फेसबुकमा पटक पटक किन केरमेट गरेको प्रधानमन्त्रीज्यू !
गाउँमा शायद पहिरो गयो कि
हररात सपनीमा ऐंठन हुन्छ ।
– विप्लव प्रतीक
यो गीतका सम्बन्धमा अलिक पछि चर्चा गरौंला । यहाँ शुरु गरिएको विषयसँग यो गीतको भाव र सन्देशको सम्बन्ध छैन ।
‘देख्नेका आँखा फुटे, सुन्नेका सही’ यो नेपाली जनबोली सदियौं पुरानो हो यध्यपि कहिलेदेखि कहावत शुरू भयो यकिन छैन । एक शताब्दी पनि नपुगेको यस्तै अर्को उदाहरण आधुनिक सूचना–सञ्चार जगतमा चर्चित छ– गोएबल्स शैली । जोसेफ गोएबल्स सन् १९३३–४५ ताका क्रुर शासक हिटलरका सूचना अर्थात् ‘प्रोपोगण्डा मिनिष्टर’ थिए । सयपटक दोहो¥याएपछि कुनैपनि झुठो कुरा साँचोजस्तो लाग्न सक्छ, गोएबल्सको मत यही थियो ।
सूचना प्रविधिको विकासका गतिले मान्छेको मनले सोच्दै नसोचेको विषय र वस्तुको बारेमा जानकारी दिन थालेको छ । ‘हो कि होइन’ के हो भन्ने कुराको बारेमा विवेकपूर्ण तरिकाले सोच्न नसक्ने सूचनाका बाढीहरूले मानिसको मन–मष्तिष्कलाई एकोहोर्याएर दिग्भ्रमित बनाउन थालेको छ । यसका उदाहरण हुन्– सामाजिक सञ्जालका नाममा फैलिएका अनेकन माध्यम – सोसल मिडिया प्लेटफर्मस् । यस जालोले नछोएको विश्वका कुनै कुनाको मानिस बाँकी नहोला अब !
यो सन्दर्भ लेख्दै गर्दाको विषय थियो, सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार पद–प्रतिष्ठामा रहेका व्यक्तित्वहरूबाट भएका पदीय जिम्मवारी निर्वाह गर्नेभन्दा जिम्मेवारीबाट पन्छिने किसिमका अभिव्यक्ति किन सार्वजनिक हुन्छन् ? उदाहरणमा हुनुहुन्थ्यो – वर्तमान शिक्षा मन्त्री विद्या भट्टराई र गोविन्दराज पोखरेल । पोखरेल राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पूर्व प्रमुखका साथै वर्तमान समयमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यका अतिरिक्त अन्य कुनै समितिहरूको सल्लाहकार वा सदस्य, पार्टी घोषणा पत्र मस्यौदा समिति आदिमा सहभागी । उहाँहरूले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएका २ वटा सन्दर्भ यस्ता छन्–
विद्या भट्टराई, शिक्षा मन्त्री
‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीमाथि हमला गर्न खोजेको र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्दछु । अगष्ट २०, २०२४ / ‘एक्स’ ।
यसमा प्रतिक्रिया दिनेहरूले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर आफ्नै मन्त्रिपरिषदको सदस्यलाई समन्वय गरी समस्या समाधान गर्न नसक्ने अनि यसरी लेखेर समस्या समाधान हुन्छ ? यो त ठाडै जिम्मेवारीबाट पन्छिने बहाना हो भनेर प्रतिक्रिया आएपछि सोहीदिन उहाँले दोहो¥याउनुभएको छ– ‘यहाँहरूले मलाई सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो । कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।’
गोविन्दराज पोखरेल, नेता, नेपाली कांग्रेस
‘हाम्रो कोही छैन चमेली, सरूमारानी प्युठानका भाइले ८ महिना अरबमा बसेर १ औंठीसमेत जोड्दा ५४ ग्राम (केजी होइन) सुन र एउटा आइफोन– १५ ल्याएछन् । भदौ २५ गते भन्सार बाहिर पक्रिएर गौशाला चौकीमा १८ दिन पाहुना भए, अहिले ७ लाखभन्दा धेरै धरौटी तिर्न नसकेर प्युठान कारागारमा पाहुना भा’छन् – स्रोतः उनको परिवार ।’ सेप्टेम्बर ४, २०२४ / एक्स ।
