सहकारी पीडितको नेतृत्व गरिरहेका कुशलवमाथि बज्रपात

सहकारी पीडितको नेतृत्व गरिरहेका कुशलवमाथि बज्रपात

सहकारी पीडित बचतकर्ताको बचत फिर्ताका लागि झण्डै दुई वर्षदेखि लड्दै आएका 'सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान'का अध्यक्ष कुशलव केसीमाथि ठूलो बज्रपात आइपरेको छ । उनले आफ्नो पहिलो सन्तान गुमाउनुपरेको हो । 

हिजो दिउँसो भक्तपुर अस्पताल भर्ना गरिएकी कुशलवकी श्रीमती अलिशा अधिकारीको साँझ गर्भ तुहिएको बताइएको छ । पाँच महिना नौ दिनमै व्यथा लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । खानपिन र गर्भवती अवस्थामा चाहिने हेरचाह नपुगेको कारण सो अवस्था आएको डाक्टरले बताएका छन् । 

अभियानका प्रवक्ता पुरुषोत्तम कार्की सहकर्मी कुशलवले असह्य पीडाको सामना गर्नुपरेको बताउँछन् । ‘उहाँ सहकारी पीडित होइनन् । तैपनि सहकारी पीडितका लागि लडिरहनुभएको थियो । पहिलो सन्तान गुमाउनुपर्दा उहाँलाई भएको पीडाको महसुस कसैले पनि गर्न सक्दैन । झन् उहाँकी श्रीमतीमाथि के बितेको होला ?’,उनले भने । 

घरमा गर्भवती श्रीमतीलाई एक्लै छोडेर केसी लगातार १०८ दिन बिहान ७ बजेदेखि १० बजेसम्म सहकारी पीडितहरुसँग आन्दोलनमा खटिएको कार्कीले बताए । 

सहकारी पीडितको बचत फिर्ता माग्दै केसीको नेतृत्वमा पटकपटक आन्दोलन भइसकेको छ । गत चैत २ गते सहकारी पीडितको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट घाइते केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।


 

टिप्पणीहरू