइन ?
व्यक्तिगत रुपमा मेरो कमजोरी वा कुनै किसिमको खोट छ भने आलोचना स्वीकार्य छ । तपाईंहरुले पनि सचेत गराउनुस् । तर, जे उद्देश्य लिएर म जसपा प्रवेश गरेँ, त्यो अवसर त्यस पार्टीभित्र मैले पाइनँ । किनकी मधेशको मुद्दालाई दह्रोसँग समात्ने सवालमा थुप्रै कमजोरी भएको छ । पहिचानको मुद्दादेखि गरिबीको सवाल सम्बोधन गर्न पनि सकेको छैन । यो कुनै आरोप हैन, तथ्य हो । सबैले नाङ्गो आँखाले देखिरहेका छन्, तर आँखा चिम्लिएपछि के भन्न सकिन्छ र !
त्यसोभए जसपा फुटाउनुको कारण चाँही के हो ?
मधेशमा जातीयताको मुद्दा छ, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थुप्रै समस्या छन् । तर, पार्टीभित्र यो कहिल्यै बहसको विषय बनेन । नेतृत्वले चासो नदिएका कारण मैले चाहेर पनि कुनै भूमिका खेल्न सकिन । आखिर सबै पार्टीमा सत्ता र शक्तिकै खेल हुने रहेछ भन्ने तितो अनुभव बटुल्दै गएँ । म सांसद बन्नकै लागि जसपामा गएको थिइनँ । एमालेमै हुँदा त्यो पद मैले पाएको थिएँ । मैले अध्यक्ष उपेन्द्र यादवलाई अनुरोध गरेँ कि म राजनीतिक गतिविधिमा सक्रिय भैरहनुपर्ने महिला हुँ । काम गर्न रुचाउने मान्छे हो । संसदीय फाँटमा पार्टीको भूमिका सशक्त बनाउनेगरी भूमिका दिनुस् भनेकी थिएँ । तर, सुनुवाई भएन । बरु मलाई दबाउन खोजिएको महशुस भयो । अर्को कुरा म निष्ठावान, इमान्दार भएकोले न म त्यहाँ सांसद बन्न गएको थिएँ न त पार्टी फुटाउन । त्यो त परिस्थितिको उपज थियो ।
संयोगले के भयो भने पार्टीभित्रका केही जनजाति नेताहरु जो एमाले पृष्ठभूमिका थिए, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठलगायत लामो समयदेखि उकुसमुकुसको अवस्थामा हुनुहुन्थ्यो । जसका कारण उहाँहरु भित्रभित्रै पार्टीबाट अलगिने अवस्थामा पुगिसकेको स्वयम् उपेन्द्र यादवलाई पनि अनुभव थियो होला । त्यतिमात्रै होइन, उपेन्द्रले नै रोजेर सरकारमा पठाएका तत्कालीन वनमन्त्री नवलकिशोर साहदेखि अहिलेका खानेपानीमन्त्री प्रदीप यादवजस्ता नेताले पनि उहाँलाई छोड्नुभयो । त्यसैले सत्ताका लागि पार्टी फुटाएको भन्ने कुरा आरोप मात्र हो । मेरै कुरा गर्नुहुन्छ भने मैले अघि भनेझैं मलाई पनि उपेन्द्रजीले प्लेटफर्म दिनुभएन । अनि हामी बाध्य भएर अर्को पार्टी बनाउनुपर्ने अवस्था निम्तियो ।
क्याबिनेट हेरफेरको चर्चा छ । कतै तपाईँ पनि मन्त्री बन्न लाग्नुभएको त होइन ?
यस विषयमा पार्टीले निर्णय लिने हो । मेरो चाहनाले मात्र सबै कुरा हुँदैन । तर, पार्टीले जिम्मेवारी दियो भने म काम गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास छ ।
साना पार्टीहरुको खासै भूमिका नरहेको चर्चा र सरकारको स्थायित्वको प्रश्नलाई कसरी हेर्नुभएको छ ?
नेपालमा सरकार बनेकै दिनदेखि अनेक खालका नकारात्मक टिप्पणी गर्ने प्रचलन छ । दुई वटा ठूला दल मिलेर बनेको यो सरकार पूरै अवधि जान्छ भन्ने हाम्रो बुझाइ हो ।
नयाँ पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ? कसरी अघि बढ्न खोजिरहनुभएको छ ?
२०८४ साल सम्म हाम्रो पार्टीले पनि शक्ति सञ्चय गर्ने हो र बलियो भई मैदान उत्रिने हो । प्रदेश र जिल्लामा पार्टी पुनर्गठन प्रक्रिया चलिरहेको छ । चुनाव आउन अब तीन वर्ष बाँकी छ त्यतिबेलासम्म हामी बलियो भइसक्छौं । हुन त भविष्यमा के हुन्छ अहिले नै भन्न सकिँदैन । पार्टीको पनि ग्यारेण्टी त छैन तर, अहिले भने हामी संगठन विस्तारमा होमिएका छौँ ।
एमालेलाई संसद्को पहिलो दल बनाउने प्रधानमन्त्री केपी ओलीका रणनीतिको तपाईंहरु शिकार हुनुहुँदैछ भन्ने कतिपयको टिप्पणी छ । सञ्चार माध्यमहरुमा पनि यो विषय बारम्बार आइरहन्छ । यसमा सत्यता र सम्भावना कति छ ?
यो हल्ला धेरै सुनियो । मलाई पनि कति जनाले सोध्नुभयो । अशोक राई, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, म, वीरेन्द्र महतोलगायत अधिकांश नेता एमाले पृष्ठभूमिको भएकाले उतै मिल्छन् कि भन्ने अनुमानका आधारमा हल्ला चलाइएको होला । भविष्यमा के हुन्छ, त्यो अहिले नै ठोकुवा गर्न त सकिंदैन तर, अहिलेका लागि भने यो सबै हल्ला मात्र हो । हामी स्वतन्त्र पार्टी हौं । भोलि पनि स्वतन्त्र रहन्छ भन्ने विश्वास गरौं ।
त्यसोभए तपाईँहरु एमालेमा कुनै हालतमा मिसिनुहुन्न ?
यसको जवाफ अहिले मसँग छैन । भविष्यको कुरा भविष्यमै छोडिदिउँ ।
यसको अर्थ एमालेमा जाने सम्भावना छ ?
यो कुरा पनि म भन्न सक्दिनँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको नेतृत्व लिनुभयो भने तपाईँहरुको प्रवेश सहज हुन्छ ?
पूर्वराष्ट्रपतिले एमालेको नेतृत्व लिनुहुन्छ कि हुँदैन भन्ने नै थाहा छैन । म एमालेमा हुँदा उहाँ अखिल नेपाल महिला संगठनको अध्यक्ष हुनुहुन्थ्यो । म सचिव थिएँ । उहाँसँग काम र जिम्मेवारीका कारण म नजिक थिएँ । उहाँलाई म सम्मान गर्छु । सम्मानित दिदी हुनुहुन्छ । उहाँलाई इज्जत गर्छु म ।
टिप्पणीहरू