सरकार टिक्ने साह्रै गजबको सूत्र

सरकार टिक्ने साह्रै गजबको सूत्र
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनिदिन हप्ताको एक पटक खबर पठाउने गरेको कांग्रेस महामन्त्री गगन थापाको दाबीले अघिल्लो साता राष्ट्रिय राजनीति तरङ्गित भयो ।

कीर्तिपुरको चुनावी सभामा उनले कांग्रेस–एमाले समीकरण टुटाउन प्रचण्डले आफ्ना सभापतिलाई प्रधानमन्त्री अफर गरेको बताएका थिए । सत्ता परिवर्तनका भित्री खेलहरु सामान्यतयाः नेताहरुले सार्वजनिक मञ्चबाट खुलासा गर्दैनन् । हस्ताक्षर गर्नुअघिसम्म पनि सकभर लुकाउने प्रयास गरिन्छ । असार १७ गते मध्यराति सहमति पत्रमा हस्ताक्षर गरेर

भोलिपल्ट बिहानै बालुवाटार पुगेका केपी ओलीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई ‘थाङ्गनामा सुताएको’ धेरै पुरानो घटना होइन । तर, देशकै सबैभन्दा ठूलो पार्टीका शक्तिशाली महामन्त्रीले सार्वजनिकरुपमै सरकार ढाल्न भित्री खेल भैरहेको खुलासा गरेपछि अनेक आशंका भैरहेको छ । यसलाई कतिपयले सत्ता समीकरणको भविष्यप्रति कांग्रेस–एमालेकै नेताहरु विश्वस्त नरहेको अर्थमा समेत बुझेका छन् । 

अर्को महत्वपूर्ण कुराचाहिँ गगनको अभिव्यक्ति यस्तो बेला प्रकट भयो, जतिबेला चिनियाँ परियोजना बिआरआई सम्झौतालाई लिएर कांग्रेस र एमालेबीच मतभेद चर्किंदै थियो । कतिपयले प्रधानमन्त्री ओलीको चीन भ्रमणअगावै गठबन्धन भत्किन सक्नेसम्मको आशंका गरिरहेका थिए । के प्रधानमन्त्रीलाई दबाबमा राखेर बिआरआइमा आफू अनुकूल गराउन गगनले योजनावद्ध रुपमा बोलेका हुन् ? अथवा चुनावी सभामा कार्यकर्ता हौस्याउनकै लागि हावादारी कुरा गरेका हुन् ? प्रश्न उठिरहँदा प्रचण्ड र माओवादी नेताहरुले ‘एमालेलाई दवाबमा राख्न’ झुठ बोलेको जवाफ फर्काएको र शेरबहादुर देउवाको सचिवालयले समेत खण्डन गरेकाले गगनको दाबीमा धेरै दम देखिंदैन । 

यदि यसलाई काँग्रेसको संस्थागत धारणा मान्ने हो भने सरकार ढाल्ने खेलमा माओवादीसँग छलफलमा रहेको सोझो अर्थ लाग्छ । त्यसकारण यसबारे प्रष्ट पार्नुपर्ने जिम्मेवारी काँग्रेसकै हो । तर, एउटा प्रश्न भने उब्जिन्छ के गगन–विश्वप्रकाशहरुको रुचिअनुसार निर्णय हुने अवस्था कांग्रेसभित्र छ ? कांग्रेसको आन्तरिक राजनीतिलाई नजिकबाट बुझेकाहरु भन्छन्– सत्ता समीकरणको साँचो गगन–विश्वसँग हैन डा. आरजु राणा देउवाको हातमा छ । विधानले नै दुई कार्यकालभन्दा बढी यौटै व्यक्ति सभापति हुन नपाउने व्यवस्था गरेकाले १५ औँ महाधिवेशनपछि देउवा काँग्रेसको नेतृत्वबाट बिदा हुने निश्चित छ । र, सबैले बुझेकै कुरा हो उनी पत्नी आरजुलाई नेतृत्वको लागि तयार बनाउँदै छन् । त्यसनिम्ति पार्टीभित्र र बाहिर उनको स्वीकार्यता बढाउँदै लैजाने रणनीति देउवाको छ । एमालेसँग सत्ता सहकार्यको सहमति हुँदै गर्दा पहिलो कार्यकाल प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर आरजुलाई परराष्ट्रमन्त्री बनाउनु त्यही रणनीतिको एउटा पक्ष हो भन्छन् जानकारहरु । त्यसैले अहिलेको गठबन्धनलाई आरजुले कम्फरटेबल मान्दासम्म काँग्रेसका कुनै नेताले चाहँदैमा सरकार नढल्ने उनीहरुको बुझाई छ ।      

