हेलिकोप्टर चढेर नआउन चेतावनी
संघीय सरकारका दुई मन्त्री, प्रधानसेनापति र दार्चुलाबाट निर्वाचित सांसदसहितको निरीक्षण टोलीलाई व्यासको छाङरु गाउँका वासिन्दाले हेलिकोप्टर चढेर नआउन चेतावनी दिएका छन् । नेपाली सेनाबाट निर्माण भइरहेको ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक खण्डको निरीक्षण भ्रमण गर्न काठमाडौँबाट मन्त्रीसहितको टोली बुधवार (मंसिर १२ गते) दार्चुला पुगेको थियो ।
पटक–पटक हेलिकोप्टरमा भ्रमण हुने गरेको तर सडक निर्माणले कुनै गति नलिएकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । व्यास गाउँपालिका–१ छाङरु गाउँ नजिकैको गागाभन्ने स्थानमा सेनाको हेलिकोप्टरमार्फत निरीक्षण टोली पुगेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडू, प्रधानसेनापति अशोकराज सिग्देल एवं रक्षा र भौतिक योजना मन्त्रालयका सचिवहरू टोलीमा थिए । गत वर्षको पुस पहिलो साता तत्कालीन भौतिक योजनामन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले पनि अनुगमन गरेको तर उपलब्धि केही पनि नभएकोमा स्थानीयको गुनासो छ । ‘हेलिकोप्टर चढेर ठूलाबडाहरू आउँछन् तर बजेट बढाउनुको सट्टा घटाइएको छ, सडक निर्माण सुस्त छ’ छाङरुका स्थानीय योगेशसिंह बोहराले भन्नुभयो ।
मन्त्रीसहितको टोलीलाई बुधवार छाङरुका ६ जना स्थानीयले सामुहिक रुपमा पैदलबाटो र सडकको अभावबारे गुनासो गरेका छन् । चिसो बढ्दै गएपछि व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँका अधिकांश स्थानीयवासी सदरमुकाम खलंगामा बसाइँ सरिसकेका छन् । हेलिकोप्टरमार्फत टिंकर सडक अनुगमनमा आएको टोलीलाई सदरमुकाम खलंगा झर्न बाँकी ६ जना स्थानीयले सामुहिक रुपमा भेटेका हुन् । दुबै गाउँका अधिकांश स्थानीय सदरमुकाम खलंगामा झरिसकेकाले सिमित मान्छेसंग मात्रै निरीक्षण टोलीको भेटघाट भएको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङरुका स्थानीयले सडक निर्माण हुन्छ भन्ने आश मर्दै गएको बताएका छन् । ‘सडक निर्माण हुन्छ भन्ने आश नै मर्न थालेको छ, व्यास जोड्ने पैदल बाटो सञ्चालनमा ल्याउन सके पनि ठूलो उपलब्धि हुनेछ भन्दै तत्काल पैदलबाटो खुलाउन आग्रह गरेका छौं,’ निरीक्षण टोलीसँग छलफलमा सहभागी अर्का स्थानीय जगतसिंह ऐतवालले बताउनुभयो ।
धेरैपटक धेरै अधिकारीले टिंकर सडक र व्यासक्षेत्रको भ्रमण गरे पनि पैदलबाटो र टिंकर सडक निर्माणमा कुनै आशलाग्दो काम हुन नसकेको व्यास गाउँपालिका अध्यक्ष मंगलसंह धामीको भनाइ छ । ‘भ्रमण गर्ने सबैले प्राथमिकतासाथ बजेट छुट्याउछौं, सडक निर्माणलाई तीव्रता दिन्छौं भन्छन् तर कसैले पनि भनेअनुसारको काम गरेका छैनन्’, उहाँले भन्नुभयो ।
पटक–पटकको हेलिकोप्टर भ्रमणको खर्च पैदलबाटो निर्माणमा लगाएर छ महिनाभित्र व्यासको बाटो खुलाउन छाङरुका स्थानीयले आग्रह गरेका छन् । ‘अबदेखि हेलिकोप्टरबाट अनुगमन भ्रमणमा नआउन भनेका छौं, अनुगमन गर्ने भए हिँडेर व्यासक्षेत्र पुग्न आग्रह गरेका छौं,’ स्थानीयवासी योगेशसिंह बोहराले भन्नुभयो । आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि टिंकर सडकको वस्तुस्थिति बुझ्न भ्रमण गर्नुपरेको भौतिक योजना मन्त्री देवेन्द्र दाहालले बताएका छन् । ‘मन्त्रीको जिम्मेवारी पाएपछि वस्तुस्थिति बुझेर टिंकर सडक निर्माणमा गति दिनलाई भ्रमण गरेको हुँ, मन्त्रीको जिम्मेवारी सकिएपछि हिँडेर पनि ब्यास आउँला’ स्थानीयको आक्रोशलाई मत्थर पार्दै भौतिक योजनामन्त्री दाहालले भनेका थिए ।
सरकार परिवर्तन र विभागीय मन्त्रीहरूको जिम्मेवारी हेरफेर भएकाले गतवर्षको भ्रमण उपलब्धिमूलक हुन नसकेको दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूको भनाइ छ । यसपटकको भ्रमणले भने टिंकर सडक निर्माणलाई गति मिल्ने उनको दाबी छ ।
सरकारले चालु वर्षमा सडक निर्माणका लागि नेपाली सेनालाई साढे ८ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । पर्याप्त बजेट विनियोजन हुन नसकेको र सुस्तगतिमा सडक निर्माण भइरहेको भन्दै जिल्लाका नेता र सरोकारवालाले सरकारसँग थप बजेटको माग गर्दै आएका छन् । व्यास गाउँपालिका–१ छाङरुमा सेनाको क्याम्प स्थापना गरेर हेलिकोप्टरमार्फत स्काभेटर मेसिन ढुवानी गर्न माग गरिएको छ । स्थानीयवासीको यो मागप्रति मन्त्री, सचिव र सेनाको टोलीले सहमति जनाएको सांसद बडूको भनाइ छ । सरकारले ५ वर्षभित्रै नेपाली सेनामार्फत टिंकर सडकको ट्रयाक निर्माण पूरा गर्नेगरी बजेट उपलब्ध गराउनेमा आफू आशावादी भएको उनको भनाइ छ ।
महाकाली कोरिडोरअन्तर्गत व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक सेनामार्फत निर्माण भइरहेको छ । सडक निर्माणको जिम्मेवारी पाएको सेनाले ४ वर्षको अवधिमा १३ किलोमिटर मात्रै सडकको ट्रयाक निर्माण गरेको छ । निर्माण गरिएको भनिएको १३ किलोमिटर लामो सडकमा समेत गाडी सञ्चालन हुन सकेको छैन । नेपाली सेनाले बजेट अभाव देखाउँदै सडक निर्माणमा आफ्नोतर्फबाट कुनै कमजोरी नभएको बताउँदै आएको छ ।
टिप्पणीहरू