यति मज्जासँग छलफल हुन्थ्यो एमालेमा…
०४९ माघ १४–२० मा हुने एमाले पाँचौं महाधिवेशनको तयारीका क्रममा जीवराज आश्रितद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमाथि छलफल गर्न आयोजित बैठकको टिपोट
– युवराज ज्ञवाली
क्षेत्रीय प्रमुख पीबीएम हुनुपर्छ भनेर लेख्नुपर्छ । अञ्चलमा १ वा २ जना सीसीएम रहने व्यवस्था हुनुपर्छ । एक व्यक्ति, एक पदको व्यवस्थाबारे अलि राम्ररी लेख्नुपर्छ । विगतमा पद्धति उल्लंघन भएको इतिहास आउनु जरुरी छ । सर्वहारा श्रमजीवीको नेतृत्वलाई जोड दिने हो भने त्यसबारे अलि प्रष्ट पार्ने गरी लेख्नुपर्छ र व्यवहारमा पनि त्यस्तो नेतृत्व निर्माण गर्न जोड दिनुपर्छ । जनतालाई व्यापक रुपले गोलबन्द गर्न लचिलो नीति हुनुप¥यो । संगठनहरुको सवालमा रिजिड हुनुपर्छ । इतिहासको निरन्तरता भएको व्यक्तिलाई नेतृत्वमा उठाउन जोड दिनुपर्छ । केन्द्र र अञ्चलमा उठाउने व्यक्तिले जुनसुकै ठाउँमा पनि गएर काम गर्नुपर्छ । अञ्चलमा पनि । केन्द्रमा आउनलाई ठोस ढंगले नै मापदण्ड तोकिनुपर्छ । एकैजना व्यक्तिलाई बारम्बार संसदीय काममा उठाउने काम गर्नुहुँदैन । समय (पटक) तोकिनुपर्छ । अथवा बढीमा दुईपटक गर्नु बेश होला । सबै नेताले सबै फाँटको कामको अनुभव र क्षमता विकास गर्ने नीति बनाउनुपर्छ ।
– ईश्वर पोखरेल
व्यक्तिले काँध थाप्ने शैलीप्रति मेरो सहमति छैन । नेतृत्वको निम्ति दुई कार्यकाल राखेको सही छैन ।
– सीपी मैनाली
गलत विधि अपनाएर प्रकाशमा आउने प्रवृत्तिबारे पनि लेख्नुपर्छ । जनवादी केन्द्रीयताको पक्षमा लेखिएको छ तर भिन्न मत राख्नेको मत तल जान दिनुपर्छ । त्यो विचार नीति र सिद्धान्तसित सम्बन्धित छ भने महाधिवेशनभन्दा अरु बेलामा पनि तल जान दिनुपर्छ ।
– नरबहादुर खाँण
तेस्रो महाधिवेशनपछि पार्टी फुट्न शुरु भयो भन्दा त्यसका जिम्मेवार नेताको पनि चर्चा हुनुपर्छ ।
– झलनाथ खनाल
पार्टीभित्रका गलत प्रवृत्ति के–के छन्, निक्र्योल गरिनुपर्छ र तिनमा जोड दिनुपर्छ । सदस्यहरुको मापदण्ड भारीभरकम भए । यो अव्यावहारिक भयो । सदस्यका काम, कर्तव्य र मापदण्ड एकै ठाउँमा राखेर यस्तो भएको त होइन ? पार्टीको नाम युएमएल राख्नु हुँदैन, सीपीएन हुनुपर्छ । त्यस्तै स्थापना दिवसको पनि टुंगो हुनुपर्छ ।
– घनेन्द्र बस्नेत
अध्यक्ष र महासचिवको कार्यकाल दुई कार्यकाल तोकिनु र जीवनभर एउटै व्यक्ति रहनु– दुवै तरिका अमाक्र्सवादी र अद्वन्द्ववादी छ । भाग पु¥याउने होइन । यसरी राखिनुहुँदैन ।
