स्रोतसाधन सीमित, गति बढी

स्रोतसाधन सीमित, गति बढी
सुन्नुहोस्

-आषिका लम्साल

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि कोशी प्रदेशमा स्थापना भएको मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले गति लिन थालेको छ । २०७६ असोज ६ गते प्रदेशसभाबाट स्वायत्त विधेयक पारित गरेर असोज १६ मा प्रदेश प्रमुखबाट प्रदेश ऐन प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित भएपछि सञ्चालनमा आएको विश्वविद्यालयले विभिन्न संकायमा अध्यापन गराउन थालेको छ । 

मोरङको हात्तीमुढामा २०६५ सालदेखि सञ्चालनमा रहेको मनमोहन स्मृति प्रतिष्ठानअन्तर्गतको मनमोहन प्रविधिक शिक्षालय (पोलिटेक्निक) को अर्बौंको सम्पत्ति र जनशक्ति प्रतिष्ठानले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । पछि कोशी प्रदेशका मुख्यमन्त्रीलाई कुलपति, सामाजिक विकासमन्त्रीलाई सहकुलपति बनाएर विश्वविद्यालय सञ्चालन गरिएको हो । सहकुलपतिले विश्वविद्यालयमा कार्यकारी उपकुलपति र रजिष्ट्रार नियुक्ति गरेका छन् । 

स्नातकदेखि स्नातकोत्तरसम्मको पढाइ 

मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयमा नियम, कानुन, आन्तरिक निर्देशिकाहरु शून्य हुँदा सञ्चालनमा सास्ती भइरहेको थियो । दुई वर्ष लगाएर विश्वविद्यालयले आठ नियमावली, सात निर्देशिका निर्माण गरेको छ । त्यसैगरी आवश्यक जनशक्ति पनि नियुक्ति गरिएको छ । 

अहिले मनमोहनमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी सञ्चालनमा छ । हाल स्नातकतर्फ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ, औषधि विज्ञान र औषधी व्यवस्थापनतर्फ स्नातकोत्तर कक्षा सञ्चालन भइरहेको छ । 

त्यसैगरी, मनमोहन इन्स्टिच्युट अफ ल स्थापना गरेर आगामी पुसदेखि मुलुकमै पहिलोपटक बिबिए एलएलबी र माघदेखि अपराध कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

पिएचडीसम्म पढाउने १० वर्षे रणनीति 

प्रदेशको गौरव मानिएको विश्वविद्यालयले पिएचडीसम्म पठनपाठन गराउने लक्ष्य लिएर पाँच र १० वर्षे रणनीति बनाएको छ । स्थापना भएको छोटो समयमा अन्तर्राष्ट्रिय स्तरका चर्चित विश्वविद्यालयसँग भगिनी सम्बन्ध बनाउन सफल यो विश्वविद्यालयलाई दक्षिण एसियामै उत्कृष्ट पहिचान दिलाउन सक्दो प्रयास भइरहेको छ । 

आफ्नै अनुसन्धान केन्द्र, वर्कशप र व्यवसायिक ल्याब 

मनमोहनको आफ्नै अनुसन्धान केन्द्र छ । जसमा १५ वटाभन्दा बढी महत्वपूर्ण अनुसन्धान भइसकेको छ । यसैगरी, विश्वविद्यालयको आफ्नै सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय स्थापना गरिएको छ । 

सँगसँगै सबै विषयका आधुनिक ल्याब र पुस्तकालय पनि छन् । इन्जिनियरिङ वर्कशप, भौतिक सामग्री परीक्षण गराउने व्यवसायिक भौतिक ल्याब र पानी परीक्षण प्रयोगशाला पनि सञ्चालनमा छ । यसबाट विद्यालयले ‘अर्न टु लर्न’ गरिरहेका छन् । मनमोहनले आफ्नो १० वर्षे योजनाअनुसार १५ विषयमा स्नातक, १२ विषयमा स्नातकोत्तर र ६ विषयमा विद्यावारिधी सञ्चालन गर्ने लक्ष्य लिएको छ । जसबाट हरेक वर्ष दुई हजार ३४३ विद्यार्थी लाभान्वित हुनेछन् । 

विश्वविद्यालयले भावी १० वर्षे कार्ययोजना र विभिन्न विषयका पाठ्यक्रमहरु तर्जुमा गरिसकेको छ । पाँच वर्षे योजनाअन्तर्गत २०७८–२०८२ सम्ममा सात विषयमा स्नातक र पाँच विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिनेछ । दोस्रो पाँच वर्षे योजनाअन्तर्गत २०८३–२०८७ सम्ममा पाँच वटा विषयमा स्नातक, पाँच वटामा स्नातकोत्तर र पाँच वटामा विद्यावारिधी कक्षा सञ्चालन गरी २८ विषयमा दुई हजार ८३१ विद्यार्थी दीक्षित गराउने लक्ष्य राखिएको छ । 

