राष्ट्रकविको सम्मानमा हुलाक टिकट, गीत हटाइएकोमा छोरीको चित्त दुःखाई

राष्ट्रकविको सम्मानमा हुलाक टिकट, गीत हटाइएकोमा छोरीको चित्त दुःखाई

सरकारले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मान गर्दै हुलाक टिकट प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको स्रोत रहेको बताउनुभएको छ । उहाँले धर्ती रहुञ्जेल नेपाल र नेपाली रहने र नेपाली रहुञ्जेल राष्ट्रकविको संस्मरण भइरहने बताउनुभयो ।

मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको उल्लेख गर्दै यो नेपालीहरुको लागि गौरवको विषय भएको बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा. किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान अब हरेक नागरिकका घरमा पुग्ने बताउनुभयो । उहाँले मानिसले कविको देहावसानपछि उहाँलाई बिर्सने सक्ने भनिए पनि उहाँका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने उल्लेख गर्नुभयो ।

डा. रेग्मीले ‘गाउँछ गीत नेपाली’ राष्ट्रिय गीतलाई राष्ट्रगानबाट हटाइएकोमा दुःख व्यक्त गर्नुभएको छ । उक्त गीतमा नेपाल र नेपालीको बारेमा सबै यथार्थ चित्रण गरिएकाले गीतबाट नेपाल बारेमा धेरै कुराको जानकारी मिल्ने समेत उहाँले बताउनुभयो ।

टिप्पणीहरू