कतिलाई थाहा, श्रीमती कसरी कुटिँदै छन्
इण्डियन बार काउन्सिलका पूर्वअध्यक्ष एउटा टेलिभिजन अन्तर्वार्तामा डाँकै छाडेर रोएको देख्दा मेरो पनि मन भक्कानियो, आँखा रसाए । भारतका चिफ जस्टिसले विवेकसम्मत निर्णय नगर्दा देश अब रोक्नै नसकिने जातीय तथा धार्मिक द्वन्द्वतर्फ अघि बढिरहेको छ । दलित, अल्पसंख्यक तथा आदिवासीहरूमाथि जुल्म थोपरिँदै छ तर यसप्रति बोल्ने, लेख्ने र संघर्ष गर्नेहरू छैनन् । मलाई मेरो चिन्ता छैन तर ती गरिब, दलित, अल्पसंख्यक, जनजातिको हालत यसरी चल्दै गयो भने के होला ? यो देखेर ठूलो चिन्ता लागिरहन्छ । मेरो परिवार मलाई नबोल्न भन्छन्, खतरा किन निम्त्याउन चाहन्छौ भन्छन् । तर म भविष्यको कहालीलाग्दो अवस्थाको अनुमान गर्दा चुप लागेर बस्न सक्दिनँ । अरु पनि समय नघर्किँदै बोल्न, लेख्न, संघर्ष गर्न सडकमा आउनुपर्छ भनेर उनी अन्तर्वार्तामा भनिरहेका थिए । अन्तिममा करन थापरले बि सेफ भनेर बिट मारे । यस्तो किन भनेको होला अनुमान गर्न सकिन्छ ।
हाम्रोमा यस्तै अवस्था बनिसकेको छ भनेर भन्न खोजेको होइन तर देशमा जे–जस्तो अवस्था छ त्यसले शुभ संकेत अवश्य देखाएको छैन । गाउँघरमा जीवन कति कष्टकर छ भनेर थाहा पाउने एउटा घटना बताउँछु । केही समय पहिले कार्यकक्षमा बसिरहेको थिएँ । एक जना मजदुर महिला भेट्न आउनुभयो, भेट्नेबित्तिकै रुनुभयो । म अलिकति अलमलमा परेँ । सोधेँ– किन, के भयो र रोएको ? मलाई गाउँका लगभग सबैले मामा भनेर संबोधन गर्छन् । उहाँले पनि त्यही संबोधन गर्दै भन्नुभयो– ‘मलाई बूढाले धेरै पिट्छन्, दिनदिनैजसो पिट्छन्, सम्झाइदिनुपर्यो ।’ किन पिट्छन् त त्यसरी ? केही गल्ती कमजोरी भयो कि ? हुन त कुटपिट गर्नै हुन्न तर लोग्ने–स्वास्नीको झगडा परालको आगो भन्छन्, मैले यही कुरा भनें । त्यस्तो केही पनि असमझदारी छैन हामीमा, सबै ठीकठाक छ ।
कुरा के हो भने मैले खाना खान दिन नसकेका कारण उनले मलाई पिट्छन् । उनको कमाइ छैन, मेरो पनि छैन । जे–जति छ त्यसले भनेजस्तो खान पुग्दैन । त्यसमाथि महँगी यस्तो छ कि किनेर खाने क्षमता नै छैन, पुग्दै पुग्दैन । महँगी छ, आम्दानी छैन, घरमा खाना पाक्दैन अनि लोग्नेले श्रीमती कुट्छ । महँगाइ र बेरोजगारीले निम्त्याएको यस प्रकारको हिंसाप्रति राज्यलाई जानकारी नै छैन । यस्तो कुरा देशको शासनसत्तामा बसेकाहरूलाई थाहा हुनुपर्छ । देशको सबैभन्दा ठूलो मान्छेले कहिल्यै मागेर खानु पर्दैन, कोही अनाथ हुनुपर्ने छैन, कोही भोकै बस्नुपर्ने छैन, सबैलाई रोग नलाग्ने बनाइनेछ भनेको सुनिन्छ । तर, के हामी बसेको समाजमा यस्तो कुरा ब्याप्त छ भन्ने कुराको हेक्का छ त ? अनेकौँ लफ्फाजी गर्नु भन्दा बरु आफूले भनेको एउटै कुरालाई निश्कर्षमा पुर्याएमा राम्रो हुने थियो ।
