पदाधिकारी टुंगो लागेन, बूढानिलकण्ठबाट त्यसै उठे नेताहरु

पदाधिकारी टुंगो लागेन, बूढानिलकण्ठबाट त्यसै उठे नेताहरु

पर्सिदेखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनमा पदाधिकारीको उम्मेदवार टुङ्गो लगाउन बसेको काँग्रेस संस्थापन पक्षको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठक थप गृहकार्य गरेर भोलि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम टुंग्याउने गरी उठेको हो ।

बैठकमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय “डिना”का अनुसार नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा बैठकमा प्रष्ट धारणा राखेका थिए । आकांक्षी धेरै भएकाले थप छलफलका लागि आज निर्णय नगरिएको उहाँको भनाइ छ । ‘सबैले आ-आफ्ना आकांक्षा राख्नुभयो । सभापतिज्यूले सबैका कुरा सुन्नुभएको छ । अब भोलि फेरि बसेर निर्णय गर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

‘केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी रहँदैन भनेर मैले बैठकमै भनेको छु’, जनआस्थासँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘१५ वर्ष (तीन कार्यकाल) केन्द्रीय सदस्य भैसकेँ त्यसैले म स्वभाविक रुपमा पदाधिकारीको दावेदार हो ।’

बैठकमा सभापतिबाहेकका पदमा नेताहरुले आ-आफ्ना दावी पेश गरेका थिए । बताइएअनुसार उपसभापतिमा विजय गच्छेदारले आकांक्षा राखेका थिए । त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रकाशशरण महतको दावी छ । विभिन्न क्लस्टर छुट्याइएको सहमहामन्त्रीमा सोहीअनुसार नेताहरुले आफ्ना दावी राखेका थिए।

सहमहामन्त्री महिलामा डिना,पार्वता डिसी र अम्बिका बस्नेत,दलितमा मानबहादुर विश्वकर्मा र मुस्लिममा अतहर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान दाबी गरेको बताइएको छ । त्यस्तै थारु कोटाबाट रामजनम चौधरी, खस/आर्यमा सुनिल थापा र मधेसीमा महेन्द्र यादवले सहमहामन्त्रीमा दाबी पेश गरेका थिए ।

महिलाबाट सहमहामन्त्रीको दावेदार उपाध्यायले पदाधिकारीबाहेक अरु पदमा उम्मेदवारी नदिने घोषणा नै गर्नुभएको छ । आफू पदाधिकारीको बलियो दावेदार रहेको भन्दै उहाँले पुन: केन्द्रीय सदस्यको उम्मेदवार नबन्ने प्रष्ट पार्नुभयो । ‘केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी रहँदैन भनेर मैले बैठकमै भनेको छु’, जनआस्थासँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘१५ वर्ष (तीन कार्यकाल) केन्द्रीय सदस्य भैसकेँ त्यसैले म स्वभाविक रुपमा पदाधिकारीको दावेदार हो ।’

संस्थापनपक्षीय बैठकले केन्द्रीय सदस्यहरुको उम्मेदवार तय गर्नका लागि प्रदेशमा छलफल गर्न नेताहरुको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।

नेतृ उपाध्यायका अनुसार सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक बसेर केन्द्रीय सदस्यका आकांक्षीहरुको नाम छनोट गर्ने गरि जिम्मेद्वारी तोकिएको हो ।

टिप्पणीहरू