पिएचडीको बाहना, आँखा छलेर पैसा कमाउने चाहना
प्राज्ञिक वर्गलाई देशको बौद्धिक सम्पत्ति मानिन्छ । नीति निर्माण तहमा प्राज्ञिकहरुको अध्ययन तथा अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, प्राज्ञहरु नै गलत कर्ममा लागे भने कस्तो सन्देश जाला ? त्रिभुवन विश्वविद्यालयका एक उपप्राध्यपकले अध्ययन बिदाको नाममा नीजि धन्दा चलाएको सन्दर्भ हो यो ।
त्रिविबाट अध्ययन बिदा स्वीकृत गराएका पाटन संयुक्त क्याम्पस, अंग्रेजी विभागका उपप्रध्यापक ढुण्डीराज निरौला ०७७ सालदेखि कलेजमा गैरहाजिर छन् । साहित्यमा आफूलाई ‘सुरेश हाचेकाली’ नामले चिनाउने उनी डायस्पोरा साहित्यमा पिएचडी गर्ने भन्दै बिदामा बसेका हुन् । शुरुमा एक वर्षको अध्ययन बिदा लिएका उनले अवधि थप्दै साढे तीन वर्ष पुर्याए ।
तर, अध्ययन बिदाको बहानामा उनले कानुनविपरित निजी कम्पनी खोलेर विभिन्न स्थानीय तहको पाठ्यक्रम निर्माणको ठेक्कापट्टामा संलग्न रहेको खुलेको छ । आफूलाई सभ्यता अनुसन्धान केन्द्रको प्राज्ञिक निर्देशक बताउने निरौलाले डेढ दर्जन स्थानीय तहको पाठ्यक्रम निर्माणको ठेक्का लिएको सूचना जनआस्थाले प्राप्त गरेको छ ।
भक्तपुरको दधिकोटस्थित आफ्नै घरमा उनले 'सभ्यता अनुसन्धान केन्द्र प्रालि' खोलेर त्यस्तो धन्दा गरिरहेको पाइएको हो । जबकि उनले अध्ययन बिदाभित्र पिचएडीको थेसिस पेश गरेर पुनः क्याम्पस वा विश्वविद्यालयले तोकेको क्षेत्रमा हाजिर हुनुपर्ने थियो । अर्कोतिर अध्ययन विदामा रहेको सरकारी कर्मचारीले उक्त अवधिमा आफूलाई आर्थिक गतिविधिमा संलग्न गराउनु गैरकानुनी कदम हो । त्रिभुवन विश्वविद्यालय, शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम ०५०, परिच्छेद ५ मा कुनै पनि कर्मचारीले अध्ययन बिदामा बसेको बेला आर्थिक लाभ हुने नीजि काम गर्न नमिल्ने प्रष्ट व्यवस्था छ ।
कितावको ठेक्का हात पारेका निरौलाले विश्वविद्यालयबाट मासिक तलब भत्ता र सेवा सुविधासमेत लिइरहेका छन् । एकातिर सरकारी सेवासुविधा खाइरहने अर्कोतिर विश्वविद्यालयको आँखा छलेर धमाधम पाठ्यक्रम निर्माणको ठेक्का लिने !, खुलेआम कानुन उल्लंघन हुँदा पनि त्रिवि र सरोकारवाला निकायको ध्यान गएको छैन ।
सूचना स्रोतका अनुसार निरौलाको कम्पनीले उदयपुरको कटारी नगरपालिका, भँगाहा नगरपालिका, झापाको कचनकवल र बुद्धशान्ति गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको छ । त्यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका, मकवानपुरको थाहा नगरपालिका, खोटाङ खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय पाठ्यक्रम पनि सोही कम्पनीले बनाएको छ ।
निरौलाले अध्ययन बिदाको दुरुपयोग गरेको खुलेपछि त्रिवि समन्वय महाशाखाले अनुसन्धान अघि बढाउने बताएको छ । अध्ययन बिदाको दुरुपयोग गरेर नीजि कम्पनी खोलेको प्रामाणित भएमा पिएचडी थेसिस स्वीकृत नहुने र बिदा अवधिमा लिएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गराउने महाशाखा प्रमुख दिपक तिवारीले जानकारी दिए । उनका अनुसार कुनै कर्मचारीले विश्वविद्यालयबाट तलबभत्तासहित लिएको अध्ययन बिदामा आर्थिक लाभ हुने नीजि काम गर्नु सरासर भ्रष्टाचार हो ।
‘विश्वविद्यालयले पिएचडीको प्रस्तुती राम्रो होस् भनेर तलबभत्तासहित अध्ययन बिदा दिन्छ, कर्मचारी वा प्राध्यापक पूर्णरुपले विद्यार्थी सरह हुन्छन्’, उनले जनआस्थासँग भने, ‘अध्ययन बिदा अवधिमा उनीहले अन्य जागिर वा निजी कम्पनी खोल्न पाउँदैनन् । त्यसो गरेमा कर्मचारी नियमले सरासर भ्रष्टाचार भन्छ ।’
त्यस्तै, विश्वविद्यालयअन्तर्गत मानविकी संकायको डिन कार्यालयले पनि प्राध्यापक निरौलालाई निगरानीमा राखिएको बताएका छ । यदि निरौलाले अध्ययन बिदाको दुरुपयोग गरेर आर्थिक लाभ लिने अन्य काम गरेको पाइएमा उनको पिएचडी अस्वीकृत हुने डिन कार्यालयका निमित्त प्रमुख दूधीनन्द ढकालले बताए ।
उनले भने, ‘यदि उहाँ (निरौला)ले नीजि कम्पनी खोलेर अन्य काम गर्नुभएको हो भने उहाँको पिएचडीको कुनै अर्थ रहँदैन । विश्वविद्यालयको विश्वासमाथि घात गर्ने अधिकार कसैलाई हुँदैन । उहाँको थेसिस आयो भने हामी समन्वय महाशाखासँग छलफल गरेर कारवाही गछौँ ।’
रोचक के छ भने, निरौलाले विभिन्न साहित्यिक सभा समारोहमा प्राज्ञिक वर्गलाई आवश्यक सम्मान नदिइएको भन्दै आपत्ति जनाउने गरेका छन् । सार्वजनिक समारोहमा सम्मान खोज्ने उनी आफैँ 'बौद्धिक भ्रष्टाचार' मा मुछिएपछि निरौलाले पढाएका विद्यार्थीहरुले प्रश्न गर्न थालेका छन् ।
पाटन संयुक्त क्याम्पसका एक पुराना विद्यार्थी भन्छन्, ‘उहाँकै विद्यार्थी हुँ म, उहाँका सिमान्त आमाहरु, चक्रव्युह नगरमा अभिमन्यु, पृथ्वी सवाई पुस्तक पनि पढेको छु । तर पुस्तकमा आदर्शका कुरा गरे पनि आफैँ भने यस्तो हर्कत गर्नुहुँदो रहेछ, अचम्म लाग्यो ।’
टिप्पणीहरू