एमाले महासचिवको कार्यक्रममा ‘जय देश, जय नरेश’

एमाले महासचिवको कार्यक्रममा ‘जय देश, जय नरेश’
सुन्नुहोस्

कम्युनिष्ट पार्टीहरुको कार्यक्रममा सम्बन्धित कमिटीका अध्यक्षले अध्यक्षता गर्ने र महासचिव वा सचिवले सञ्चालन गर्ने पार्टी पद्धति हुन्छ । तर एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको एक कार्यक्रममा धादिङकी शोभा त्रिपाठीलाई सञ्चालक बनाइएको छ । 

एमालेको कैलालीको वर्दगोरिया गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा शोभा सञ्चालक बनेकी हुन् । स्थानीय एमाले कार्यकर्ताले जिल्ला कमिटी सदस्य टंक ओली वा गाउँ कमिटी सचिवले कार्यक्रम सञ्चालन गर्ने र गाउँ कमिटी अध्यक्ष मधुकर सिजापतिको अध्यक्षतामा कार्यक्रम गर्ने बताए पनि एकाएक त्रिपाठीले कार्यक्रम सञ्चालन गरेपछि उपस्थित सबै अक्क न बक्क भएको बताइन्छ । 

उनले कार्यक्रम मात्र सञ्चालन गरिनन् ‘अब कार्यक्रमको समापन गरिदिन हुन अध्यक्ष मधुकर सिजापतिलाई आग्रह गर्दछु जय देश, जय नरेश’ भनेर बिदा भएकी थिइन् । त्रिपाठीले त्यसो भन्दा उपस्थित एमाले नेता, कार्यकर्ता र सर्वसाधारण हाँसेका थिए । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव सञ्चालन गर्न कैलाली पुगेको बेलामा शोभालाई एमालेले पार्टी कार्यक्रममा प्रयोग गरेको हो ।

टिप्पणीहरू