नेता पोखरेलको यो ‘स्टाटस’का का बारेमा आएको प्रतिक्रियाको सार हो– सरकारको नेतृत्वमा रहेको पार्टी नेताले यसरी सामाजिक सञ्जालमा लेखेर चैं हुन्छ के ? अन्यायमा परेको हो भने सम्बन्धित पक्षमा पहुँच हुनेले सहयोग गरेर छुटाउनु प¥यो । होइन कुनै अन्यथा परेको भए सस्तो लोकपृयताका लागि राजनीति गर्नु भएन । नेपाली सामाजिक जीवनका विभिन्न गतिविधिबारे विचार प्रकट गर्ने परिचित व्यक्तित्व हुनुहुन्छ – जैनेन्द्र जीवन । जीवनले नेता पोखरेलको उक्त ‘स्टाटस’का बारेमा लेख्नुभएको छ – ‘यस्तोमा स्वविवेककको स्थान र प्रयोग हुनुपर्ने हो । अफसोच, यस्ता साना र सर्वसाधारणलाई त्यो स्वविवेक उपलब्ध हुँदैन; अख्तियार लाग्ने डर । वास्तविकता र बहाना दुवै हुन सक्छन् । ठूलालाई करुणा उपलब्ध भैरहन्छ हाम्रो नेपालमा !’
पूर्वमन्त्रीसमेत रहनुभएका दीपक ज्ञवालीले पोखरेलको स्टाटसमा लेख्नुभएको छ– ‘के अर्थ रह्यो त नेपालमा गणतन्त्रको ! यसरी सोझा, निमुखा, आफ्नो परिश्रममा भर पर्ने, नेपालमा केही गरौंभन्दा अवसर नपाउने सर्वसाधारणले दुःख गरेर विदेशबाट ल्याएको थोरै आम्दानीमा सरकारको यो हर्कत र रवैया !’
यी २ वटा उदाहरण नै यहाँ किन ? कारण हो– राज्य र राज्यका निकायहरूलाई नेता र मन्त्रीहरूले अविश्वसनीय र कमजोर बनाइरहेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर जिम्मेवारीबाट पन्छिने वा राज्यका निकाय निकम्मा छन्, विभेदकारी छन् भनी सर्वसाधारणलाई दिने सन्देश कसका लागि लागि हो ? यस मामलामा पार्टीका नेताहरू, मन्त्रीहरू मात्र नभएर प्रधानमन्त्री पनि सामेल हुन थाल्नुभएको छ । यी पंक्ति लेख्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा ४ पटक करेक्सन गरेर सार्वजनिक गर्नुभएको एउटा सूचना पूर्ण नभएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
ओलीले संयुक्त राष्ट्रसंघको ७९ महासभामा भाग लिन अमेरिकामा भएको बेला नेपालमा वर्षाका कारण बाढी–पहिरोले गरेको धनजनको क्षतिबारे फेसबुकमा लेख्नुभएको थियो– ‘नेपालमा झरी पर्दायता मनमा पहिरो गएजस्तो भइरहेको छ ।’ उहाँले थप यो पनि लेख्नुभएको थियो – भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनुभएका सबैले सुरक्षा सतर्कता अपनाउनुहोला, अत्यावश्यकबाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला । सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरू आपतकालीन मद्दतका लागि तयारी अवस्थामा रहनुहोला ।
यसबाहेक ओलीले लेख्न सक्ने र गर्नुपर्ने के थियो ? हुनुपर्ने के थियो भने ‘भेल, बाढी र पहिरोको जोखिम’ बढेको बेला सतर्कता अपनाउन राज्यका निकायलाई पनि परिचालित गर्ने । जोखिम क्षेत्रका राजमार्ग र अन्य सडकमा सवारी साधन चलाउन रोक लगाउने ! जोखिमयुक्त पहिचान भएकै ठाउँमा मात्र त्यो जोखिम आउँछ कि पहिचान नभएका ठाउँ पनि जोखिमयुक्त हुन सक्छन् ? प्रम ओलीको यो प्रश्न स्वभाविक थियो । तर विश्वका सबैजसो नेता ४ दिनमा आ–आफ्ना देश फर्किसक्दा उहाँले यस्तो विपत्को पूर्व सूचना र घटना भइसक्दा पनि ८ दिन पनि होइन १२ दिन किन अमेरिकामा बिताउनुभयो ? प्रश्न धेरैको थियो । अमेरिकामा २० वर्षदेखि जो बसेको छ, उसैले यो प्रश्न गर्न मिल्छ कि मिल्दैन त्यो पनि १२ दिन होइन
११ दिन मात्र बसेको प्रधानमन्त्रीलाई ?