– मोहनचन्द्र अधिकारी
जनवादका कुरा गर्ने कमरेडहरुले नै केन्द्रीयताका कुरा गर्नु भयो ।
– वामदेव गौतम
पार्टीमा अनुशासनको सवाल छ, राष्ट्रव्यापी रुपमा गुटबन्दीका क्रियाकलाप भइरहेका छन् । केन्दीय कमिटीले सबैलाई संसदमा पठाएर पार्टी बर्वाद गर्ने कुरा उठिरहेका छन् ।
– अमृत बोहरा
हामीले कस्तो पार्टी बनाउन चाहन्छौं, कस्तो सिद्धान्त लिने हो, जस्ता विषयमा स्पष्टता हुनुपर्छ ।
– प्रदीप नेपाल
पावर सेन्ट्रलाइज गर्ने कुराको म विरोधी छु । पीबीएम नै विभाग प्रमुख हुने कुरा ठीक छैन । पार्टी सदस्यका मापदण्ड विधान वा कहाँ कहाँ पर्नुपर्ने हो ? एक ठाउँमा परोस् ।
– विष्णु पौडेल
अनुशासन पालन गर्ने कुरामा खुकुलो भएको मात्रै चर्चा छ तर वास्तवमा खुस्किसकेको छ ।
– सुरेन्द्र पाण्डे
पार्टीभित्रका फरक मतलाई कसरी चलाउने भन्नेबारेमा नयाँ कुरा दिनुपर्छ, ठोस र सटिक हुनुपर्छ । अध्यक्ष र महासचिव दुई कार्यकालमात्र गर्नुपर्छ भन्ने कुराको म समर्थन गर्छु ।
– मोदनाथ प्रश्रित
कम्युनिष्टले सरकार बनाउन सक्दैन र चलाउन पनि सक्दैन । यो पार्टीमा पीबीएम नेता र सीसीएम कार्यकर्ता भएका छन् । समस्या समाधान गर्न मेडिकल कलेज खोलेर कार्यकर्तालाई तालिम दिनुपर्छ । पशुचिकित्सा र मनुष्य चिकित्साका विभाग खोल्नुपर्छ । तराईका साथीलाई २०÷२० हजार सापट दिनुस्, धान किनेर पैसा फिर्ता हुनेछ ।
– माधव नेपाल
पाल्पामा खोलेको गोपाल खनालको अस्पतालमा मानिस पठाएर तालिम दिए भइहाल्यो । कोषाध्यक्षको व्यवस्था राख्नुपर्छ । केन्द्रीय कमिटीमा आउनका निम्ति मापदण्ड तोक्नुपर्छ । कहाँबाट गर्ने हो, गरिनुपर्छ ।
– सहाना प्रधान
संगठन गर्न जाँदा सबैतिरबाट ‘यहाँ आउनुपर्दैन, यहाँ आउनु पर्दैन’ भन्ने गरेको पाइन्छ ।
– मदन भण्डारी
पार्टी कस्तो बनाउने हो भन्ने सवालमा कम्युनिष्ट पार्टीलाई नै डेमोक्रेटाइज गरेर यसैलाई नै अगाडि बढाउनुपर्छ । अर्को मोर्चा बनाएर जानु आवश्यक छैन । म त्यसको पक्षमा छैन । पश्चिम युरोपका सोसल डेमोक्य्राट्सले सामन्तवादको उन्मूलन गर्ने कार्यक्रम लिएर अघि बढेका छन् । अहिलेको हाम्रो कार्यक्रम यस सवालमा त्योभन्दा गुणात्मक रुपले भिन्न छैन । सरकारमा भएको पार्टीले पनि कार्यकर्ताका समस्या हल गर्न सकेको छैन र सक्दैन पनि । साँचो कुरा भन्ने साहस गर्नुपर्छ । गुप्त मतद्वारा नेतृत्व छानिने तरिका अपनाएपछि अवधि तोक्ने आवश्यकता रहेन ।
टिप्पणीहरू