शहीदको नाममा पुर्जी, पत्रकारको नाममा उर्दी

  • मनऋषि धिताल

महामहिम नेताज्यूहरूले प्रवासमा भएकाहरूलाई आफ्ना कुनै पनि गतिविधिमाथि टिप्पणी नगर भन्ने उर्दी जारी गरेका छन् । तैपनि, नेपालको सडकमा भएका जनतासँग हामी प्रवासमा भएका जनताको गहिरो सम्बन्ध छ । पार्टी वा सरकारको सत्तामा भएका महामहिमहरूको पीडा र  सडकका जनताको पीडा  फरक छ । माफ गर्नुहोला, नेता महोदय ! हामी प्रवासमा भएका जनता तपार्ईंं सत्तामा भएकाहरूको पीडा बुझ्दैनौं । बुझ्छौं, तर तपार्ईंंको पीडामाथि कुन्नि किन समवेदना पैदा हुँदैन । 

तपाईंको कुर्सी हल्लिने पीडामाथि कसरी हामीलाई पीडा पैदा हुनु, तपाईंले श्रम नगरी अकुत सम्पत्ति संकलन गर्दा र अख्तियारमा  धाउनुपर्दाको पीडामाथि धरोधर्म हामीलाई पीडा हुँदै हँुदैन । बरु तपार्ईं अख्तियारको आँगनबाट किन फेरि मुकाम फर्किनुभो होला, किन उतैबाट डिल्लीबजार वा नख्खुतिर पठाइएन होला भनी अचम्म मानिरहेका छौं र तपाईंको भ्रष्टाचारको चंगुलमा अझै हाम्रो सडकका आफन्त पर्ने भए भनेर पो पीडा हुन्छ त । तपाईंले प्रवासमा भएका जनतालाई देशबारे चिन्ता नगर्न भन्न खोजे पनि खासमा आफ्नाबारेचाहिँ चिन्ता गर्न भन्न खोज्नुभएको होला तर माफ गर्नुहोला, फेरि पनि तपार्ईंका बारेमा चिन्ता लाग्न छाड्यो । 

तपार्ईंसँग केही  शब्द र केही वाक्य जीवित छन् हामी प्रवासी श्रमजीवी जनताबारे बोल्ने । कहिलेकाहीँ रिस उठ्दा भन्न सक्नुहुन्छ, यी भगौडा किन बोल्छन् ? तर, उपेन्द्र महतोजस्ता धनी भगौडाहरूको परम मित्र हुन सकिनँ भनेर फेरि तपार्ईं पीडित बन्नुहुन्छ । तपाईंको यो पीडाले हामी बहुमत श्रमजीवी पीडित हँुदैनौं र तपाईंका लागि हामी अर्को निरजगोविन्दजस्तो धनी वा तपार्ईंका लागि मनकारी बन्न पनि सक्दैनौं । तर, तपाईंले  हाम्रा सडकमा भएका आफन्तको भोको पेट भरिदिनु पर्दैन र नांगो शरीर पनि ढाकिदिनु  पर्दैन । त्यो हामी आफैं गरौंला तपाईंले मात्र तिनै तथाकथित धनीहरूसँग मिलेर धनीकै लागि कर छलीको दस्ताबेज सदर नगरिदिए पुग्छ ।

मुस्किलले एक पेट खाएर सडकका जनतालाई जागरुक र सुशिक्षित गरिरहेका पत्रकारले तपाईंको कुर्सी हल्लाउने गरी जनता जगाउन खोजे भने लाखौं जरिवाना गर्ने र जेल हाल्ने कानुन बनाउन थाल्नुहुन्छ । त्यो कानुन बनाएर पत्रकारलाई हत्कडी लगाउन नपाएको तपाईंको पीडामा कसरी हाम्रो पीडा मिसिन सक्छ ? हामी त आफूलाई सुसूचित गर्ने पत्रकार तपार्ईंका कुकृत्यको निर्भिक रूपमा भण्डाफोर गर्न सकुन्, त्यस्तो गर्ने पत्रकारलाई तपाईंले जेल हाल्न नसक्ने वातावरण बनोस् भन्ने कामना पो गर्छौं  । हिजो निरंकुशताविरुद्ध लोकतन्त्र र मानवाधिकारका लागि जो जहाँ थियौं त्यहीँबाट संघर्ष गरेको र अहिले तपाईंले स्यालुट खाने व्यवस्था ल्याएर आफ्नो स्वाभिमानका लागि  प्रवासिनुपरेको कुरा तपार्ईं बुझ्नुहुन्न । 

तपार्ईंको अदालत बिसौं वर्ष पहिलेका शहीदमाथिका मुद्दा  ब्युँताउँछ र अझै जनतालाई जेल हाल्ने फैसलाका लागि तयार हुन्छ भने तपाईंको अदालतको हामी प्रवासी जनता कसरी गुणगान गरौं ? अझै अनौठो कुरा महान् जनयुद्धका वीर सहिदको नाममा अझै तपाईंको गृह मन्त्रालय पक्राउ पुर्जी जारी गर्छ र सहिदका परिवारलाई आतंकित पार्छ भने तपाईंको यो हर्कतविरुद्ध चुप लाग्न नैतिकताले दिएन, तपाईंले नबोल्नु भने पनि बोल्ने पर्ने भयो । बरु हाम्रो यौटा अनुरोध मानिदिएको भए आभारी हुने थियौं – हाम्रा प्रिय पत्रकार कृष्ण सेनलगायत पूर्व सरकारहरूले बेपत्ता पारेकाहरूविरुद्ध पनि अहिलेको तपाईंको अड्डा अदालतमा मुद्दा पक्कै छन् । उनीहरूलाई पनि पक्राउ पुर्जी जारी गरी हत्कडी लगाएरै ल्याए पनि हुन्छ, खोज्नचाहिँ खोजिदिनुभए हामी पहिलोपटक तपाईंको प्रशंसा नै गर्ने थियौं । 

कृपया सत्तामा भएका ‘लोकतान्त्रिक’नेताज्यू हामी प्रवासी जनता चुप लागौंला पहिले तपार्ईं यत्ति त खोजिदनुस् कि आफ्नै सहयोद्धा मदन–आश्रितको हत्या थियो कि दुर्घटना ?

टिप्पणीहरू