गरिब जनता मात्रै होइन घरव्यवहार ठीकठीकै चलिरहेकाहरू पनि अत्यन्तै ठूलो आर्थिक समस्याबाट गुज्रिरहेका छन् । राज्यको अनुमतिमा सञ्चालित सहकारीले सबैभन्दा धेरै यिनै कमजोर आर्थिक अवस्था भएका नागरिकलाई बिचल्लीमा पारेका छन् । जनतालाई कुुन सहकारीबाट कसले कति ठग्यो भन्ने प्रश्न महत्वपूर्ण होइन । देशभरि कसरी ठगी गर्न सक्ने गरी सहकारी सञ्चालनमा रहन सके अथवा सञ्चालन हुन दियो राज्यले यो ठूलो प्रश्न हो । राज्य यस्तो निकम्मा हुन सक्छ भनेर कल्पनासम्म पनि गर्न सकिन्न । लाजशरम नमानी सत्ताधारीहरू छानबिन समिति बनाएर नाटक गरिरहेका छन् । तिनमा अझै सहकारीमा रहेको वा राखिने जनताको बचतलाई यसरी नै असुरक्षित रहने वातावरण बनिरहन दिनुहुन्न, यसप्रकारका ठगी हुनबाट रोक्नुपर्छ भनेर ऐन कानुन बनाउने, नियमन गर्ने निकायलाई बलियो बनाउने भन्ने चेत आएको देखिन्न । बरु ठगलाई नै बचाउने काम गरेको पाइन्छ । ठग भनिएकाहरूलाई अड्डासार गरेर मात्रै यो ठगी कार्य रोकिनेवाला छैन । मीटरब्याजीले गरिबको उठिबास लगाएका घटना दुखान्त नाटक हेरेजस्ता लाग्छन्, आँखै रसाउने । फगत अदालती आँखाबाट हेरेर, अदालतको जिम्मा लाइदिएर यो मध्ययुगीन शोषण र ठगी अन्त्य हुनेवाला छैन । तर, सत्ताधारीलाई यसको मतलब छैन ।
सत्तामा बस्ने भनेको राज गर्नका निम्ति मात्रै होइन । हर्क साम्पाङले एकदम ठीक भने, कीर्तिपुरमा उभिएर । सत्तामा बस्नेहरूलाई धनी हुने, धन कमाउने, मोजमस्ती गर्ने छुट हुँदैन । तिनको काम जनतालाई धनी बनाउने हो, जनतालाई धन कमाउने वातावरण बनाउने हो र जनतालाई खुशी बनाउने हो । तर, हामी देखिरहेका छौं कि ६ महिना मन्त्री के बन्छ ऊ एउटा क्लासमा रुपान्तरण भइहाल्छ । उसको घर बन्छ, गाडी पनि आउँछ र राजधानीमा बसाइँ सर्छ । अहिले ठुल्ठूला रकम इधरउधर भएको हल्ला छ । सरकारी जग्गा साँटफेरका कुरा छन् । ब्यापारी र सत्ताको कस्तो नेक्सस रहेछ भन्ने पनि छर्लंग भएको छ । राजनीति यसरी थेत्तरो बनिरहेको छ कि आम मानिसमा निराशामात्रेै देखिन्छ । मान्छेले घडी र चश्माका कुरा यत्तिकै गरिरहेका छैनन् । तर जनता केही गर्नसक्ने अवस्थामा छैन । देशको परिस्थिति देखेर तिनै दुश्यन्त दबे जस्तै भक्कानिएर रुनेबाहेक अर्को विकल्प पनि छैन । देशको उद्योग बेचेर युवालाई विदेश जान पासपोर्ट हातमा दिई ठूलो काम गरेको दावा गर्नेहरू, स्वयं सत्तामा छन् त्यहाँ बसेर जनताको निम्ति, युवाको निम्ति माखो नमार्ने तर चुनावमा भोट लिन ल्यापटपबाटै चार लाख कमाउने ललिपप बाँड्नेहरू देख्दा दिक्दार लाग्छ ।
अन्तिम हरफ,
मरेपछि सबै राजा । खासमा अहिलेको सत्ताधारी समूहलाई इतिहासप्रति कुनै डर नै छैन । एउटा कुरा ठोकेर भन्न सकिन्छ, सत्ताबाट हटेको केही दिनमै यिनीहरूलाई जनताले बिर्सिनेछन् । हामी सबैलाई पनि हाइसञ्चो हुनेछ । सम्झना गरिरहनुपर्ने आवश्यकता रहनेछैन । तर, चिन्ता यिनको नाकामीको भर्याङ चढेर अझै तन्नम अवस्था आउने हो कि भन्ने छ ।
टिप्पणीहरू