कतिपय भेउ नपाइएका कुरा

  • कौशल चेम्जोङ

अहिले ‘मेरो सरकार’को पक्ष र विपक्षमा बाढी चलेको छ । नीति तथा कार्यक्रमका नकारात्मक र सकारात्मक पाटोमाथि बहस चलाउनुपर्ने बेला बुद्धिजीवी र प्रतिपक्षीहरू ‘मेरो सरकार’ पदावलीको पछि लागेका छन् ।

यो समय र मसी तत् कारणले सरकारको नीति तथा कार्यक्रम जनताको पक्ष वा विपक्षमा छ, भनेर खर्चिएको भए निकै उपलब्धिमूलक हुन्थ्यो होला । तर, हामी केवल विरोधका लागि विरोधमा उर्लियौं, समर्थनका लागि समर्थनमा उर्लियौं । राष्ट्रिय मुद्दामा, विकास निर्माणका कामप्रति साझा धारणा बनाउन नसक्ने हो भने मुलुकले कहिले पनि समृद्धि हासिल गर्न सक्दैन । चिनियाँ नेता देङ स्याओपिङले बिरालो जुनसुकै रंगको भए पनि मुसा मार्ने क्षमता छ÷छैन भन्ने कुरालाई प्रमुख ठान्नुपर्ने राय दिएका थिए ।

त्यस्तै हाम्रा बुद्धिजीवीले मेरो, हाम्रो वा नेपाल सरकार (जसमाथि सार्वभौम जनताको स्वामित्व छ, र जसले सार्वभौम जनताको प्रतिनिधि पात्रको रूपमा काम पनि गर्छन्) पदावली जे प्रयोग गरे पनि मूलभूत कुरा त नीति तथा कार्यक्रम नै हो । खै यसबारे कोकोहोलो मच्चाएको ? नीति तथा कार्यक्रमजस्तो विषयलाई विषयान्तर गर्दा जनतालाई घाटा हुन्छ । जनतालाई घाटा पु¥याएर प्रतिपक्ष कसरी उँभो लाग्दो हो ? वाइडबडी र बालुवाटार काण्डमा देउवाको नाम आउनेबित्तिकै तैं चुप मै चुप भयो । आखिर गलत त गलत नै हो भन्ने हिम्मतमा कहाँनेर खिया लाग्यो ? ‘मेरो सरकार’मा यत्रोविधि बहस चलिरहँदा कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोलेका कुराको सम्झना आइरहेको छ । देउवाले भनेजस्तै कांग्रेसलाई अरूले हराएको होइन, कांग्रेसीले नै हराएको हो । यो कुरा सत्यको धेरै नजिक पनि छ । नभए जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयवस्तुबारे नबोल्ने, मेरो सरकारबारे मात्रै बोल्ने ? 

देउवाले आफ्नो पालामा शुरु भएका सम्पूर्ण कामको ‘जस’ प्रधानमन्त्री केपी ओलीले लिएको भनेर सदनमै बोलेछन् । यो बोलीले एउटा कुरा स्पष्ट संकेत गरेको छ, २०४७ सालयता धेरै समयसम्म सत्ताको केन्द्रविन्दुमा रहेको कांग्रेसलाई जनताको पक्षमा काम गर्न नसकेकोमा पछुतो लागेको छ । यस्तै मति अहिलेको नीति तथा कार्यक्रममा फर्किदिए कति राम्रो हुन्थ्यो ! सबैलाई नाफै नाफा, सबैको जितैजित । कसैले हार्नु नपर्ने, कसैले मर्नु नपर्ने अवस्था सिर्जना गर्ने त कांग्रेसको पनि दायित्व हो । ऐतिहासिक दिन ५ वैशाख २०७६, अन्तरिक्षमा नेपालको उपस्थिति । देउवाले परियोजना शुुरु गरे भने फत्ते ओलीको पालामा भयो । यदि, सत्य हो भने स्विकार्न गाह्रो हुँदैन, हुनु पनि हुँदैन ।

राम्रो कामको जस लिने यो होडबाजी अलिक अघि नै कांग्रेसले चलाएको भए सायद मुलुक निकै अघि बढ्ने थियो । अहिले नानो स्याटलाइट (भूउपग्रह) मेरै पालामा शुरु भएको थियो भन्दैमा जनता मखलेल हुन्छन् र ? अझ सामाजिक सुरक्षा कार्यक्रम र भेरी–बबई डाइभर्सनजस्ता लाभकारी योजना मेरै पालामा भएका थिए भन्ने दाबीले के प्रस्ट भएको छ भने सरकारको नीति तथा कार्यक्रम ठीक बाटोमा छ र त प्रतिपक्ष पनि जस लिने ताकमा छ । भलै कतिपय कार्यक्रम धेरै महत्वाकांक्षी किन नहोस् ! यसले पनि मेरो सरकारको हल्लाका पछाडिको कारणको रहस्यलाई बाहिर ल्याएको छ । भूपी शेरचनले भनेजस्तै हल्लैहल्लाको देश हो यो ।

र, हल्ला चलाउँदैमा जनताले विश्वास गर्छन् भन्ने कुराचाहिँ अर्को पाटो हो । एउटा कुरा भने शेरबहादुर देउवाको पत्यार गर्नैपर्छ, त्यो हो सरकारले भनेजस्तो रोजगारी सिर्जना गर्न नसक्नु । तर, उनले सदनमा भनेजस्तै रेल र स्टिमरहरू राणाकालदेखि नै चलेको कुरा जिब्रो लट्पटिएको हो कि क्या हो खुट्याउन गाह्रो भो ! रेल चलेका थिए त डुंगा र काठजस्ता हाम्रो प्राकृतिक स्रोत र संसाधन ओसार्न । यात्राका लागि त जनकपुर–जयनगर मात्रै जोडिएको थियो । दुईतिहाइको सरकार बनाएकै जनताले हो । तर, जनताको अपेक्षाअनुरूप कार्यक्रम तथा नीति आएन भनेर बहस चलाएको भए कति राम्रो हुँदो हो !

टिप्पणीहरू