शब्दकोशबाटै ‘दलित’ मेटाउन माननीयको माग

शब्दकोशबाटै ‘दलित’ मेटाउन माननीयको माग

वामपन्थी नेता तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले शब्दकोशबाट दलित शब्द मेटाउनुपर्नेमा जोड दिनुभएको छ । 

‘दलित’ शब्द नहटाएसम्म सो समुदायमाथिको थिचोमिचो अन्त्य नहुने दाबी गर्दै उहाँले आज संसदीय समितिमा त्यस्तो प्रस्ताव गर्नुभएको छ । छलफल र बहसले मात्र जातीय छुवाछुत तथा सामाजिक भेदभाव अन्त्य नहुने गौतमको जिकिर छ । 

‘हाम्रो डिक्सनरीबाट दलित शब्द हटाईदिउँ । त्यहाँ छ कि छैन व्यवस्था, छैन भने गरौं । दलित शब्द आउँछ नै भन्नुहुन्छ भने संविधान संशोधन गरेर भएपनि सबै ठाउँबाट हटाउनुपर्यो’, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले भन्नुभयो, ’एकातिर दलितमाथि भेदभाव भयो, अधिकार हनन् भयो भन्ने अनि संविधान, ऐन, कानूनदेखि जुनसुकै विद्वानहरुले लेख्ने दस्तावेजमा पनि दलित समुदाय मात्र भनेको छ । दलित भनेको के ? हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौं । अब ख्याल भएको छ । त्यो संशोधन हुनुपर्छ ।’

गौतमले दलित समुदायमाथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा समेत विशेष जोड दिनुभएको छ ।

बैठकमा बोल्ने अन्य सांसदहरुले पनि दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक तत्काल ल्याउन माग गरेका थिए । समितिले संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गर्नेगरी गृहकार्यमा लाग्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

टिप्पणीहरू