के छ बागमती प्रदेश सरकारको साझा कार्यक्रममा ?

के छ बागमती प्रदेश सरकारको साझा कार्यक्रममा ?

बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गरिएको हो ।

कार्यदलका संयोजक युवराज दुलालले कार्यक्रम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हिजै हस्तान्तरण गर्नुभएको छ ।

कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा विशेष कार्य गर्न सुझाव दिएको छ । त्यसैगरी शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम एवम् पर्यावरणीय सुरक्षामा प्रादेशिक सरकारको भूमिकाबारे पनि कार्य योजनासहित कार्यक्रम बनाएर लागू गर्न सुझाव दिइएको छ ।

कार्यदलको सुझाव सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको उल्लेख गर्दै ती कार्यक्रम कार्यान्वयनमा दृढता व्यक्त गर्नुभएको छ ।

न्यूनतम साझा कार्यक्रम कार्यदलमा संयोजक दुलाल, नेपाली काँग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी) का माधव पौडेल र मीना ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का बुद्धिमान माझी रहनुभएको थियो ।

बागमती प्रदेशमा गठबन्धन सरकार गठनको ३५ दिनपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू