राजधानीछेउै पाइन्छ रम्न

  • लक्ष्मी पौडेल

‘तपार्इं पनि घुम्न आउनुभएको हो ? ल ऊ त्यहीं नजिकै हाम्रो मछिन्द्रबहाल छ । हामी बनाउँदै छांै । भूकम्पले भत्कायो नि त !’ ललितपुर महानगर २२ नम्बर वडाको बसपार्कमा पुग्दा भेटिने सुरेन्द्र खड्गी नयाँ अनुहार भेट्दा खुसी मान्छन् । 

१६ सय वर्षअघि मच्चिएको खडेरी, अनिकाल र मछिन्द्रनाथलाई भारत आसामबाट ल्याएर बुंगमतिमा विराजमान गराएको किंवदन्तीसँग जोडिएको बुंगमति पर्यटकीय गन्तव्य हो । राजा नरेन्द्र देवको पालामा काठमाडांै, भक्तपुर र ललितपुर शहरबाट मछिन्द्रनाथको रक्षाका लागि १००÷१०० जनाको दरले मान्छे गई बस्ती बसालेको इतिहास छ । यहाँ ०७२ सालको भूकम्पअघि पर्यटकको आवतजावत बाक्लो थियो । सरकारले ०७२ सालकै माघ २ गते पुनर्निर्माण थालनी यहीँबाट गरेको हो ।

ललितपुरको चक्रपथबाट दक्षिणतिर नख्खुखोला तरेर ८ किलोमिटर अगाडि पुगेपछि आइपुग्छ बुंगमति । ०६७ सालको तथ्यांकअनुसार कूल १ हजार १ सय ८६ घरधुरी, ५ हजार ४ सय ५४ जनसंख्या छ । जातिगत आधारमा ७ सय ५० परिवार नेवार समुदाय छ । यस्तै क्षेत्री–बाहुन २ सय ८५ परिवार, लामा÷तामाङ १ सय ३२ परिवार, मगर राई ५ परिवार, र दलित परिवार १७ परिवार रहेको पाइन्छ । हिन्दु, बौद्ध र इसाई धर्म मान्ने धर्मावलम्वीहरू यहाँ छन् । 

१६ सय वर्षअघि गोरखनाथ रिसाएर १२ वर्षसम्म परेको खडेरीपछि गुरु रातो मछिन्द्रनाथलाई गोरखनाथ बसेको बाटो हुँदै ल्याउने क्रममा भैरवरुपी कुकुरले बु भनेर भुकेको हुनाले त्यस ठाउँको नाम बुंग रहन गएको र पछि शब्द अपभ्रंश हुँदै बुंगमति भएको किंवदन्ती छ । यस क्षेत्रलाई जावलाखेल पनि भनिन्छ, नेवारी भाषामा जा भनेको भात र होलाः भनेको बाँड्नु हो । मछिन्द्रनाथको पर्वमा सबैलाई भात पकाएर बाँड्ने चलन रहेको हुनाले जा होला भन्ने शब्दबाट जावला बनेको र अपभ्रंश हुँदै जावलाखेल भनिएको स्थानीय इन्द्र तुलाधरले बताए ।
बुंगमतिमा नेवारी समुदायको प्रवेशसँगै मछिन्द्रनाथसँग जोडिएको विभिन्न कार्यजस्तै बलि दिन, पूजा चामल, शंख फुक्न र बाजा बजाउन, सफा गर्नलगायत कामका लागि अन्य जातिको प्रवेश भएको हो । 

मछिन्द्रबहालको पूर्वपट्टि दुई पोखरी छन् गंगा र जमुना । वडा कार्यालयले सफाइ र सम्भारका लागि २ लाख रकम विनियोजन गरेको छ । आवश्यक रकम नगरपालिकाबाट माग गरी पोखरी र सँगै रहेको बौद्ध बिहारलाई आकर्षणको केन्द्रबिन्दु बनाउने योजना सुनाउँछन् वडाध्यक्ष अम्बिरराज शाक्य । 