सामाजिक सञ्जालका अभिव्यक्तिबारे उठाउन खोजेको प्रश्न यति मात्र थियो । तर थपियो प्रम ओलीको ‘स्टाटस’ जो ४ पटक सच्याउँदा पनि सही हुन सकेन । उहाँको यही असोज २० गतेको फेसबुक स्टाटसबारे प्रकाशित समाचारको शीर्षक हो– प्रधानमन्त्रीको फेसबुकमा बेलिब्रिज बन्यो, हेंवा खोलामा फड्के मात्रै ।
१) बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने बिपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान शुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।
२) बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने बिपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान शुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।
नोट – पहिलो पटक ‘बेलिब्रिज मर्मत गरी’ लेखिएकोमा दोस्रो पटक ‘पुल मर्मत गरी’ बनाइएको छ ।
३) बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने बीपि तथा सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान शुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद !
नोट – तेस्रोपटकमा ‘मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने’ लाई हटाइएर दुवै ठाउँमा ‘बेलिब्रिज जडान शुरु भएको छ ।’ राखिएको छ ।
४) बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फट्के बिछ्याउने काम सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान शुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद !
नोट – चौथोपटक भने राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा तेस्रो पटक उल्लेख ‘बेलिब्रिज जडान शुरु भएको छ ।’ लाई हटाएर ‘फट्के बिछ्याउने काम’ कायम गरिएको छ ।
समाजमा भएका थिति–बेथितिबारे त लेख्ने–बोल्ने लेखक, पत्रकार कवि, कलाकारले नै हो । तिनले राम्रो नराम्रो दुवैको सूचना पनि दिन्छन् । मनका दुःख सुख, समाजका हुन् वा सरकारका राम्रा नराम्रोको टिप्पणी गर्छन् । तर सूचना प्रविधिको विकासलाई हातमा लिएर लेखक, पत्रकार, कवि कलाकार आदि सबैको कामसहित नेताहरू वा राज्यका नीति निर्माण र कार्यान्वयन गर्न पर्ने जिम्मेवारीमा बसेका व्यक्तित्वहरूबाट त्यस्ता प्रश्न आउन थालेपछि हुने भनेकै त्यही हो– भ्रम र अविश्वास । जिम्मेवारी र पदीय दायित्व निर्वाह गर्नुको बदला सस्तो लोकपृयताका लागि नेताहरूबाट सामाजिक सञ्जालमा जनमानसमा भ्रम र राज्यका निकायलाई अविश्वसनीय तथा कमजोर साबित गर्ने प्रयास बन्द गरौं ।
अन्त्यमा यो पनि, प्रश्न उठ्न थालेको छ– चर्चित कवि श्रवण मुकारुङ्को चर्चित कविता ‘बिसे नगर्चीको बयान’मा किन बहुलायो बिसे नगर्ची ? बहुलाउनुपर्ने त अरु तिनीहरू हुन् जो सत्ताको स्वादले मातिएका छन् ! सत्ताको बागडोरले अन्धा वा बहिरा भएका छन् ! यी सन्दर्भहरूको ऐन मौकामा चर्चा गरौंला ।
(साभार: जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू