बागमती काँग्रेसमा इन्द्र बानियाँले जिते

बागमती काँग्रेसमा इन्द्र बानियाँले जिते

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरसिंह केसीलाई पराजित गरेका हुन् ।

बानियाँले १ हजार ८५ मत ल्याएर केसीलाई पराजित गरेका छन् । केसीले ९ सय २७ मत प्राप्त गरेका छन् । अस्ति भएको त्रीपक्षीय भिडन्तमा बानियाँ र केसीको मतान्तर झिनो थियो । अर्का उम्मेदवार कृष्ण सिटौला पक्षका भीमसेन दास प्रधानले ९ प्रतिशत मत ल्याएका थिए । बानियाँको ४८ र केसीले ४३ प्रतिशत मत प्राप्त गरेकाले हिजो पुनः मतदान भएको हो ।

काँग्रेसमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत अर्थात् बहुमत नल्याए पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । हिजोको मतदानमा सिटौला पक्षका प्रधानले बानियाँलाई समर्थन गरेपछि जीत सुनिश्चित भएको हो । स्रोतका अनुसार विस्तारको क्रममा रहेको बागमती प्रदेश सरकारमा सिटौला पक्षका केही राज्यमन्त्री थप्ने शर्तमा बानियाँलाइ प्रधानले समर्थन गरेका थिए ।

बानियाँ बागमती प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता हुन् । यसअघि उनी तत्कालीन पुष्पकमल दाहाल प्रचण्डको सरकारमा गृह राज्यमन्त्री समेत भएका थिए । बागमती प्रदेशको सभापति बनेसँगै उनी आगामी निर्वाचनमा मुख्यमन्त्री हुनेगरी अघि बढ्ने चर्चा चल्न थालेको छ ।

यद्यपि नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्री राजेन्द्र पाण्डेपछि मुख्यमन्त्री हुने पालो भएकाले आगामी निर्वाचनमा उनले संघीय संसदमा सहभागी हुने गरी तयारी थाल्ने आकलन उनी निकटहरुले गरेका छन् ।

बानियाँले २०७० सालमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभाको निर्वाचन जितेका थिए । २०७४ को निर्वाचनमा उक्त क्षेत्र राप्रपाका कमल थापालाइ दिने गरी गठबन्धन बनेपछि  बानियाँ प्रदेश सभातर्फ ओर्लेका हुन् ।

टिप्पणीहरू