संघीयता कार्यान्वयनमा स्थानीय कानुन नै मुख्य समस्या

संघीयता कार्यान्वयनमा स्थानीय कानुन नै मुख्य समस्या
सुन्नुहोस्

संघीय कानुन प्रतिकूल स्थानीय सरकारहरुले कानुन बनाउँदा संघीयता कार्यान्वयन अप्ठेरोमा परेको निश्कर्ष सरकारी अधिकारीहरुले निकाल्न थालेका छन् । मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 

‘पालिकाहरुले कानून त बनाएका छन् । संघीय कानूनभन्दा विपरित कानून बनाउन पाइँदैन भन्ने छ । तर त्यो खालको अवस्था सिर्जना भएको छैन’, मुख्यसचिव अर्यालले भने, ’त्यसैले त्यसरी निर्माण गरिएका कानूनहरु कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ ।’

संविधानले तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको परिकल्पना गरेको भएपनि त्यसअनुसार कानुन नबनाएकै कारण अलमल देखिएको उनले बताए । जसका कारण संघीयतापछि राज्यका निकायहरुबीच समन्वयको अभाव देखिएको मुख्यसचिवको बुझाई छ । 

‘संघीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेशनको ज्यादै अभाव देखिएको छ । संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनिएको छ, तर धेरै कन्फ्युजनहरु क्रिएट भएका छन्’, उनले भने । 

संघीय सरकारले गठन गरेको आर्थिक सुधार आयोगले संघ, प्रदेश र स्थानीय तहबीच साझा र एकल अधिकारबारे उत्पन्न असमझदारी अन्त्य गर्ने मुख्यसचिव अर्यालले विश्वास व्यक्त गरे । प्रशासनिक सेवाहरु प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुरुप काम अघि बढाइरहेको पनि उनले जानकारी दिए ।
 

टिप्पणीहरू