नेपाली मिडियासँग नबोल्ने बालेन सर ?

नेपाली मिडियासँग नबोल्ने बालेन सर ?

यही अखबारका पानामा विराट अनुपमको नामबाट काठमाडौं महानगरका मेयर बालेन्द्र साह अर्थात् चलचल्तिको नाम बालेनबारे आएका लेखहरु हेर्दा सकारात्मक छनकहरु मात्रै छन् । चाहे चुनावमा उम्मेदवार बन्दै गर्दा होस् वा चुनाव जितेपछिका सवालमा होस्, सबै आशाका कुरामा लेखका अक्षर लत्पतिएका थिए । यो लेख अलि फरक छ । यसमा निराशाका कुराहरु छन् । बालेन्द्र साहबाट जुन आशा गरिएको थियो, त्यो सोचेजस्तो नभएकोले यहाँ त्यो सवालको चर्चा गरिन्छ । चर्चाको सवाल मिडिया र मेयरको हो । 

बालेन्द्र साहले मेयर हुनुअगाडि र भएपछि देखाएको नेपाली मिडियाका गुनासोसम्बन्धी लेख हो यो । चुनावी मैदानमा स्वतन्त्र उठ्दा बालेन्द्रले मिडियालाई धेरै माया गरे । युट्युबरदेखि मूलधारका विभिन्न मिडियामा अन्तर्वार्ता दिए । त्यसका क्लिप्सहरु अहिले पनि यत्रतत्र अनलाइन डोमेनमा छन् । उनले हिमालय टिभीको प्राइम टाइममा राजेन्द्र बानियाँदेखि हाट्टहुट्ट कन्टेन्टहरु बनाइरहेका केही झिल्के युट्युबरहरुलाई पनि अन्तरवार्ता दिन भ्याए । कैयौं बुम एकै लहरमा राखेर युट्यबुरले गर्ने खालका होलसेल अन्तरवार्तामा पनि उनी देखिए ।

यहाँ मूलधारका टिभीलाई अन्तर्वार्ता दिनु राम्रो वा युट्युबरलाई नदिनु भन्ने अर्थ होइन । दिनु राम्रो हो । दुवैका दर्शक छन् । स्रोता छन् । तर, चुनाव जित्नुअगाडि सबै खाले प्रश्नहरु सामना गर्ने बालेन्द्र अहिले नेपाली मिडियामा बोल्दैनन् । विदेशी मिडियामा बोल्छन् । आफूलाई झोंक चलेको कुरा सामाजिक सञ्जालमा पोख्छन् । कहिलेकाहीं एमाले गाइजले रिपोर्ट गरेर उनका पोष्ट हटाउँछन् त कहिले सिंहदरबार जलाउँछु भन्ने अराजक उत्तेजक पोस्ट उनी आफैं सुटुक्क हटाउँछन् ।

बरु एमाले गाइजले हटाएर पोस्ट राख्दै फेसबुकले माफ माग्छ । आफूले सिंहदरबार जलाउँछु भन्दै लेखिएको पोस्टमा बालेन्द्र माफ माग्दैनन् । प्रश्न गर्ने हुुँदाको युगमा उनले सबै मिडियाको प्रश्न सामना गरे । उत्तर दिने युगमा र कुर्सीमा हुँदा छानेर मात्रै अन्तरर्वार्ता दिन्छन् । जस्तोः भारतीय मिडियालाई दिए, न्यूयोर्क टाइम्सलाई दिए । ब्राजिलको विश्वका केही मुख्य महानगरहरुको मञ्चले चलाउने युट्युब च्यानललाई पनि दिए । तर, न कुनै अखबार, न कुनै टेलिभिजिन, न कुनै अनलाइन कुनै पनि नेपाली मिडियालाई अन्तरवार्ता दिएका छैनन् ।

गरिबको चमेली भन्दै गीत गाएर किन सडक किनारमा व्यापार गर्ने गरिब कुटेको भन्ने प्रश्न आउला भन्ने डरले हो वा किन बालेन्द्रकै महानगरको बेरुजू धेरै भन्ने प्रश्न आउलान् भनेर हो, उनी नेपाली मिडिया फेस गर्दैनन् । आफूलाई लागेको कुराको वान वे दिन्छन् । झोंक पोख्छन् । धेरै विवाद आए डिलिट हान्छन् । अमेरिकाका अराजक भनिएका र मिडियालाइ गाली गर्ने डोनाल्ड ट्रम्प त पत्रकार फेस गर्छन् । प्रश्न फेस गर्छन् । उत्तर दिन्छन् । बालेन्द्र साह त्यसो गर्दैनन् । वा उनलाई गर्नु नै छैन । पत्रकार सम्मेलन पनि गर्दैनन् ।