नागरिकतामा ७८ वर्षमात्रै भए पनि देउवा उमेरले ८० कटिसकेका छन् । बुढ्यौलीका कारण थला पर्दै गएका उनलाई निजी जीवनमा मात्र हैन राजनीतिमा पनि क्रमशः पत्नीमा निर्भर हुनुपर्ने बाध्यता छ । ज्योतिषले सात पटक प्रधानमन्त्री हुने योग देखाएकाले ओलीपछि आफू प्रधानमन्त्री हुनेमा ढुक्क रहेका देउवाको योजना छ– यो अवधिमा आरजुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित गर्ने । त्यसनिम्ति शक्तिशाली परराष्ट्रमन्त्री बनाइएकी उनले दक्षिण र पश्चिममा राम्रै प्रभाव बनाएकी छन् । प्रधानमन्त्री ओलीको भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र दिल्ली भ्रमणको निम्तो मिलाउन देखिनेगरी प्रयास गरिन् । युएन महासभामा ओलीलाई मोदीसँग भेटवार्ता गराउनमा पनि आरजुको भूमिका रह्यो । प्रकाशमान सिंहले कांग्रेसबाट क्याबिनेटमा नेतृत्व गरिरहे पनि ‘डिफ्याक्टो’ आरजु नै हुन् ।

अर्कोतर्फ अहिले समीकरण तोडियो भने देउवा प्रधानमन्त्री हुन्छन् । त्यसो हुँदा यौटै क्याबिनेटमा श्रीमान्–श्रीमती बस्न मिलेन । जबकि यही मन्त्रिपरिषद्मा काम गरेर थप परिपक्व हुँदै जाने र आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिको दावेदारका रुपमा प्रस्तुत गर्ने आरजुको योजना छ । त्यसकारण पनि देउवा दम्पत्ति अहिलेको गठबन्धन तोड्ने पक्षमा नरहेको बुझिन्छ । यो सबै कुरा बुझेका प्रधानमन्त्री ओली पनि उनलाई निकट राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्तुलन मिलाउने रणनीतिमा देखिन्छन् ।

सार्वजनिकरुपमै ’पहिलो महिला प्रधानमन्त्री’ को घोषणा त्यसै गरिएको थिएन । परराष्ट्रमा १०७ जना कर्मचारीको दरबन्दी सृजना गर्न प्रधानमन्त्री ओली तयार हुनुलाई आरजु नबिचक्याउने रणनीतिका रुपमा बुझिएको छ । तर, कांग्रेसकै एउटा पक्ष भने एमाले र रास्वपाबाहेकको नयाँ समीकरण बनाउन भित्रभित्रै छलफलमा रहेको विपक्षी खेमाका एक नेताले दावी गरेका छन् । उनका अनुसार कांग्रेस ८८, माओवादी केन्द्र ३२, राप्रपा १४, एकीकृत समाजवादी १०, उपेन्द्र नेतृत्वको जसपा पाँच, लोसपा चारसहित बहुमत पुर्‍याएर प्रधानमन्त्री खान देउवालाई प्रस्ताव गरिएको छ । तर, देउवाबाट सकारात्मक जवाफ नपाएकाले थप छलफल अघि बढेको छैन । ‘यो गठबन्धनको आयु आरजु म्याडमको हातमा छ, उनले चाहे अहिले नै सरकार ढल्छ’, ती नेता भन्छन् ।

टिप्पणीहरू