भूकम्पका कारण मछिन्द्रबहाल केही समय बन्दजस्तै भयो । अहिले पुरातŒव विभागले भैरवनाथको मन्दिर निर्माण गरिसकेको छ । यो मन्दिर श्रीलंकाली सरकारको सहयोगमा निर्माण भएको हो । मछिन्द्रबहालमा सिद्धार्थ गौतम बुद्धको मन्दिर र मनकामना मन्दिर पनि छन् । जसकारण पनि फरक–फरक आस्थावान व्यक्तिको रोजाइमा पर्छ बुंगमति । 

बुंगमतिको पश्चिमतर्फ रहेको चम्पादेवी अर्थात् चन्द्रागिरि पर्वत र दक्षिण पूर्वतर्फ फुल्चोकी पहाडको अवलोकन साँच्चै मनमोहक हुन्छ । लाखेडाँडा, ज्वाँगे डाँडा, चुनीदेवी डाँडा र मारचो डाँडाबाट देखिने हिमालले बुंगमतिलाई अझै सुन्दर बनाएका छन् । पहाडको अवलोकन गराउन सके बुंगमतिले अझै लाभ लिन सक्छ । साविकको कार्यविनायक नगरपालिका–१ स्थित गणेश मन्दिर क्षेत्रको जंगल पिकनिक क्षेत्रका रूपमा उपयोगी छ । चुनीदेवी मन्दिर नजिकको जंगललाई व्यवस्थित पिकनिक क्षेत्र बनाउन सके विद्यार्थी तथा सामुहिक पिकनिकमा रमाउनेहरूका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । स्थानीय जानकार सुरेन्द्र खड्कीले त्यसका लागि नगरपालिकाले पर्यटन बोर्डसँगको सहकार्यमा योजना पार्नुपर्ने बताए । 

एक दिनका लागि जाने पर्यटकलाई दुई वा तीन दिनसम्म बस्ने वातावरण सिर्जना गर्नुपर्नेमा यहाँका युवाको चासो छ । पर्याप्त स्नान कक्ष, शौचालय, आवासगृह, धार्मिक, सांस्कृतिक अध्ययन केन्द्र पाठशाला, अभिलेख निर्माण गर्न आवश्यक देख्छन् बुंगमति वडा कार्यालयका सुनिल महर्जन । निमार्णाधीन सडकका कारण कुरूप देखिएको बजार क्षेत्र व्यवस्थित बनाउने, बसपार्कमा बन्दै गरेको पार्क कलात्मक बनाउन सके बुंगमतिलाई थप सुन्दरता दिनेछ । स्थानीयले भत्किएका पुराना घरको पुनर्निर्माण थालेका छन् । ‘पुराना घरको शैली फेरेर आधुनिक बनाउनुभन्दा पहिलेजस्तै झ्यालढोका र कुँदिएका मूर्तिको साजसज्जा हुनुपर्छ’, महर्जनले भने ।

अधिकांश नेवारी परिवारमा अझै पनि नेपाल भाषा बोलिन्छ । नेपालमा बोलिने नेपाल भाषा विस्तारै हराउँदै गएकोमा त्यहाँको समुदायले प्रयोग गरिरहेको भाषा जगेर्नामा पनि उत्तिकै चासो दिन सकियो भने भाषा प्रवद्र्धनमा पनि बुंगमति नमुना वडा बन्न सक्छ ।

बुंगमतिमा प्रमुख देवता बुंग द्यको विशेष अर्चना हुन्छ । १२ वर्षमा हुने मछिन्द्रनाथको भोटो जात्रा, रथ तान्ने परम्परा यहाँको अर्को आकर्षण हो । कूल जनसंख्याको ७० प्रतिशत युवा काष्ठकला निर्माण र बेचविखनमा संलग्न छन् । देश विदेशबाट भित्रिने पर्यटकले उपहारस्वरूप ती काष्ठकला विश्वका विभिन्न भागमा पुगेकोमा गर्व गर्छन् बुंगमतिवासी । उनीहरूको आशा छ, ‘सरकारले हालसम्म प्राथमिकतामा राखिरहेको पर्यटकीय क्षेत्र बुंगमतिमा निर्माणाधीन संरचना पहिलेकै अवस्थामा आउनेछन् र चहलपहल फेरि बढ्नेछ ।’

टिप्पणीहरू