मौरीपालनमा उपद्रो गर्दागर्दै प्रहरी नियन्त्रणमा
मौरीले टोकेको निहुँमा मौरीपालक किसानको मौरीगोलामा क्षति पुर्याएको घटनामा एक व्यक्ति पक्राउ परेका छन् । उक्त आपराधिक उपद्रव गरेको आरोपमा चितवनको माडी–४ का ४२ वर्षीय तारालाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माडी–६ स्याउलीवासका मौरीपालक दामोदर देवकोटाको मिराकल गार्डेन प्रालिका मौरीगोला चरनको लागि सिधवा गाउँमा राखेर अस्ति मंगलबार मह उत्पादन गरिएको थियो । सोही राति ति किसानलाई जानकारी नगराई एक स्थानीयले 'मौरीले टोकेको' निहुँमा मौरीगोलाहरुमा तोडफोड र आगजनी गरी ठूलो क्षति पुर्याएको नेपाल मौरीपालक महासंघको विज्ञप्तिसहित समाचार छापिएको थियो ।
किसानले मौरी चरनबाट गरेको महको उत्पादन र आम्दानीको रिसले अबुझ भएजस्तो गरेर सानातिना कुरामा निहुँ खोजेर माहुरीपालक किसानहरुलाई अप्ठेरो परिस्थिति बनाई मौरी चराउन नदिने, धम्क्याउने, मौरीघार पल्टाउने, फ्याँक्ने, जलाउने जस्ता कार्य हुँदै आएको महासंघका अध्यक्ष शुभाषचन्द्र घिमिरे बताउँछन् ।
यस्ता विकृति समाजमा दिनानुदिन बढ्दै गएको र मौरी किसानहरुले ठूलो नोक्सानी बेहोर्नु परिरहेको जनाउसहित घटनाको भत्र्सना गर्दै महासंघद्वारा जारी विज्ञप्तिमा यस्ता दूषित मानसिकताधारी अपराधीको पहिचान गरी कडाभन्दा कडा सजाय, साथै पीडित किसानलाई भएको नोक्सानीको उचित मूल्यांकन गरी क्षति भरपाई गराइपाउँ भनी स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग जोडदार माग गरिएको थियो ।
घटनाको सर्वत्र निन्दा र भर्त्सना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले आज मौरीगोलामा आगजनी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार तारालालले २९ वटा बाक्साहरुमा आगजनी गरी पाँचलाख बराबरको क्षति पुर्याएको जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले उनलाई हिजै नियन्त्रणमा लिएर जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
टिप्पणीहरू