उदयपुरमा पौडेल पक्षलाई क्लिनस्वीप गर्ने देउवा पक्षको तयारी
नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको प्रतिनिधि छनौट तथा विभिन्न तहको निर्वाचनको मत परिणाम भटाभट आउन थालेको छ । उदयपुरको संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट संस्थापन (देउवा) पक्षका खगेन्द्र राईले संस्थापन इतर (पौडेल) पक्षका वसन्त वस्नेतलाई ३ सय ३४ मतकाविरुद्ध ३ सय ४४ मत ल्याएर पराजित गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिमा देउवा (संस्थापन) पक्षका उम्मेदवारले १० मतको अन्तरले बस्नेत प्यानललाई बढारिदिएको छ । यो ‘क्लिनस्वीप’ ले गर्दा जिल्ला कार्यसमितिको निर्वाचनमा पनि देउवा पक्षधर हावी हुने संकेत गरेको छ । भोलि हुने निर्वाचनमा प्रदेश नम्बर १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले सभापतिको रुपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् भने इतर पक्षबाट वर्तमान सभापति विदुर बस्नेतले उम्मेदवारी दिने तय भएको छ ।
कार्यसमितिको महत्वपूर्ण दुई सचिव पदमा सुशील खत्री ३ सय ४२ र सन्तोष कोइराला ३ सय ३१ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी सहसचिवमा ओमकुमार कट्टेल ३ सय ४३ मत र बेचुदास चौधरी ३ सय ७८ मत ल्याएर विजयी भएका छन् । प्रदेश ‘क’ खुल्ला क्षेत्रीय सदस्यमा मौसम राईले ३ सय ६३ र शालिग्राम खड्काले ३ सय ४० मत ल्याएर आफ्ना प्रतिद्वन्दीहरुलाई पराजित गरेका छन् ।
प्रदेश १ ‘खद्व खुल्ला क्षेत्रीय महिला सदस्यतर्फ विजयालक्ष्मी दाहाल अधिकारीले ३ सय ४६ मत प्राप्त गरेकी छिन् भने क्षेत्रीय सदस्य प्रदेश १ ‘ख’ बाट खुल्ला पुरुषतर्फ अर्जुनकुमार कट्वाल ३ सय ७७ र दुर्गाप्रसाद कठेतले ३ सय १५ मत ल्याएका छन् । क्षेत्रीय सदस्य प्रदेश १ ‘ख’ महिलामा मीना दनुवारले ३ सय ३६ मत प्राप्त गरेकी छन । क्षेत्रीय सदस्य प्रत्यक्ष खुल्लामा विजयी हरिनारायणदास चौधरीले ३ सय ३७ र हरिबहादुर कार्कीले ३ सय ६४ मत ल्याएर विजयी भएका हुन् ।
क्षेत्रीय सदस्य प्रत्यक्ष खुल्ला महिलामा रत्नकुमारी खड्काले ३ सय ६२ मत र खसआर्य खुल्लातर्फबाट अम्बरबहादुर कट्वालले ३ सय ४२ मत ल्याएका छन् । खसआर्य महिला खुल्लामा गोमा खड्काले ३ सय ६१ मत प्राप्त गरेकी छन् भने आदिवासी जनजातिमा पुरुषतर्फ टीकाराम तामाङले ३ सय ६६ र महिला खुल्ला शोभा थापामगरले ३ सय ३८ मत ल्याएर विजयी भएका छन् । दलितमा भिम विश्वकर्माले ३ सय ५२ मत र मधेसी वा मुस्लिम वा अपांग खुल्लाको आरक्षणमा सदरुल मिया ३ सय ५५ मत पाएर विजयी भएका छन् ।
निर्वाचित २५ सदस्यीय महाधिवेशन प्रतिनिधिमध्ये देउवा पक्षधर २१ र संस्थापन इतर पक्षका चार जना छन् । इतर पक्षबाट वर्तमान सभापति विदुर बस्नेत, प्रतिनिधि सभा सदस्य प्रमिला राई, निर्वतमान क्षेत्रीय सभापति भोजराज खतिवडा र दलितबाट सुमन परियारले बाजी मारेका छन् । तर उदयपुरमा नेपाली काँग्रेसलाई कठिन घडीमा जोगाउने, विद्यार्थी संघको स्थापना गर्ने केशवकुमार बस्नेत, मनोज बस्नेत, विष्णुबहादुर राउतलगायत बाँकी सबै भेटरान काँग्रेस भनेर चिनिएकाहरु पछारिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ७ सय २० मतदाता रहे पनि ७ सय १२ जनाले मतदान गरेका थिए । आठ जना अनुपस्थित भएका छन् ।
त्यसैगरी संघीय निर्वाचन क्षेत्र नम्बर २ को सभापति पदमा देउवा पक्षकै रामकुमार राईले पौडेल पक्षधर रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गरेका छन । सभापति पदमा विजयी राईले ३ सय १९ मत र खत्रीले ३ सय ४ मत ल्याएका छन् । यो क्षेत्रमा पनि देउवा पक्षधरले कार्यसमितिमा पौडेल पक्षलाई ‘क्लीनस्वीप’ गर्न सकेको देखिएन । दुबै खेमाका सचिव र सहसचिव पदमा छ्यासमिसरुपमा विजयी भएका छन् ।
सचिव पदमा मोहनसिंह ठकुरी ३ सय २५ र हिराकुमार कार्की ३ सय ९० मत, सहसचिवमा कदमबहादुर कटुवाल ३ सय ३१ र वीरेन्द्रकुमार राई ३ सय ३१ मत ल्याएर विजयी भएका छन् । कार्यसमितिको मतगणना सम्पन्न भए पनि महाधिवेशन प्रतिनिधिको मत गणना भने नसकिएको मतदान अधिकृत गणेश अधिकारीले जानकारी दिनुभएको छ ।
यो क्षेत्रमा उदयपुरमा नेपाली काँग्रेसका खम्बा मानिने, जेलनेल भोगेका चर्चित व्यक्तित्व अर्जुनकुमार खड्का, पञ्चायतकालदेखिनै काँग्रेस भनेर चिनिएका हेरम्बबहादुर थापा, हरिबहादुर खड्का, जयबहादुर मोते र इञ्जिनियर बज्रमान थापालगायतका भेटरान काँग्रेसहरु महाधिवेशन प्रतिनिधि बन्न सक्ने सम्भावना झिनो बनेको छ । उनीहरुलाई नयाँ र सरकारी काँग्रेस भनाउँदाहरुले सम्मानजनक मत नदिएको अवस्था छ । यस क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।
टिप्पणीहरू