बलवीरका कष्टकर १२ वर्ष

बलवीरका कष्टकर १२ वर्ष

दैलेखको नौमुले ५ नौलोथरका ४९ वर्षीय बलवीर आलेले १२ वर्ष मानसिक समस्याका कारण कष्टकर जीवन बिताए । उनको जीवन मात्रै कष्टकर बनेन, परिवारसमेत एक दशकभन्दा बढी तनावबाट गुज्रियो । 

चेत नपाउने, हात–खुट्टा नलाग्ने समस्याबाट शुरु भएको मानसिक समस्याले उनलाई अराजक र हिंस्रकसमेत बनाइदियो । उनी सो अवधिमा आफूबाट भएका कर्मबारे जानकार छैनन्, जानकार छन् त धर्मपत्नी पवित्रा, सन्तान र आफन्तबारे । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने भनाइ बलवीरका हकमा ठ्याक्कै लागू भयो । मानसिक सन्तुलन बिग्रेर घरमा आगो झोसेका उनी उपचार पाएपछि लयमा फर्केका छन् । सिएमसी नामक गैरसरकारी संस्थाको सम्पर्कमा आएर स्थानीय स्वास्थ्य संस्थाबाट मानसिक रोगको औषधि सेवन गर्न थालेसँगै अस्वाभाविक परिवर्तन आएको श्रीमती पवित्रा आले बताउँछिन् । ०८० भदौ २९ गते गाउँमै शिविरमा उनलाई लगेर उपचार शुरु गरिएको थियो । 

घर चलाउने मुलीमै समस्या आएपछि आले परिवार गाँस न बासको स्थितिमा पुगेको थियो । खाना खाएर जता मन लाग्यो उतै हिँड्ने गर्थे बलवीर । कता गए भनेर चियोचर्चाे गर्नु श्रीमती पवित्राको दैनिकी हुन्थ्यो । सकभर घर फर्किनुहुन्थेन, फर्किहाल्नुभयो भने म, छोरा र छोरीलाई अनाहक पिट्नुहुन्थ्यो, हतियार देखाउनुहुन्थ्यो, जोगिनै गाह्रो हुन्थ्यो– उनले भनिन्, ‘कुटाइ त कति खाइयो, कति । टाउको र शरीरमा चोटै चोट छन् । बलवीरले पुस, माघको कठ्यांग्रिने जाडोका कैयौं रात जंगलमा बिताए, कति दिन नांगै हिँडे । ‘डर यतिसम्म थियो कि अवस्था असामान्य भएको बेला लुकाएको एउटा हतियार उहाँलाई अहिले पनि देखाएको छैन,’ उनले विगत सम्झिइन् ।

बुवाकै डरका कारण पढ्दै गरेका दुई छोरीले बिहे गरेर घर छाडे । श्रीमान्लाई सञ्चो पार्ने नाममा कोही धामी, झाँक्री कहाँ पुग्न बाँकी रहेन, कैयौं, भाले, पाठा चढाइयो । अनेक गर्दा पनि श्रीमान्मा सुधार नआएपछि श्रीमती आत्महत्या गर्ने स्थितिसम्ममा पुगिन् । अति भएपछि माइतीले घरनजिकै बस्ने व्यवस्था मिलाए । नन्द, ज्वाईंलाई घर नजिकै ल्याएपछि उपचारमा सहजता आएको भाउजू नौमुले वडा नम्बर ५ की वडा सदस्य हीरा बुढा मगरले बताइन् । उनका अनुसार, सधैं घरमा रुवावासी हुने उक्त परिवारमा अहिले खुशीयाली छाएको छ । 

बलवीरले सिएमसीले गठन गरेको नौमुले मानसिक स्वास्थ्य स्वावलम्वन समूहमा आबद्ध भएर १० हजार सापटी लिई बाख्रा किनेका छन्, खेती, किसानी गरेर बसिरहेका छन् । त्यस्तै कथा छ नौमुले वडा नम्बर १ घर भई हाल वडा नम्बर ५ मा बस्दै आएका दलबहादुर रेगामीको हो । जीविकोपार्जनका लागि ज्याला, मजदुरी गर्दछन् । १४ वर्ष छारे रोगबाट पीडित भएर जीवन गुजारे । खाना खाँदाखाँदै, हिँड्दाहिँड्दै बेहोस हुने उनको जीवनमा पनि परिवर्तन आएको छ । गाउँमा रहेका उनीहरूजस्ता ५० बढी मानसिक समस्या भएका व्यक्तिले नौमुलेको तीन वटा स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् । 

परामर्श सेवा र उपचारका माध्यमबाट मानसिक समस्या भएका व्यक्तिको व्यवहार र स्वास्थ्यमा सुधार आएको छ–नौमुले गाउँपालिका अध्यक्ष छवि सुवेदीले भने–मानसिक समस्या लुकाउने र लाज मान्ने संस्कारमा परिवर्तन आएको छ । उपचारपछि निको हुने कुरामा स्थानीय आशावादी छन् ।

-नमस्कार शाह 

टिप्पणीहरू