यतातिर हेर्नुपर्दैन अख्तियारले ?

मानिसले बुद्धलाई समेत भजाउन थालेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको सन्दर्भ हो यो  । त्यहाँ माणिकरत्न शाक्य डिनको रुपमा कार्यरत छन् । पहिले त्यहींका सहायक डिन थिए । राज्यले सरकारी जागिरका सबै लाभहरु लिएर विश्वविद्यालयका डिग्री लिन नपाइने व्यवस्था गरेको छ । विद्यावारिधी त अझ यस्तो गहन अध्ययन, अनुसन्धान र प्रयोगको विषय हो जसका लागि सोधकर्ताले विशेष मेहनत गर्नुपर्दछ । विद्यावारिधी लिनका लागि पाँच वर्षसम्म लगातार अध्ययन, अनुसन्धान, सोध गरिरहनु पर्दछ भन्ने मान्यता छ । तर माणिकरत्नले सो विश्वविद्यालयको सहायक डिनका रुपमा एकदिन पनि बिदा नलिईकन विद्यावारिधी लिएका हुन् । 

यही विद्यावारिधीलाई मुख्य आधारका रुपमा प्रस्तुत गरी उनले राज्यलाई समेत झुक्याउन सफल भएका छन् । विद्यावारिधी गरेको र नामका अगाडि डा. लेखेकै भरमा डिनमा नियुक्ति खाएका हुन् । विश्वविद्यालयकै एक अधिकारीका अनुसार उनले सो अवधिमा एकदिन पनि सरकारी कामकाजबाट बिदा लिएका छैनन् । साथै राज्यको सुविधा अलिकति पनि छाडेका छैनन् । सरकारी जागिर भनेको केही काम गर्नु नपर्ने र घरका तथा आफ्ना पढाइ, अनुसन्धानको सबै काम गर्न सक्ने अवसर हो ? कि त उनले पहुँच र चिनजानका आधारमा लिएको विद्यावारिधी पूर्णत सक्कली होइन ?

एउटा विद्यालयको शिक्षकले एकैपटक नियमित कक्षामा उपस्थिती जनाई जागिरका रुपमा पढाउन र विश्वविद्यालयमा पढ्न पाउने प्रावधान नभएको अवस्थामा कसरी एकैदिन बिदा नलिई विद्यावारिधी पाउन सफल भए ? यस्ता विषयचाहिँ किन अख्तियारको अनुसन्धानभित्र पर्दैनन् ?

– पुरुषनारायण दाहाल

टिप्पणीहरू