प्रदेश सरकारको सीमित बजेटमा पनि अलग्गै चार तले साइन्स ब्लक, चार तले एप्लाईड एण्ड हेल्थ साइन्सेज र स्कुल अफ इन्जिनियरिङ निर्माण गरिएको छ । पाँच तले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न हुने चरणमा छ । यसबाहेक ओखलढुंगामा अलग्गै तालिम केन्द्र निर्माण भइरहेको छ भने विराटनगरको जतुवामा अस्पताल व्यवस्थापन कलेज र शनिहाटमा मनमोहन इन्स्टिच्युट अफ लमार्फत् कलेज स्थापना गरेर कक्षा सञ्चालन गरिँदैछ ।

बजेटको कमी हुने छैन : मुख्यमन्त्री 

कोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्की स्थापनाको छोटो समयमै विश्वविद्यालयले सन्तोषजनक लय समात्न सकेकोमा खुशी व्यक्त गर्छन् । प्रदेश सरकारले विशेष बजेट उपलब्ध गराएर विश्वविद्यालयलाई अझै माथि लैजान सहयोग गर्ने उनको प्रतिबद्धता छ । 

गत भदौ ३० गते उनले विश्वविद्यालयको कार्यकारिणी सभामा सचिवहरुलाई निर्देशन दिँदै भनेका थिए,‘हाम्रो गौरव मात्र नभएर यो दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय पनि हो । यति प्रगतिले मात्र पुग्दैन् । अबदेखि कहिल्यै बजेटको कमी हुन नदिनुहोला ।’ मनमोहन प्रतिष्ठानसँग भएको सम्झौताअनुसार प्रदेश सरकारले हरेक वर्ष विश्वविद्यालयमा ६० प्रतिशत लगानी गर्नुपर्छ । तर, प्रदेशले पूँजीगत र चालुगरी जम्मा १७ करोड मात्र वार्षिक बजेट दिइरहेको छ । 

एउटा मन्त्रालय नै मानेर बजेट दिनुपर्छ : उपसचिव 

प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री थोरै बजेटमा पनि विश्वविद्यालयको धेरै प्रगति भएको बताउँछन् । मन्त्रालयमार्फत् शिक्षा विभागको नेतृत्व सम्हाल्दै आएका उनले विश्वविद्यालयलाई मन्त्रालय मानेर बजेट दिनुपर्नेमा जोड दिए । त्यसो भएमा मात्र विश्वविद्यालयले गति लिन सक्ने उनको जिकिर छ । भन्छन्,‘बजेट कम भएपनि हामी आफ्नो उद्देश्यबाट विचलित भएका छैनौं । नियमित अगाडि बढिरहेका छौं । यो अति नै राम्रो सूचक हो ।’

आफ्नै अर्बौंको संरचना 

मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा २२ बिगाहा क्षेत्रफलमा फैलिएको विश्वविद्यालयको आधुनिक भौतिक संरचना छ । अन्य संरचना पनि धमाधम निर्माण भइरहेको छ । विश्वविद्यालयको उपकुलपति डा.सुवासश्री पोखरेल छन् । कामलाई प्राथमिकतामा राख्ने उनको नेतृत्वले गर्दा नै विश्वविद्यालयले गति लिन सफल भएको हो । 

प्रदेश सरकारको सीमित चासो र बजेटका बाबजुद पनि उनी विश्वविद्यालयलाई उत्कृष्ट विश्वविद्यालय बनाउने दौडमा छन् । दक्षिण कोरियाबाट सूचना प्रविधिमा विद्यावारिधि गरेका उनी त्यहीको स्थानीय हुनुका साथै मनमोहन पोलिटेक्निकको प्राचार्य पनि हुन् । उनको सफल नेतृत्वले नै एउटा प्राविधिक शिक्षालय विश्वविद्यालयमा रुपान्तरण गर्न सकिएको हो । उनी भन्छन्,‘मेरो चाहना मनमोहनलाई दक्षिण एसियामा चिनाएरै छोड्ने र विदेशी विद्यार्थी आकर्षित गराउने हो । हेरौं कहिलेसम्म नेतृत्व पाइन्छ र कति सफल होइन्छ ।’

मनमोहनलाई आफ्नै शिक्षण अस्पतालको खाँचो 

निर्दिष्ट लक्ष्यसहित अघि बढिरहेको पूर्वको एउटा विश्वविद्यालयलाई आफ्नै शिक्षण अस्पतालको खाँचो देखिन्छ । प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्न रुचि नदेखाउँदा स्वास्थ्यतर्फका प्राविधिक विषयहरुको पठनपाठन अलपत्र परेको छ । प्रदेश सरकारले अस्पताल प्रदान गरेमा प्राकृतिक चिकित्सा विषयको स्नातकोत्तर, आँखा, ल्याब जाँच, नर्सिङ्गदेखि जनस्वास्थ्यलगायत धेरै स्वास्थ्यतर्फ प्राविधिक विषयमा पठनपाठन शुरु गर्ने मनमोहनको सोच छ । 

उपकुलपति पोखरेल आफूहरु कक्षा सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताउँछन् । उनले भने,‘मनमोहन कुनै पार्टीको नभएर कोशी प्रदेश सरकारको गौरव र सम्पत्ति हो । यहाँ मुख्यमन्त्री कुलपति र सामाजिक विकासमन्त्री सहकुलपति हुन्छन् । सबै पार्टीका सांसद, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सिनेट सदस्य छन् । यसको उन्नति प्रगतिबारे सबैले सोच्न जरुरी छ ।’

टिप्पणीहरू