गरिबको चमेली भन्दै गीत गाएर किन सडक किनारमा व्यापार गर्ने गरिब कुटेको भन्ने प्रश्न आउला भन्ने डरले हो वा किन बालेन्द्रकै महानगरको बेरुजू धेरै भन्ने प्रश्न आउलान् भनेर हो, उनी नेपाली मिडिया फेस गर्दैनन् । 

उनलाई आलोचनात्मक प्रश्न मन पर्दैन । चुनावमा माहोल बनाउन, वा चुनावी मुद्धा बलियो बनाउन नेपाली मिडिया राम्रोसँग प्रयोग गरे । तर, अहिले जनताका प्रश्नहरु लिन सार्वजनिक सुनुवाइमा सक्रिय हुँदैनन् । प्रश्न लिँदैनन् । पत्रकार सम्मेलन गर्दैनन् । भारतका मोदी र चीनका सिले जस्तै पत्रकारहरुको प्रश्न फेस गर्न बालेनलाई मन पर्दैन । विदेशीको हकमा भने थोरै सकरात्मक छन् । त्यही भएर भारतीय, अमेरिकी र ब्राजिल आदि क्षेत्रका मिडियामा बोले । एक कोणमा बालेन्द्रले नेपाली मिडियालाई बाल दिएका छैनन् ।

यो नेपाली मिडियासँग झोंक चलेकाहरुलाई त ठीकै गर्‍यो भन्ने होला । तर, लोकतन्त्रलाई भने घाटा हो । आज ओली, प्रचण्ड र माधव नेपालहरु पनि पत्रकार सम्मेलन गर्छन् । मिडियामा अन्तर्वार्ता दिन्छन् । सार्वजनिक सरोकारका मुद्धामा प्रश्नअगाडि उभिन्छन् । प्रश्नहरु उनीहरुका प्रिय नहुँदा पनि फेस गर्छन् । पाका पुस्ताका नेता तहको काम पनि बालेन्द्रले गरेनन् । उनी प्रश्नबाट भागिरहेका छन् । पत्रकारहरुबाट भागिरहेका छन् । आफूलाई लागेको कुरा मात्रै सामाजिक सञ्जालमा हालेर हल्ला गर्ने उनी पत्रकारलाई लागेको कुरा सुन्न तयार छैनन् । सार्वजनिक सुनुवाइका अगाडि उभिएर जनतालाई, फुटपाथ व्यवसायीलाई वा सुकुम्बासीलाई लागेका कुरा सुन्न तयार छैनन् । उनी त रियल र फेक दुवै सुकुम्बासीलाई एकै डालोमा हालेर दानवत्व गर्न सक्रिय छन् ।

झोंक चलेको सवालमा मिडियालाई चाहे १२ भाइ भनेर तेजबोध गरौं वा दलाल तस्कर जे भनौं लोकतन्त्रको सूचना क्षेत्रमा मिडिया नै हो आडभरोसा । आफूलाई मन नपरेको मान्छेको खराबी मिडियामा आउँदा वाह भन्नेहरु आफ्नो पक्षको मान्छेको खराबी आउँदा १२ भाइ, दलाल, तस्कर र माफिया भन्न भ्याइहाल्छन् । एक समयमा अनफलो गरेको अभियान चलाउनले फेरि कुनै खास समयमा त्यही पेज फलो गरेर सूचना लिइरहेका हुन्छन् । यत्ति हो सूचना आएपछि त्यसको ग्रहण आफ्नो आफ्नो तरिकाले हुन्छ । भइरहेको छ । तर, सूचनाकै बाटो बन्द गर्नेगरी बालेन्द्रले प्रश्नहरूबाट भागेर आफ्नो सोख त पुरा गरे । तर, लोकतन्त्रको आधारलाई बेवास्ता गरे ।

आधुनिक युगको युवाले आलोचनात्मक प्रश्नहर फेस गर्ने वैश्विक राजनीतिक परम्पराबाट भागे । उनी त लोकतान्त्रिकभन्दा अधिनायकवादी जस्ता देखिए । उनका प्रहरीले हानेको लाठीले घाइते मजदुर, साना व्यापारी र सुकुम्बासीहरुको दृष्य मात्रै लोकतन्त्रको हनन होइन । उनले प्रश्न र पत्रकारहरु खासगरी नेपाली आलोचनात्मक पत्रकारहबाट भाग्नु पनि लोकतन्त्रको हनन नै हो । एक नेपाली पत्रकारको रुपमा सिधा विनम्र आग्रह छ– मेयर बालेन्द्र साहज्यू, अब नेपाली मिडियालाई पनि अन्तर्वार्ता दिनुपर्‍यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू