सशस्त्र महानिरीक्षक भन्छन् : सिपाहीहरु सँधै हाँसेको देख्न चाहन्छु

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पेशागत हकहितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
लुम्बिनी प्रदेशस्थित विभिन्न गुल्मको निरीक्षणका क्रममा उनले सो धारणा राखेका हुन् । त्यसक्रममा आइजीपी अर्यालले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ देश र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिएको बताइएको छ ।
‘म मेरा सिपाहीहरु सँधै हाँसेको हेर्न चाहन्छु, काम गर्न सहज वातावरण बनाइदिनु मेरो दायित्व हो’, अगाडि भने, ‘म सँधै तपाईंहरुसँगै छु, उच्च मनोबलका साथ काम गर्नुहोला ।’
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन पुस १ गते भैरहवा पुगेका आइजीपी अर्यालले हिजो ३६ नम्बर गुल्म हेडक्वाटर अर्घाखाँचीको निरीक्षण गरेका हुन् । आज ३७ नम्बर गुल्म गुल्मी र ३५ नम्बर गुल्म हेडक्वार्टर पाल्पाको निरीक्षण गरेपछि आज राति राजधानी फर्कने कार्यक्रम छ ।
तीनवटै गुल्मको निरीक्षणपछि आयोजित कार्यक्रममा उनले त्यहाँ तैनाथ फौजलाई सम्बोधन गरेका हुन् ।
टिप्पणीहरू